अनुभव र विज्ञता नै सफलताको सूचक हो : प्रबन्धक अधिकारी

Binod Adhikari Manager
लाेकपाटी न्यूज

पूर्वी नेपाल आफैमा सभ्यताको केन्द्र मानिन्छ। शिक्षा, औद्योगिक विकास, सामाजिक एवं राजनीतिक जागरणका दृष्टिले विराटनगर र आसपासको क्षेत्र नेपालको मानचित्रमा अब्बल मानिन्छ। शहरीकरणको प्रक्रिया बढ्दै जाँदा पूर्वी नेपालको मात्र नभएर मध्य नेपालका पहाडी जिल्लाबाट पनि त्यस क्षेत्रमा बसाइसराइको लहर नै चल्यो। त्यही सभ्यताको केन्द्र मानिने सुनसरीको अमाहीबेला–७ मा ४२ वर्षअघि जन्मिए उनी।

उनका पिता कृष्णबहादुर मध्यमवर्गीय परिवारमा जन्मिएका बुद्धिजीवी र समाजसेवी थिए। पूर्वी पहाडी जिल्ला भोजपुरको थाकुबाट वि.सं. २०१३ सालमा उनको परिवार सुनसरीमा बसाई सर्‍यो। त्यसबेला पहाडी जिल्लाबाट सुविधाको खोजी गर्ने जमाना थियो, त्यही जमानाको हावाले कृष्णबहादुरको परिवारलाई पनि सुनसरीतिर हुत्यायो। पूख्र्यौली सम्पत्ति बेचेर उनीहरु स्थायी रुपमा बसाई सरे।

उनका माता पिताका आठ सन्तान थिए, ४ छोरा र ४ छोरी। त्यही मध्यमवर्गीय परिवारमा वि.सं. २०३२ साल साउन २२ गते कान्छो सन्तानका रुपमा जन्मिएका विनोद अधिकारी अहिले नीजि क्षेत्रका सफल प्रबन्धकमा दर्ज भएका छन्। बौद्धिक र कर्मठ प्रबन्धकको छवि बनाएका अधिकारीका कारण नेपालका धेरै नीजि कम्पनिले सफलताको शिखर चुमे। उनी जहाँ जिम्मेवारी सम्हाल्छन्, त्यहाँको व्यवसायिक प्रगतिको ‘ग्राफ’ ह्वात्तै उकालो लाग्छ। त्यसैले उनी नीजि क्षेत्रका प्रतिष्ठित कम्पनिको रोजाइमा पर्छन्।

विनोदले आफ्नो प्रारम्भिक शिक्षा सुनसरीकै रामसीता मा.वि.बाट प्रारम्भ गरे। बोर्डिङ स्कूलमा पढाउने बाबुको औकात नभएको होइन। तर, उनका पिता सरकारी विद्यालयकै व्यवस्थापन समितिका अध्यक्ष थिए। विनोद सम्झन्छन्, ‘बुवा सामाजिक र शैक्षिक गतिविधिमा सक्रिय हुनुहुन्थ्यो। आफू विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने तर छोराछोरी बोर्डिङ पढाउने कुरा राम्रो होइन भन्नुभयो। त्यसैले मैले सरकारी स्कूल (रामसीता मा.वि.) बाटै एसएलसी उत्तीर्ण गरें।’

वि.सं. २०४७ सालमा अधिकारीले एसएलसी उत्तीर्ण गरे, त्यसपछि उच्च शिक्षाका लागि राजधानी हानिए। उनले त्रिभूवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरे। त्यसपछि एमबिएका लागि स्लोभेनियाको ‘University of Ljubljana’ मा भर्ना भए। सन् २००५ मा एमबिएको अध्ययन पूरा गरेपछि अधिकारी नेपाल फर्किए। नेपाल फर्केपछि उनको रोजाइ औद्योगिक क्षेत्र नै पर्‍यो। उनले त्रिशक्ति केबुलमा सिनियर म्यानेजरका रुपमा काम गर्न थाले।

