प्रेम पत्र : एक दशक पछि

Raj-Babu-Shrestha
लाेकपाटी न्यूज

राजबाबु श्रेष्ठ, गौशाला, महोत्तरी ।

प्रिय नीरा,
कहाँबाट सुरु गरुँ, के शब्दबाट सुरु गरुँ र के भनेर सम्बोधन गरुँ तिमीलाई प्रिय । यहाँसम्म कि, सञ्चै छ्यौ तिमी भनेर सोध्न सक्ने त्यो शब्द पनि छैन मसँग ।

कुन शब्दकोशबाट उधारो लिउँ ती शब्दहरू, तिम्रा ती प्रश्नको प्रत्युत्तरको लागि । जहिल्यै म तिम्रो नजरमा धोकेबाज र दोषी ठहरिरहेँ । जानेर भनौँ या विवशताको जाँतोमा पिसिनु परेर । त्यो मभन्दा बढी कसलाई थाहा होला र प्रिय रु र, तिमीलाई कसरी व्यक्त गरुँ ती पलहरू ।

आज एक दशक पछि, आफूलाई बनाएको कठोर एक पत्थर मुटुलाई अतितको यादको कोइलामा पगाली, तिमीलाई यो पत्र लेखिरहँदाको क्षण प्रत्येक अक्षरहरू सङ्गै भिजेका मेरा यी परेलीहरू तिमीलाई सम्झिरहेछ प्रिय । तिमीले स्पर्श गरेका यी हातहरू, तिमीले चुम्बन गरेका यी निर्दोश अधरहरू र यी विवश मेरा नयनहरू आज तिमीलाई सम्झिरहेछ नीरा ।

तिमी म सङ्ग छुट्टिनुको पर्दाको क्षण जति तिमीलाई कठिन थियो प्रिय, योभन्दा पनि बढी कठिन थियो मलाई ।

तिम्रो चुल्ठो समाति तिमीलाई, स्यालले कुखुरा घिसारे झैँ मेरै नयनका सामु घिसारी रहँदा, गहुँखेतमा ठिङ्ग उभ्याइएको बुँख्याचा झैँ म फगत ठिङ्ग उभिई रहेँ । म केवल उभिई रहेँ, उभिई रहेँ । र, पनि मैले आफ्ना विवशताको हतकडी चुँडाउन सकिन । बालुवाले पानी सोँचे झैँ परेलीहरूबाट तप्किन लागेको तडपका आँसुहरू आफ्नै लाचारी नयनहरूमैँ फिर्ता लिईरहेँ ।

म सङ्ग कुनै हिसाब छैन प्रिय । आज तिमीलाई पत्र कोरिरहँदाको पल मेरा परेलीहरूले रुँदै मैँ सङ्ग रोएर बिन्ति गरेको प्रिय । “आज त रुनदेऊ राज, तिम्रा अतीतका पीडाको ती घाइते अक्षरहरू म पढ्न सक्तिन । त्यसैले, मैले झारेका आँसुका प्रत्येक थोपा ९थोपाले ती घाइते अक्षरहरूको आलो रगत पखाल्न चाहन्छु, कृपया राज आज न रोक मलाई रुनबाट” भन्दै बिन्ति गरेका । म सङ्ग कुनै हिसाब छैन, प्रिय । मैले लेखेका प्रत्येक अतीतका अक्षरहरू तप्प तप्प गरी पोखिरहेका आँसुहरूले ईरेजरले झैँ मेटाउँदै थिए ।

तिमी त “आँ गर्दा अलङ्कार बुझ्ने मान्छे” फेरि कसरी चुक्यौ त आज प्रिय मेरो विवशताको दस्तावेजहरू पढ्नलाई रु एक फेर आफैँलाई मासु बनाएर अचानोमा राखी खुकुरी चलाऊ त प्रिय, मासुलाई भन्दा अचानोलाई दुख्छ । अनि तिमी आफैँ बुझ्ने छ्यौ । अनि तिम्रो प्रत्येक प्रश्नको उत्तर प्रश्नको शैल भित्र थिचिएर बसेको प्रत्येक बालुवा–बालुवामा पाउने छ्यौ मेरा उत्तरहरू प्रिय ।

