स्टार श्रेष्ठ, युएई
आवुधाबी बाट दुबई एअरपोर्ट आउन धेरै समय लागेजस्तो भइरहेको थियो। १०ः१५ हिँडेको बस १२ः१५ मा आइपुग्नु पर्ने लगभग एक बजेतिर मात्रै दुबई एअरपोर्ट आइपुग्यो। भित्र छिरेको एकैछिनमा नेपाल एअरलाइन्सको चेक इन काउन्टर खुल्यो। म लाइनमा अलि अघि नै परेछु। लाइन बिस्तारै सर्दै थियो। यत्तिकैमा मोबाइलमा म्यासेज आयो रक्सीसंगै किन्नु पर्छ मलाई पर्ख है लेखेको। उनी थिए साथी राजेन्द्र लामा। चार बर्ष एउटै अफिसमा काम गर्ने भएपनि नेपाल जाने बेलामा एक्कासि भेट भएको थियो हामी एउटै फ्लाईट जाँदै रहेछाैं। मैले ओके भने मलाई यसपालि एअरपोर्ट कस्तो कडाइ भइरहेको छ भन्ने कुरा जान्न पनि थियो।
लाइन बिस्तारै सर्दै थियो नेपाल एअरलाइन्सका दुई जना कर्मचारी काउन्टर बाहिर खटिएका थिए। एक जना सुरक्षा गार्ड र एक जना व्यवस्थापनतर्फ व्यस्त देखिन्थे। एत्तिकैमा एक जना कालो क्याप टोपी र कालै ज्याकेट लगाएका हल्का मोटो एक जना अधबैंसे नेपाली, त्यहाका कर्मचारीहरुसँग हेल्लो हाई गर्दै हात मिलाउँदै देखा पर्छन्। उस्को व्यबहार हेर्दा लाग्थ्यो उ पनि त्यहींको कर्मचारी हो। उ घरी लाइन रोक्ने पठाउने गरिरहेको थियो। मान्छेहरुको गतिविधि खुब नियालेर हेरिरहेका थिएँ म। झट्ट हेर्दा भूपू सैनिकजस्ता देखिन्थे ती व्यक्ति। यत्तिकैमा दुई जना महिलाहरू काउन्टरतर्फ अगाडि बढे। उ पनि सँगै जान्छ र भन्छ पासपोर्ट दिनुस् पहिला, टिकट बनाउँदै गर्छ भन्छ र पासपोर्ट राम्रोसँग हेर्छ। काउन्टरमा दिन्छ अनि सामान बेल्ट्मा राख्न पनि सहयोग गर्छ। उनीहरुसँग गफिन्छ पनि।
मलाई उ ती महिलाको कोही न कोही पक्कै हो भन्ने भान भइरहेको थियो। सायद उ पनि नेपाल जाँदै थियो। उनीहरुसँगै उ पनि बोर्डिङ गेट तर्फ लाग्छ, सोचें उ पनि नेपाल जाने रहेछ। तर, म गलत साबित भएँ। करिब दस मिनेटपछि उ फेरि त्यही ठाउँमा देखा पर्छ र पहिला जस्तै गतिविधि गर्छ। अरु दुईजनालाई पनि त्यस्तै गर्छ र जान्छ। फेरि त्यहीं देखिन्छ। मलाई उसको गतिविधि शंकास्पद लागेर त्यहाँको एक कर्मचारीलाई सोधें ऊ को ? उस्को नाम के हो ? भनेर। जवाफ आयो ऊ हाम्रो कर्मचारी होइन, नाम थाहा भएन। म अचम्मित भएँ। त्यसो भए उ यहाँ के गरिरहेको छ भनेर जान्न उत्सुक भएँ। अर्को कुरा त्यहाँको कर्मचारीले काम सक्ने बित्तिकै सबैलाई पठाइरहेको थियो। तर, उसलाई कसैले केही भनेको देखिएन एक किसिमको मिलोमतो जस्तो पनि देखियो। अघि नाम थाहा छैन भन्ने कर्मचारी उनैसँग गफिएको पनि देखें।
