काठमाडौं। लोकसेवा परीक्षाको तयारी गर्दा लक्ष्य, उद्देश्य र भविष्यको योजना बनाएर तयारी सुरु गर्नुपर्छ। परीक्षाको तयारी गर्दा निश्चित लक्ष्य र उद्देश्यअनुरुप चिन्तन गरिएन भने सफलता प्राप्त गर्न गाह्रो हुन्छ। सामान्यत लोकसेवा परीक्षाको तयारी गर्दा दुईवटा पाटोमा ध्यान दिनुपर्छ। एउटा सैद्धान्तिक र अर्कोचाहिँ अभ्यास अर्थात् व्यवहारिक पाटो हो।
सैद्धान्तिक पाटोका लागि विद्यार्थीहरू विशेष गरी बजारमा निस्किएका गाइड, किताब तथा विश्वविद्यालयका कोर्सहरूमा मात्र निर्भर रहँदै आएका छन्। त्यसले मात्र पुग्दैन। सम्बन्धित विषयवस्तुमा गहिरो अध्ययन गरिएका प्रतिवेदन, लेख, विचार तथा विश्वविद्यालयका पुस्तकहरूलाई पनि आधार बनाइनुपर्छ।
सैद्धान्तिक पक्षका पनि विभिन्न हाँगा अर्थात् पाटा छन्, जस्तो आफूले अध्ययन गर्न चाहिरहेको विषयवस्तु वा पाठ्य सामाग्रीको परिचय, परिभाषा, आयाम, सन्दर्भ विश्लेषण, सबल पक्ष र दुर्बल पक्ष, सिद्धान्त र क्षेत्रका बारेमा मजाले केलाएर बुझ्नुपर्छ।
परीक्षामा लेख्दा वा लेख्ने अभ्यास गर्दा कसैको रट्ने वा हुबहु लेख्ने होइन कि आफैं विश्लेषण गरेर अफ्नो धारणा बनाएर लेख्नुपर्छ। सरल रूपमा आफ्नै भाषामा लेख्नुपर्छ।
परीक्षाको तयारी गर्दा चौतर्फी विषषवस्तुका बारेमा ध्यान दिएर पढ्नुपर्छ वा जानकारी राख्नुपर्छ। दैनिक सयौं घटना वा आफूले अध्ययन गरिरहेका विषय सामग्रीका बारेमा जानकारी आइरहेका हुन्छन्। त्यसका बारेमा पनि अपटेट हुनुपर्छ। बढीभन्दा बढी ज्ञान हासिल गर्नुपर्छ।
अहिलेको युग भनेको सूचना प्रविधिको युग हो। त्यसैले इन्टरनेटको प्रयोग अत्यधिक गर्नुपर्छ। इन्टरनेटमा आफूले अध्ययन गरिरहेका विषयवस्तुमा नयाँ के अपडेट भयो ख्याल गर्नुपर्छ । विषयवस्तु जतिसक्दो अपडेटेड हुनुपर्छ। एक वर्षलाई मात्र टार्गेट गरेर पढ्नु हुँदैन। भविष्यलाई हेरेर तयारी गर्नुपर्छ।
लोकसेवाको तयारी गरिरहेका विद्यार्थीले व्यवहारिक पक्षका बारेमा धेरैभन्दा धेरै जानकारी हासिल गर्नुपर्छ। विभिन्न तहका निजामती कोर्समा सरकारको नयाँ नीति, नियम, ऐनहरू समावेश हुँदैन। त्यसैले निजामती ऐन, नियम, कानून जान्नुपर्छ।
संविधानको हरेक पक्षको अध्ययन हुनुपर्छ। जस्तो कि विकासका बारेमा वा मानव अधिकारका बारेमा नयाँ संविधानले के भनेको छ ? कस्तो परिभाषा गरेको छ ? त्यसमा नयाँ के आएको छ, जान्नुपर्छ। आफूले पढिरहेको विषयवस्तुका बारेमा संविधानमा नयाँ व्यवस्था के छ मज्जाले बुझ्नुपर्छ। त्यसबाहेक अन्य विषयगत सामग्रीका बारेमा पनि जान्नुपर्छ।