‘एमबिएको अध्ययन सकिएपछि म त्रिशक्ति केबुलमा काम गर्न थाले। त्यतिबेला केबुल निर्माणकै चरणमा थियो’ अधिकारी भन्छन्, ‘त्रिशक्ति केबुल छोटै समयमा ब्राण्डिङ भयो। आफ्नो विज्ञता र अनुभवको प्रयोगद्वारा भएको प्रगतिले व्यवसायिक जीवनमा थप उर्जा मिल्यो। त्यहीँबाट नै गरे सकिन्छ भन्ने मनोवलको पनि विकास हुँदै गयो। यसलाई मैले जीवनको ठूलै सम्पत्ति ठानेको छु।’

केबुलको जागिर छोडेर अधिकारी अध्ययनका लागि फेरि इङ्ग्ल्याण्डतिर लागे। उनी Heriot watt University, Edinburgh मा भर्ना भए। सन् २००९ मा अधिकारीले त्यही विश्वविद्यालयबाट ‘लजिष्टिक एण्ड सप्लाइ चेन म्यानेजमेन्टमा एम.एस. उत्तीर्ण गरे। एम.एस.को अध्ययनले उनलाई व्यावसायिक जीवनमा अझै तिखार्दै लग्यो। त्यसपछि उनी नेपाल फर्किए। अधिकारी भन्छन्, ‘एम.एस.को अध्ययनपछि बेलायत नै बस्ने सुझाव नआएको होइन। तर, देशकै लागि केही गरौं भन्ने भावना बोकेर फर्किएँ, त्यसमा मलाई कुनै पश्चाताप छैन।’

सन् २०१३ बाट उनी सर्वोत्तम सिमेन्टमा जागिर गर्न थाले। सर्वोत्तममा उनी लजिष्टिक एण्ड प्रकुमेण्ट हेडका रुपमा नियुक्त भए, जतिबेला सर्वोत्तम सिमेन्ट कम्पनि निर्माणकै चरणमा थियो। उनले सिमेन्टको बजार बिस्तार, नयाँ बजार स्थापना, आर्थिक व्यवस्थापन लगायतका महत्वपूर्ण क्षेत्रको जिम्मेवारी सम्हाले। अधिकारीकै कारण सर्वोत्तम सिमेन्टको ‘ब्राण्डिङ’ भयो। निर्माणको चरणमा भएकाले उनले उद्योग स्थापनाका लागि आवश्यक निर्माण सामग्री जुटाउन राम्रै लगाव देखाए। अन्तर्राष्ट्रिय सम्बन्धमा दख्खल राख्ने अधिकारीकै कार्यकुशलताका कारण उद्योगले छोटै समयमा प्रगति गर्‍याे।

सर्वोत्तममा राम्रो व्यवस्थापन गरेका अधिकारीलाई सौरभ ग्रुपले लक्ष्मी स्टिलमा सेल्स जनरल म्यानेजरकाे जिम्मेवारी दियाे, उनले उक्त जिम्मेवारी पनि कुशलतापूर्वक पूरा गरे। सन् २०१५ मा कम्पनिले उनलाई सिमेन्टकै जिम्मेवारी दियो, उनले सिनियर जनरल म्यानेजरका रुपमा सर्वोत्तम सिमेन्टमा काम गरे। उनकै कार्यकालमा सर्वोत्तमले दैनिक ३००० मेट्रिक टन सिमेन्ट उत्पादन गर्‍यो। हाल अधिकारी नीजि क्षेत्रमै व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेका छन्।