मलाई थाहा छ, तिमी अहिले घृणाको शैल बनेर उभिएकी छ्यौ मेरो अघि । जसरी म त्यो दिन केही विवशताले गर्दा मायाको कठिन सागरमा मजबुरीको प्वाल परेको डुङ्गामा परेलीका आँसु प्रेमको अञ्जुलीमा थाप्दै आफ्नो प्यास आफ्नै अतीतका आँसुहरू पिएर बुझाउँथेँ ।

कसरी भुल्न सक्छु म त्यो पलहरू, प्रिय रु यो मेरो लागि एउटा प्रश्नको विषय बनेको छ । जिन्दगी नै एक खोलाको किनारामा एक प्रश्नको शैल झैँ बनेर चुलिए पछि अनि असारमा बग्ने खोलाको उन्मत्त छालहरूले मेरो कमजोर उत्तरहरूको किनारामा बारबार लात्ताले हानिरहँदा म तिम्रो प्रश्नको प्रत्येक उत्तरको लागि खडा भएर अडिरहन सकिन प्रिय । मलाई माफ गरिदेऊ प्रिय, माफ गरिदेऊ ।

न तिम्रो दोष थियो प्रिय, न मेरो नै दोष । तिमी पनि बिछट्टै आफैँलाई बिर्सिएर मलाई प्रेम गरथ्यौ । केवल दोष थियो त हाम्रो ऊँच र निचको, जात र भातको । अनि गरिब र धनिको । कूल र घरानाको ।

हो, यहीँ मान्छेले बनाएको संस्कारको अजिङ्गरले निल्यो तिम्रो र मेरो प्रेमलाई नीरा । तिम्रो र मेरो मात्रै कहाँ हो र प्रिय रु सदियौंदेखि चल्दै आएको धर्म शास्त्रअनुसार पनि पार्वती ब्राम्हण कूलकि राजाको छोरी अनि महादेव जट्टाधारी क्षत्रीय वंशको । आफ्नै पिताबाट आफ्नै पतिको अपमान सहन नसकेर होम् गरिरहेको यज्ञमा हाम् फालेर मरेको कथा अझैँ श्री स्वस्थानी ब्रत कथामा पढिरहेका छन् । तिम्रो र मेरो प्रेमको बाँधिएको डोरी छिनाल्ने हाम्रा शत्रुका समाजहरू ।

के हेरिरहेका छन् आज पनि यी समाजहरू रु फेरि किन जलाउँदैन अझैँ यस्ता कु–संस्कृतिका कागजका धमिरा लागेका पात्रहरू । यहाँ प्रेम भन्दा प्रिय, कु–संस्कृति र कूल घरानाको श्रीपेचलाई सर्वोपरी मान्छ नीरा । अहम् र बकुम्फुसे संस्कृतिका जाँतोमा पिसिएका थियौँ तिमी र म ।

आज मैले प्रिय तिमीलाई सबै सत्य कुरा बताउने हो भने तिम्रो पाउ तल धर्ती फाट्ने छ । न बताई पनि भएको छैन प्रिय । किनकी, अब मलाई त्यो मजबुरीको हतकडीले रोक्न सक्तैन प्रिय । त्यसैले, म आज एक दशक पछि तिम्रो सबै यथार्थ थाहा पाएपछि आफ्नो कथा सङ्गै यो प्रेम पत्र कोर्दै छु प्रिय । तिमी यो पत्र पढे पछि के प्रतिक्रिया दिन्छ्यौ, त्यो मलाई थाहा छैन । तर, म भने अवश्य एक पापको बन्धनबाट हमेशाको लागि मुक्त हुनेछु प्रिय । मलाई लाग्छ, तिमी मलाई माफ गरी अँगाल्ने छ्यौ अवश्य नै ।

जब तिम्रो र मेरो प्रेम सम्बन्ध तिम्रो बाले थाहा पाए पछि, तिम्रो बाले हुन सम्मको धम्की दिएछन् मेरो बालाई । “तेरो छोरालाई सम्झा र मेरी छोरीको जिन्दगी देखि कोशौँ टाढा जानु भन् होइन भने कुनै खैरेत् छैन । नभए तेरै छोरालाई मार्न लाईदिन्छु” भन्दै धम्की दिँदा रैछन् ।

