युएईबाट काठमाडौं आउँदै गरेको विमान यसरी जोगियो दुर्घटनाबाट

A320_ETIHAD_IAE_V18
लाेकपाटी न्यूज

काठमाडौं, ४ चैत । युनाईटेड अरब इमिरेटस (युएई)बाट काठमाडौं आउँदै गरेको विमान भारतीय आकाशमा एयर फ्रान्सको विमानसँग ठोक्किनबाट बचेको छ । अवुधाबीबाट काठमाडौं आईरहेको र भियतनामबाट पेरिस गईरहेको विमान मुम्बईमा ठूलो हवाई दुर्घटना हुनबाट जोगिएका हुन् ।

गत शुक्रबार अपरान्ह दुई अन्तर्राष्ट्रिय उडान खतरनाक रुपमा एकअर्कासँग ठोक्किनबाट केही सेकेण्डले जोगिएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इण्डियाले जनाएको छ । आबुधाबीबाट काठमाडांैतर्फ आइरहेको इतिहाद एयरबस ३२० (इवाई २९०) विमान र भियतनामको हो ची मिन्ह सिटीबाट पेरिसतर्फ उडेको एयर फ्रान्स बोइङ ७७७ (एएफ २५३) ठोक्किनबाट बचेका हुन् ।

‘ती दुई विमान ५ दशमलव ५५६ किलोमिटरको फरकमा थिए । एयर फ्रान्स ३२ हजार फिट उचाइमा र इतिहाद विमान ३१ हजारको उचाइमा उडिरहेका थिए । तत्काल एयर ट्राफिक कन्ट्रोलरले इतिहाद विमानलाई ३३ हजारको उचाइ लिन निर्देशन दियो’ स्रोतले भनेको छ । पाकिस्तानले आफ्नो हवाईक्षेत्रमा उडान भर्न नदिएपछि अहिले भारतीय आकाशमा विमानको चाप निक्कै उच्च छ ।

त्यसैले टावरले इतिहादलाई उचाई लिन भनेपछि उचाई लिने क्रममा ३२ हजार फिटमा उडिरहेको एयर फ्रान्सको विमानसँग आमनेसामने भएको हो । यो घटनापछि मुम्बईका एयर ट्राफिक कन्ट्रोलरलाई हटाइएको र तत्काल अनुसन्धान थालिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्