पञ्चायतसम्म हराभरा देखिएका सार्वजनिक संस्थानहरु बहुदल र गणतन्त्रमा ओरालो लागिरहेका छन्। उत्पादन र व्यवसायका दृष्टिले नीजि क्षेत्र यति शक्तिशाली बनेको छ कि हाम्रा सार्वजनिक संरचनाहरु निरिह देखिन्छन्। नीजिकरणको बञ्चरोले टाउकोमै प्रहार गरेर मुर्झिएका सरकारी संस्थान हत्तपत्त पूरानै लयमा आउने देखिँदैन। त्यसका लागि बलियो ईच्छाशक्ति र संकल्प चाहिन्छ। आजको अवस्थाले भन्छ, ‘नीजि क्षेत्रको जस्तै सक्षम र कर्मठ प्रबन्धक सरकारी संरचनामा चाहिन्छ।’

नेपालका सार्वजनिक संरचनाका चुनौति के हुन् ? सरकारी संरचना पनि नाफामा लैजान सकिने सुत्र के हुन सक्छन् ? अधिकारी भन्छन्, ‘हरेक कम्पनि, उद्योग, संस्थानको नेतृत्व मूख्य कुरा हो। नेतृत्व गर्ने व्यक्तिमा ईच्छाशक्ति, कर्तव्यनिष्ठता, आफैप्रति विश्वास र विज्ञता भए जस्तासुकै चुनौति छिचोल्न सकिन्छ। हामीकहाँ त्यही ईच्छाशक्ति र विज्ञताको अभाव खड्किएको छ।’

‘उत्पादनको समयानुकूल व्यवसायिकरण हाम्रो चुनौति हो। त्यसका लागि उत्पादनको ‘ब्राण्ड’लाई कमर्सियल कन्सेप्टमा ढाल्नुपर्ने हुन्छ’ अधिकारी थप्छन्, ‘भनिन्छ नि बोल्नेको पीठो बिक्छ। सार्वजनिक संस्थानले पनि आफ्नो उत्पादनको गुणस्तर, व्यवसायिकरण र प्रतिस्पर्धामा ध्यान दिनुपर्छ। प्रतिस्पर्धाका लागि ईच्छाशक्ति र अठोट चाहिन्छ। सरकारी भनेपछि जागिर मात्र खाने हो भन्ने हाम्रो कन्सेप्ट छ, त्यो सबैभन्दा गलत कुरा हो। सार्वजनिक संस्थानलाई बलियो बनाउँदा प्रत्येक नागरिक बलियो हुन्छ भन्ने सोचियो भने नसोचेको परिवर्तन र नतिजा दिन सकिन्छ।’

उनका दृष्टिमा राज्यले औद्योगिक क्षेत्रमा खासै ठूलो लगानी गरेको छैन। घाटाका लागि किन लगानी गर्ने ? भन्ने मनोविज्ञान सबैमा व्याप्त छ। ‘नीजि क्षेत्रले औद्योगिक क्षेत्रमा ठूलो लगानी गरेको छ। तर, राज्यले जति गर्नुपर्ने हो, त्यति गर्न सकेको छैन’ अधिकारी थप्छन्, ‘लगानीको प्रतिस्पर्धाले नै उत्पादन र बजारको प्रतिस्पर्धाका लागि योग्य बनाउँछ। बलियो र प्रतिवद्ध डिलर नेटवर्क बनाउन सकियो भने सार्वजनिक संस्थान पनि नाफामा जान्छन्, लान सकिन्छ, त्यसका लागि चाहिने त ईच्छाशक्ति नै हो।’

नेपालका अधिकांश सार्वजनिक संस्थान र सरकारी उद्योगमा जनशक्ति बढी र काम कम हुन्छ। कति कामका लागि कति जनशक्ति आवश्यक पर्छ, त्यसको कुनै लेखाजोखा छैन। अधिकारी भन्छन्, ‘काम र कर्मचारीबीच तालमेल मिल्नुपर्छ। नीजि क्षेत्रमा थोरै कर्मचारीले धेरै प्रतिफल दिन सक्ने, तर सरकारीमा नसक्ने भन्ने हुँदैन। यसका लागि हामीले वैज्ञानिक विधि र मापदण्ड बनाउन जरुरी छ। हचुवाका भरमा दरबन्दी सिर्जना गर्ने र तलबकै बोझले संस्थान ओरालो लाग्ने परिस्थितिमा पूनर्विचार गर्नैपर्छ।’