बिचरो मेरो रोगी, गरिब अनि त्यसमा पनि दलित बा कसरी यी धम्की सहन सकोस् हेर प्रिय । तिम्रै बाले दिएको कमाउन दश कठ्ठा खेत र आफ्नो एक बिघा खेती गरी जेनतेन गरी बाले हाम्रा गुजारा चलाउँथे । तिम्रो बाको ज्यानै मार्ने धम्कीले म एक्लो छोरा गुमाउनु पर्ने पो होकी भन्ने डरले बाले मलाई बारबार हातजोडी रुँदै “छोद्डे बाबु छोड्दे नीरालाई, भुल्दे । उसको विवाह हुँदैछ राम्रो एक कूल घरानामा । तँ बीचमा आउँदै न आईज । तेरो भाग्य छैन एक दलितको कूलमा जन्मेर काजी साहेबको छोरीलाई बिहे गर्ने सपना न देख छोरा नदेख । हाम्रो यो झुपडीको माटोमा महलको रानीको कलिलो पाउ रकताम्मे हुन्छ छोरा रगताम्मे” ।

“कहीँ काजी साहेबले तँलाई मारिदियो भने, मैले कहाँबाट पाउनु तँलाई बुढेसकालमा पाल्ने छोरा । यदि यहीँ पिरले म मरे भनेँ कहाँबाट पाउँछस् तैँले बाउ । ऊ यहाँको जिम्दार । जसको शक्ति उसैको भक्ति । उसको बोलि बिक्छ बोलि । जरादेखि टुप्पोसम्म छ उसको पावर । उसको एक ईशारामा गाउँको मुख बन्द हुन्छ मुख” । छोड्दे छोरा छोड्दे र भुल्दे नीरालाई । तँ साँच्चै नीरालाई माया नै गर्छस् भने, नीराको खुसीको लागि, नीरालाई त्यागि दे त्यागि दे” ।

यसरी दिनहुँ मेरो लचारी बाको कुरा सुनेर, म तड्पिन्थेँ । छट्पटिन्थें । यता आफ्नै ज्यान बचाउनु अनि उता रोगी बा अनि तिमीलाई गुमाउनुको पीडा, कति गाह्रो थियो होला प्रिय एकफेर सोचेर हेरत तिमी मेरो ठाउँमा बसेर, के बित्यो होला म माथि ।

साँच्चै म माया गर्न जाँन्दिन थेँ प्रिय । यी सबै कुराहरू तिमीलाई थाहा छ । तिमीले नै हो मलाई माया गर्न सिकाएकि । तिमीले नै हो मलाई प्रेमको शास्त्र पढाएकी । मैले सबै आफ्नो वृतान्त तिमीलाई भनि सकेको थिएँ र यो कुरा तिमीलाई राम्रो जानकारी पनि थियो । अब म तिमीलाई आफैँलाई बिर्सी माया गर्न थालि सकेको थिएँ । अहिले पनि त्यतिकै गर्छु प्रिय र गरिरहन्छु मेरो धड्कन् चलुञ्जेल प्रिय ।

तिमी आफैँ भन्थ्यो – “तिमी बाहेक म मेरो जिन्दगीमा अरूको कल्पना गर्नै सक्तिन । म जे पर्छ र जस्तो पर्छ त्यो सबैको सामना गर्न तयार छु । मेरो यो ओभानो सिउँदोमा केवल तिम्रै हक छ । तर, तिमीले भने जस्तो भएन प्रिय । तिम्रो सिउँदो रङ्गियो अरू कसैको हातबाट । एस। एल। सी सकेर जनकपुर घुम्न जाम् भन्यौ” । म गएँ । फिल्म हेरौँ साथमैँ बसेर ।

तिमीले भन्यौँ – “जनकपुर नै रात काटौँ” । मैले कति तिमीलाई बिन्ति गरेँ – “घर जाउँकि जाउँ” भनेर तर, तिमी नै हौ मलाई रोक्ने । म रोक्किएँ । आफू यसरी शहरमा एक्लै आएको बा बाहेक पहिलो चोटी थियो तिमीसङ्ग । तिमीले नै लग्यौ मलाई राजधानी गेस्ट हाउसमा बास बस्न । बस्यौँ र हामीबीच त्यो सबथोक भो जे नहुनु थियो विवाह पूर्व ।

