काठमाडौं, २६ फागुन । काठमाडौं महानगरपालिका–३२ जडीबुडीस्थित रामेछाप दोरम्बा गाउँपालिका–६ घर भएका २९ वर्षीय पुष्कर मगरको होटलमा तोडफोड गरेको अभियोगमा ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं नरेफाँट बस्ने २९ वर्षीय अशोक मल्ल, २२ वर्षीय नारायण श्रेष्ठ र ललितपुर गोदावरी बस्ने सुनसरी धरान घर भएका २१ वर्षीय प्रबिण लिम्बु रहेका छन् ।
उक्त होटलमा टेबुल, शिशा, गिलास लगायतका सामानहरु तोडफोड गरी क्षति पुर्याएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले तोडफोडमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
तोडफोडबाट करिब ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको जनाइएको छ ।
त्यस्तै काठमाडौं महानगरपालिका–३२ नरेफाँट बस्ने ३९ वर्षीय नवराज थपलियाको घरमा डेरा गरी बस्ने काभ्रे पाँचखाल नगरपालिका–२ घर भएकी ३४ वर्षीया शोभा खड्काको डेरा कोठामा जुवातास खेलिरहेको अवस्थामा घरधनी थपलियासमेत ८ जनालाई ३ बुक तास र नगद ९८ हजार ६ सय रुपैयाँ सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी काठमाडौं महानगरपालिका–६ महाकाँल बस्ने ४० वर्षीया जितु पाख्रिनको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका–६ महाँकाल बस्ने ५२ वर्षीया छिरिङ लामासमेत ८ जनालाई ८ बुक तास र नगद १ लाख ९६ हजार १ सय ५० रुपैयाँसहित शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
यी घटना सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।



लाेकपाटी न्यूज