अब मेरो पालो आयो म काउन्टरतर्फ गएँ। टिकट भयो। तर, सामानमा कुरा मिलेन। किनकि मेरो टिकटमा ३५ केजिको लगेज लेखिएको थियो। तर, मसँग तीन वटा लगेज थियो। जसमा दुई वटा मात्रै लान पाइने रहेछ सबै गर्दा ३५ केजि भए पनि। अर्को कुरा एउटा लगेज ३२ केजिभन्दा बढी भए चार्ज लाग्ने रहेछ। धेरै जना लगेज बढी भएर खोल्दै मिलाउँदै थिए, यस मामिलामा नेपाल एअरलाइन्सका कर्मचारीहरु सहयोगी देखिन्छन्, मलाई कोहीसँग मिलाउनुस भनेर भने र साथी राजेन्द्रलाई कुर्दै म काउन्टर को अगाडि भागमा बसिरहें। करिब आधाघन्टाको अवधिमा धेरै कुरा जान्न पाएँ त्यो मान्छेको बारेमा। त्यो मान्छे एकै छिनमा म भएको तिर आयो र भन्यो सामान बढी भएको हो ?
मिलिहाल्छ् नि, म मिलाइदिन्छु सम्म भने। अर्को कुरा सोधे सुनको बाला ल्याको छ ? भनेर सोधे। मैले छैन भनें। अरुतिर हेर्दै सानो स्वरमा उनले भने एउटा सुनको बाला लगिदेऊ न त। तिमीलाई पनि चिया खर्च ३–४ हजार आउँछ मलाई त्यही ४–५ हजार आउँछ। लिगल हो क्यारे केही फरक पर्दैन भने। मैले केही जवाफ फर्काइन र उ फर्कियो। अरुसँग त्यस्तो गतिविधि काउन्टरकै अघि खुलेआम गरिरहेका थिए, अब यो मान्छे अघिदेखि यहाँ के गरिरहेको छ भनेर ठम्याउन गाह्रो भएन। सिधा भाषामा भन्दा उ यहाँ सुन दलाली गरिरहेका थियो। सुन बोक्ने भरिया खोजिरहेका थिए।
यसै क्रममा मलाई फोटो अथवा भिडियो खिच्ने सोच नआएको पनि होइन। तर, युएईको कानुनअनुसार अनुमति बिना कसैको फोटो भिडियो खिच्न नपाइने भएकोले आफूसँग भएको गो प्रो निकालेर पनि अन गरिन। साथिको पालो पनि आयो उसको टिकटअनुसार ४० केजि लगेज लान पाउने रहेछ । ४० केजि हुँदा ३ वटा लान मिल्ने रहेछ। कुरा मिल्यो । हामी बोर्डिङ पास लिएर अगि बढ्दै गर्दा फेरि अघिको एक जना र तेस्तै अर्को एकजना दुई जना ५० कटिसकेका यात्रुलाई सम्झाउँदै थिए। कुरा फिक्स हुँदै थियो पासपोर्टको नम्बर फोन नम्बर साटासाट हुँदै थियो। लाग्थ्यो एक जना मानिरहेको थिएन अर्कोले भन्दै थियो चिन्ता नगर म मिलाउँछु।
चार वर्ष युएई बसाईको क्रममा यो मेरो छैटौं यात्रा थियो। यो भन्दा पहिलो आबुधाबी र सार्जाह बाट यात्रा गरिसकेको थिए। यस्तो दृश्य कहिँ देखेको थिइन। किनकि त्यहाँ नेपालको कुनै पनि एअरलाइन्स फ्लाइट थिएन। त्यसरी फाल्तु मान्छेहरु चेक इन काउन्टर सम्म पुग्ने र मान्छेको आत्मसम्मानमा ठेस पुग्ने प्रश्न र दलालीको बिल्ला भिराउने हिम्मत कसैको हुँदैन थियो। नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्स ले भित्रको यो कुरालाई सुधार्नुपर्ने जरुरत देखिन्छ।