जे कुराको डर थियो मलाई त्यहीँ भयो गाउँ आएर । मिथुन दा को “प्यार झुक्ता नहीँ” फिल्म हेरेपछि भन्थ्यौ तिमी नै – “हाम्रो माया कसैसङ्ग झुक्तैन” हाम्रो प्रेमको पाईलाहरू प्रेम पथमा कहिँल्यै रुक्तैन । लौ हेरत आज प्रिय, कसरी गाडीमा अचानक ब्रेक लागे झैँ रुक्यो हाम्रो प्रेमको गाडी । कसरी भत्क्यो हाम्रो, हामी आफैँले खनेका प्रेम पथका ती बाटाहरू ।

भावनाको पखेटा हाली चरी झैँ आकाशमा उड्नु जस्तो सजिलो रहेनछ यथार्थ जिन्दगी प्रिय । आज तिमी कुन परिस्थितिमा छ्यौ त्यो सबै थाहा छ मलाई । तर, तिमीलाई थाहा छैन सायद म कुन पोजिसनमा थिएँ र कसरी काटेको छु मैले ती विगतका दश वर्ष । मैले एक–एक रिपोर्ट लिने गर्थेँ तिम्रै छिमेकी वर्षाबाट । जोसङ्ग रोजै तिम्रो कुराकानी हुने गरथ्यो र उसैसङ्ग म तिम्रो हरेक खबर लिने गर्थेँ । तर, उसलाई मैले मेरो कुनै पनि कुरा भन्नबाट कसम ख्वाएको थिएँ ताकि तिमी मलाई घृणामाथि घृणा गरोस् र मलाई भुलोस् भनेर ।

म तिमीलाई अझै बेहद् माया गर्छु प्रिय । तर, तिमी मलाई घृणा गर्छ्यौ । जुन दिन तिमी मेरो घर भागेर आयौँ र भोलिपल्ट जे जे भो त्यो सबै तिमीलाई थाहा छ प्रिय । त्यसपछि के–के भो यहाँ तिमीलाई थाहा छैन प्रिय । तिमीलाई त मेरो आँखादेखि ओझेल पार्दै घिसार्दै लगे । अनि मेरो भो बर्बादी सुरु । मर्ने गरी कुटाई मलाई र मेरो बालाई । घरमा गुण्डा लगाई सबै भत्काई दिए । गाउँबाट चारपाटा कटाई गाउँ निकाला गराई दिए । अनि आरोप एक लाख लिएको तिमीलाई त्याग्नुको फिस ।

हेर प्रिय मैले के–के सहिन तिम्रो लागि । त्यहीँ पीडाको कारणले मैले मेरो बा गुमाए । तिमी त बिहे गर्यौ उतैको उतै सेट् भयौ । गाउँको कुनै खबरदेखि बेखबर रह्यौ र ढुक्क भयौ अनि माईती कहिँल्यै आएनौ । मेरो विरुद्ध चलेको धोकेबाजको हल्लाले तिमीलाई यति रुष्ठ बनाई दिएकी मैले आज कोरेको चिठ्ठीको थोरै शब्दमा व्यक्त गर्नै सक्तिन प्रिय ।

म अहिले दिल्लीबाट फर्केपछि सर्लाही छु र उतै घर बनाएको छु प्रिय । हामी दुई मिलेर घरलाई फेरि स्वर्ग बनाम्ला । तिमीले बिहे गरेको दुई वर्षमा नै तिम्रो पति मरेको मलाई सबै थाहा थियो प्रिय । तिमीले पनि मलाई धेरै खोज्यौ रे त्यो पनि मलाई सबै थाहा छ प्रिय ।

मैले अझै बिहे गरेको छुइँन प्रिय, तिमीलाई पर्खेर बसेको छु । सक्छ्यौ भने, मलाई माफ गरिदेऊ प्रिय र थाम मेरो हात फेरि र बदल आफूलाई यो समाजबाट र फेरि खनौं हामी दुई मिलेर मिलनको एक नयाँ गोरेटो प्रिय ।

उही तिमीलाई मुटुमा अटाउने तिम्रो राज रसाइली । मेरो अतित मलाई फर्काई देऊ प्रिय । मेरो जिन्दगी अब तिम्रो हातमा ।

म चाहन्छु, तिमीले मलाई फोन गरोस् । यी कानहरू वर्षौं पछिको तिम्रो मधुर आवाजहरू सुन्नलाई टड्पिरहेको छ प्रिय ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्