काठमाडौंकाे जाम हटाउन जापानकाे अध्ययन सुरु

65
लाेकपाटी न्यूज

काठमाडौं, २३ फागुन । काठमाडौं उपत्यकामा हुने गरेको ट्राफिक जामलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर जापानले अध्ययन शुरु गरेको छ । राजधानीको त्रिपुरेश्वर, बानेश्वर र कोटेश्वरमा अत्याधिक जाम पर्ने भएकोले सो जाम कसरी हटाउन सकिन्छ भन्नेबारे जापानले अध्ययन थालेको हो ।

एक महिना नेपाल आएको जापानी टोलीले यी तीन ठाउँमा जाम हटाउन फ्लाई ओभर र अण्डरपास बनाउने विषयमा अध्ययन गरिरहेको बताइएको छ ।

त्यसमध्ये त्रिपुरेश्वरमा भने अन्डर पासभन्दा फ्लाइओभर उत्तम विकल्प भएको जापानी अध्ययनले देखाएको छ ।

‘त्रिपुरेश्वरमा अन्डरपास बनाउन सकिन्न, फ्लाइओभर नै बनाउनु पर्छ । बानेश्वर र कोटेश्वरमा के बनाउँदा सहज र सस्तो हुन्छ भन्नेमा उहाँहरू अध्ययन गरिरहनु भएको छ, ’ सडक विभागको विकास सहायता समन्वय महाशाखाका प्रमुख केशव शर्माले भने, ‘अध्ययन लगभग सकिएको छ । उहाँहरू रिपोर्ट बनाउने क्रममा हुनुहुन्छ ।’

यो सम्भाव्यता अध्ययनको खर्च जापान सरकार आफैंले व्यहोरेको जनाइएको छ ।

जापानी अध्ययन टोलीले त्रिपुरेश्वर, बानेश्वर र कोटेश्वरमा नयाँ संरचना बनाउन लाग्ने पैसाको बारेमा अर्थ मन्त्रालयसँग पनि प्रारम्भिक छलफल गरिरहेको छ ।

जापानी अधिकारीहरूले तीन ठाउँमा बनाउने संरचनाको सामान्य स्केच लिएर मन्त्रालयसँग छलफल गरेका थिए ।

सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन आएपछि विस्तृत परियोजना अध्ययन हुने बताइएको छ । त्यसपछि नयाँ संरचना बनाउन लाग्ने मूल्य निर्धारण हुनेछ ।

‘यी परियोजनाहरूको विस्तृत अध्ययन आएपछि लगानी कति हुने र कुन मोडलमा जापानले लगानी गर्ने भन्ने टुंगो लाग्छ,’ शर्माले भने ।

सरकारले चालु आर्थिक वर्षको बजेटमै कोटेश्वरलगायत देशभरका ६ ठाउँमा सुरूङको डिपिआर बनाउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्