कैलाली, २३ फागुन । टीकापरमा बाघले आक्रमण गर्दा प्रहरी जवानसहित दुई जना घाइते भएको छन् ।
बाघको आक्रमणबाट ईलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत ट्राफिक प्रहरी जवान भक्तराज धिताल र १५ वर्षिय सम्राट शाह घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए ।
टीकापुर नगरपालिका–१ ब्लक नम्बर ९ मा रहेको पाउँ उद्योग नजिक रहेको झाडीमा बाघ रहेको सूचना पाएपछि मानिसहरुको आवागमन बन्द गरेर सुरक्षा प्रबन्ध मिलाइरहेको अवस्थामा बाघले ट्राफिक प्रहरी जवान धिताललाई आक्रमण गरेको हो । कैलालीको टीकापुर आएको बाघ बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको हुन सक्ने अनुमान गरिएको छ ।
बाघ नियन्त्रणका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट टोली आईरहेको प्रहरीले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्जसंग जोडिएर रहेको टीकापुर नगरपालिकामा बाघ आतंक भएको यो पहिलो घटना हो ।
टीकापुर नगरपालिकाका प्रमुखको निवासदेखि एक सय मिटर दूरीमा बाघ लुकेर बसेको छ । अहिले उक्त क्षेत्रमा आवागमन निषेध गरेर नेपाल प्रहरी र सशस्त्र प्रहरीले बाघलाई घेरा हालेर सुरक्षा दिइरहेको बताइएको छ ।



लाेकपाटी न्यूज