सायद त्यतिखेर नेपाली एअरलाइन्सहरुको युएईबाट फ्लाइट भएको भए गोरेहरुले यसरी नै सुन तस्करी गर्थे होला। त्यत्रो काण्ड हुँदैन थियो होला । आज गोरे कालेहरुको जेलको बास हुँदैन थियो होला भन्ने भान भयो। यसरी कमसेकममा पनि दैनिक १ किलो सुन दुबईबाट तस्करी भइरहेको देखिन्छ।
अब हामी दुई दुबई ड्युटी फ्रीतिर लाग्यौं। अफरमा भएको ३ बोटल रेड लेबल किन्ने भयौं मैले एउटा अनि साथीले २ वटा त्यहाँ कर्मचारी नेपाली नै रहेछ उसले बिल दिदै भने यहाँबाट जति वटा पनि लान पाइन्छ। तर, नेपालमा एक जनाले एउटा मात्रै भने त्यो साथीलाई थाहा थियो। उसले भने मिलाएर लाने हो ? हामी एकछिन तेसैको अपोजिटमा रहेको सुन पसलतिर घुम्यौं र त्यहाँ पनि नेपाली नै कर्मचारी रहेछ उसले ५० ग्रामको सुनको बाला देखाएर भने यो बाला लगाएर जान मिल्छ, लाने भए यो लानुस्। साथीले बिल कस्तो बन्छ भन्ने जिज्ञासा राखे। उत्तर आयो बिलको चिन्ता नगर्नुस् दुबईको सुन भन्ने बित्तिकै नेपालका सुन पसलेले हेर्ने बित्तिकै चिन्छ बिलै चाहिदैन भन्नसम्म भ्याए। यसको मतलब यहाँको सुन एकदमै राम्रो हुन्छ भन्ने बुझियो यत्तिकै बोर्डिङ गेटतर्फ लाग्यौं।
त्यस दिन नेपाल एअरलाइन्सको फ्लाइट डिले भएको रहेछ। ४ बजे उड्ने तालिका सरेर ५ः३० मा पुगेछ। कारण अघिल्लो दिन दुबईमा पानी परेर आउने जहाजहरु समयमा नआइपुगेको रहेछ। करिब ४ः४५ तिर बोर्डिङ सुरु भयो। हामी प्लेनतर्फ जान गाडिमा बस्यौं। त्यहाँ सुनको बालाको बारेमा धेरै चर्चा भयो। धेरैले भनेको सुन ३३ किलो नलगे पनि दैनिक किलोका किलो सुन तस्करी भइरहेको छँदैछ। कसैले हामी त्यस्को सुन लाने मान्छे हो र ? हामी नेपाली को बेइज्जत गर्ने एअरपोट्मा ? सम्म भने। सबैले आआफ्नो कुरा गरिरहँदा एक मधेश मूलका नेपालीले भने हामीले त्यस्को सुन लगेर नेपाल सरकारले के पाउँछ ? उस्को कुरा सुनेपछि सबै चुपचाप भए। सोचे होलान् सबैले आफ्नो बारेमा मात्रै सोचेको थिए। तर उसले देशको बारेमा सोच्यो। उसले त्यहाँ राष्ट्रियता दर्शायाे। यहाँ आउँदासम्म मैले मसँग भएको गो प्रो क्यामेराले यो सबै कुरा रेकर्डिङ गरिरहेको थिएँ। यो मसँग सुरक्षित छ। यत्तिकैमा हामी प्लेन भएको ठाउँमा आइपुग्यौं। नेपाल तर्फको यात्रा सुरु भयो बिहान करिब ६ः१० मा।