आफ्नो पाठ्यक्रमका विषयवस्तुमा जानकार रहनैपर्छ। जस्तो– सुशासन ऐन, सूचना हकसम्बन्धी ऐन, निजामती सेवा ऐन, नियमावली, स्थानीय सरकारी सञ्चालन ऐन, वित्तीय व्यवस्थापन ऐनजस्ता विविध व्यवहारिक पक्षको अध्ययन गरिनुपर्छ। साथसाथै आफ्नो लक्ष्य अनुरुपको सेवा समूह र पाठ्यक्रमसँग मिल्ने विषयवस्तु मजाले पढ्नुपर्छ। त्यतिले मात्र पुग्दैन। त्यसबाहेक सम्बन्धित क्षेत्रका निर्देशिका, कार्यविधि, कार्ययोजनाहरू प्रत्येक मन्त्रालयको वेबसाइटमा गएर हेर्नुपर्छ।
आवधिक योजना मज्जाले पढ्नुपर्छ। किनभने यसले सबै तह र समूहलाई कहीँ न कहीँ छोएको वा समेटेको हुन्छ। त्यसका साथै सरकारले सार्वजनिक गर्ने विभिन्न प्रतिवेदनहरू पनि पढ्नुपर्छ।
पढ्ने क्रममा सम्बन्धित विषयमा पहिले काम गरिसकेका, व्यवहारिक रूपमा जानकारका साथै अवकास प्राप्त कर्मचारी वा व्यक्तिहरूले लेखेका पुस्तक एवं लेखहरू नियमित पढ्नुपर्छ।
लोकसेवाको तयारी गरिरहेका विद्यार्थीका लागि आमसञ्चार माध्यम वा मिडिया सूचना र जानकारीका महत्वपूर्ण स्रोत हुन्। मिडियामा आएका सामग्रीहरूका बारेमा नियमित अपडेट हुनुपर्छ। विचारमूलक लेख, सम्पादकीय, जानकारीमूलक लेख तथा समाचारहरू पढ्नुपर्छ। आफ्नो विषयवस्तुसँग सम्बन्धित ज्ञान हासिल गर्नुपर्छ।
दैनिक वा साप्ताहिक पत्रिकामा रहेका सामग्रीहरू आफ्नो विषयवस्तुका लागि उपयोगी हुनसक्छन्। त्यसैले पत्रपत्रिका अनिवार्य पढ्नुपर्छ। पत्रिका पढ्न असम्भव भए इन्टरनेटको सहायतामा अनलाइन भर्जन हेरे पनि हुन्छ।
त्यसबाहेक पत्रपत्रिकाको पहिलो पृष्ठमा वा विशेष खाले मुद्दामा केन्द्रित भएर आएका समाचार वा घट्नाहरू पढ्नुपर्छ। किनभने परीक्षामा उत्तर लेख्दा ती समाचारलाई उदाहरणका रूपमा समावेश गर्न सकिन्छ।
लोकसेवा परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूले परीक्षामा विभिन्न चरण पार गर्नुपर्ने भएकाले त्यस्ता विषयमा तयारी गर्नुपर्छ। हेन्सआउट, बुक, गाइड मात्र हेरेर पुग्दैन। सम्बन्धित विषयबस्तुमा आधारित चौतर्फी ज्ञान हासिल गर्नुपर्छ।
अंग्रेजी आदि विषयको तयारी गर्दा लोकसेवाको प्यार्टनमा आधारित रहेर राम्रो तयारी गर्नुपर्छ। सामान्य ज्ञानचाहिँ आफैंमा निर्भर रहने कुरा हो। स्थानीय र विश्व अवस्थाका बारेमा कतिको अपडेट छ त्यसका आधारमा सामान्य ज्ञानको तयारी गर्नुपर्छ।
अहिले लोकसेवाको पाठ्यक्रम एकीकृत भएकाले केही विषयवस्तु बाहेक कतिपय विषयवस्तु मिल्दा छन्, त्यसैअनुसार तयारी गर्नुपर्छ। बुझेर पढ्नुपर्छ, तनावमुक्त र एकत्रित भएर पढ्नुपर्छ। दैनिक तीन घन्टा लोकसेवाकै तयारी गर्नुपर्छ। तयारी कक्षा लिइरहेकाहरूले कक्षामा पढेका कुरा घरमा गएर दोर्होयाएर पढ्नुपर्छ। लोकसेवा परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूले एक वर्ष वा ६ महिना मजाले पढे भने पास गर्न सक्छन्।



लाेकपाटी न्यूज

