कञ्चनपुर, २४ फागुन । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको प्रमाण नष्ट गर्ने र यातना दिने कार्यमा संलग्न भएका आठ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
यातना दिइएको अभियोगमा तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक डिल्लीराज विष्ट, प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक अङ्गुर जिसी र प्रहरी निरीक्षक एकेन्द्र खड्काविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर गरिएको हो ।
यस्तै प्रमाण नष्ट गरेको अभियोगमा प्रहरी निरीक्षक जगदीश भट्ट, प्रहरी नायब निरीक्षक रामसिंह धाँमी, हरिसिंह धाँमी र प्रहरी जवान चाँदनी साउदविरुद्ध पनि मुद्दा दायर गरिएको छ । गत पुस ३ गते निर्मलाकी आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट गरेको र दिलीपसिंह विष्टका दाजु खडकसिंह विष्टले भाइ दिलीपलाई यातना दिएको अभियोगमा तत्कालीन कञ्चनपुरका प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित आठ जनाविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन । सरकारी वकिल कार्यालयले निर्मलाकी आमा दुर्गादेवी र खडकाको जाहेरीका आधारमा अदालतमा गत बुधबार छुट्टाछुट्टै मुद्दा दायर गरेको हो ।
तत्कालीन प्रहरी उपरीक्षक डिल्ली विष्ट र केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक अङ्गुर जिसीबाहेक अन्य छ जनालाई अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए । उनले भने, ‘छ जना हिरासतमा रहेका छन् ।’
‘अदालतमा उपस्थित गराइएकासँग बयान लिनेक्रम शुरु भएको छ’ उनले भने, ‘बयान लिनेक्रम दुई÷तीन दिनसम्म चल्ने देखिन्छ ।’ पन्तको साउन ११ गते घर नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरेर फालेको अवस्थामा शव फेला परेको थियो ।



लाेकपाटी न्यूज