नेपाली समयअनुसार दिनको १२ः०५ मा फ्लेन ल्यान्ड भयो। सबै सकाएर लगेज कुर्न बस्यौं करिब एक घन्टा बस्दा एउटा लगेज आयो, अर्को आएन। साथीको पनि त्यस्तै। लगेज आउने ठाउँबाट आवाज आयो लगेज सकियो। हामी दुई र अर्को एक जनाले हाम्रो सामान आएन भन्यौं। उस्ले भन्यो कसैले निकाल्दिएको हुन सक्छ हेर्नु। यत्तिकैमा अलि पर मैले मेरो लगेज देखें कसैले निकाल्दिएर राख्देको रहेछ। साथीको चाहिँ त्यस्तै खालको लगेज देखियो। तर, त्यो हैन रहेछ। साटिएछ भन्ने शंका भयो। हामी आफ्नो सामानसहित लगेज हेल्प डेस्कमा गयौं र जानकारी गरायौं। कर्मचारीबाट थाहा भयो लगेज साटिएको रहेछ। राजेन्द्र त्यो लगेजको कोड लिएर बाहिर गयो कतै बाहिर भेटिन्छ कि भनेर। म चाहिँ सामान चेक हुने ठाउँ कटेर अलि अघि गएर बसेँ। मेरो सामान कसैले केही चेक नै गरेनन्।
जनवरी १ देखि कडाइका साथ लागू भरहेको झिटिगुन्टा कानूनको संसारभरबाट बिरोध भइरहेको थियो। मन्त्री लालबाबु पण्डित युएई आउनुभएको बेलामा पनि युएईका संघ–संगठन लगायत युएईबासीले मन्त्री पण्डितलाई गम्भीर ध्यानाकर्षण गराएका पनि थिए। त्यसैको कारण पनि होकि जस्तो अनुभूति भयो।
साथमा ३२ इन्चको टिभी ल्याउनेहरुलाई चाहिँ १ वर्ष भयो कि भएन भनेर सामान्य सोधपुछ गरेको पाएँ। रक्सी पनि एक दुई बोटल बढी ल्याउँदा अर्को पल्टदेखि नल्याउनु भन्दै छोडेको देखेँ। यसै क्रममा एकजना कर्मचारीले मलाई नियालिरहेका रहेछन्। गो प्रो क्यामेरा मेरो पकेटमा थियो। तर, भिडियो खिच्न मिल्ने गरिराखेको थिएँ। करिब १० मिनेट पछि ती कर्मचारी मेरो छेउमा आएर भने तपाईंको क्यमेरा बन्द गर्नुस्। तपाईंले अघिदेखि भिडियो खिचिरहनु भएको छ भने। मैले साथीलाई पर्खेको भिडियो खिचेको छैन भने। उसले पत्याएन र एक पुलिस अफिसरलाई बोलाए पनि। मैले जे हो त्यहि भने। हुन पनि मैले क्यामेरा अन गरेको थिइनँ। यदि साँच्चै न्युज आएजस्तै थियो भने खिच्ने योजना पनि थियो। तर, त्यस्तो केही पाइनँ। यत्तिकैमा साथी पनि आइपुग्यो। उसले सामान पनि पाएछ करिब २ दुई बजेतिर हामी एअरपोर्टबाट निस्कियौं।
एअरपोर्टबाट निक्लिँदै गर्दा हिजो अरुको सुनको बाला ल्याउनेहरुलाई सम्झें उनीहरुलाई लिन २ घन्टादेखि आमा–बुवा, श्रीमान–श्रीमती ,छोरा–छोरी ,दाजुभाइ अथवा कोही न कोही पर्खिरहेका छन्। अब उनीहरु सुनको बाला दिन फेरि कता हराउने छन्। उनीहरुको पर्खाइ अझै लम्बिने छ। यो कुराले हाम्रै आत्मसम्मानमा ठेस पुग्नेछ। यसर्थ दुईचार हजारको लागि दलालको भिल्ला नभिराैं। अवैधानिक कुरालाई साथ नदिउँ।



लाेकपाटी न्यूज