‘हाम्रा कानूनहरु बोझिला छन्, काम गर्ने तरिका प्रक्रियामूखी छ। नतिजा होइन, कागजमा काम देखिए पुग्छ भन्ने मानसिकताले सरकारी संरचना ग्रसित छन्’ अधिकारी भन्छन्, ‘नीजि क्षेत्रले हरेक कुरा परिणाममा हेर्छ। तर, सरकारी क्षेत्रले प्रक्रिया र कागजमा, यहीँनेर हाम्रो गल्ती छ।’ सार्वजनिक संस्थानहरुमा खुल्ला प्रतिस्पर्धाद्वारा सक्षम नेतृत्व छान्न सके धेरै कुरामा परिवर्तन ल्याउन सकिने विश्वास व्यक्त गर्छन् अधिकारी।

विश्व २१ औं शताब्दीको पूर्वार्धबाट पनि अघि बढिसकेको छ। दुनियाँका हरेक उत्पादन अहिले प्रविधिसँग जोडिन्छन्। तर, नेपालले प्रविधिको अवलम्वन पनि गुजारा चलाउने हिसाबले गरिरहेको छ। ‘सरकारी संरचनामा पनि व्यवसाय प्रवर्द्धनका विभिन्न बिकल्प छन्, हामी गराएको काम मात्रै गर्ने संस्कारमा हुर्किएका छौं’ अधिकारी भन्छन्, ‘हाम्रो शिक्षा ज्ञानका लागि मात्र होइन, नयाँ–नयाँ सिर्जनाका लागि पनि हो। आफूले जिम्मा लिएको ठाउँमा केही गर्छु, नयाँ गर्छु, नयाँपन दिन्छु भन्ने संकल्प गरियो भने नसकिने केही छैन।’

तर, त्यसका लागि बलियो व्यवसायिक र व्यवस्थापन भएको नेतृत्व आवश्यक ठान्छन् अधिकारी। उनी भन्छन्, ‘तर त्यसका लागि निष्ठा र इमान्दारिता त चाहिन्छ नै।’ अधिकारीका दृष्टिमा अबको प्रतिस्पर्धा घरेलु बजारमा मात्रै सीमित छैन, विश्व बजारसँग प्रतिस्पर्धा राष्ट्रिय आवश्यकता र चुनौति दुवै बनेको छ। ‘विश्व बजारसँग हाम्रो सजीव सम्बन्ध चाहिन्छ’ उनी भन्छन्, ‘त्यसका लागि बजारीकरणको सञ्जाल, रचनात्मक र अनुसन्धनात्मक नेतृत्व चाहिन्छ।’

‘विज्ञता र अनुभवलाई जोड्न सक्दा नै ठूलठूला सफलता हात पार्न सकिन्छ’ अधिकारी थप्छन्, ‘त्यसका लागि नीति निर्माता र राजनीतिक नेतृत्वको भिजन पनि हाम्रा योजनामा समावेश गर्न सक्नुपर्छ।’ जससँग व्यवसायलाई नाफामा लगेको अनुभव छ, त्यसलाई सार्वजनिक संस्थानको जिम्मेवारीमा ल्याउनु राज्यका लागि हितकर हुने ठान्छन् अधिकारी।

नीजि क्षेत्रले उत्पादन र व्यवसायका क्षेत्रमा नयाँ–नयाँ प्रगति गर्दै जाँदा सार्वजनिक संस्थानहरु दयनीय हुनु पक्कै पनि चिन्ताको विषय हो। नीजि क्षेत्रले आफ्नै बलबुतामा जुन अनभुव बटुलेको छ, त्यसलाई सार्वजनिक संरचनाको प्रगतिमा प्रयोग गर्न सकिन्छ र सक्नुपर्दछ। त्यसका लागि राज्य सञ्चालकहरु जिम्मेवार र रचनात्मक हुन सक्नुपर्दछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्