भन्सार कार्यालयका दुई कर्मचारी घुससहित पक्राउ

arrest
लाेकपाटी न्यूज

नेपालगञ्ज, २२ फागुन । नेपालगञ्जका सरकारी कार्यालयका दुई कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरुलाई रु ८७ हजार घुससहित पक्राउ गरेको हो ।

नेपालगञ्जस्थित आयोगको कार्यालयले मङ्गलबार साँझ बाँकेका दुई सरकारी कार्यालयमा छापा मारेर उनीहरुलाई घुससहित नियन्त्रणमा लिएको हो । अख्तियारका नेपालगञ्ज कार्यालयका प्रमुख गणेश गैरले विशेष सूचनाका आधारमा नेपालगञ्ज भन्सार कार्यालयका नायबसुब्बा लक्ष्मण चन्दलाई रु ५२ हजार र आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, बाँकेका कार्यालय प्रमुख तथा खाद्य अनुसन्धान अधिकृत विनोदकुमार श्रीवास्तवलाई रु ३५ हजार घुससहित रङ्गेहात नियन्त्रणमा लिएको जानकारी दिए ।

नेपालगञ्ज भन्सार कार्यालयका नासु चन्द आयात हुने सामानको सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट रु ५२ हजार घुस लिएको अवस्थामा र आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, बाँकेका प्रमुख श्रीवास्तव गुणस्तर प्रमाणीकरण गरिदिएवापत सेवाग्राहीको काम सम्पन्न भएपछि रु ३५ हजार घुस लिँदै गर्दा पक्राउ परे ।

यसैगरी, अख्तियारले मङ्गलबार नै यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा छापामारी त्यहाँबाट केही कागजात नियन्त्रणमा लिएको प्रमुख गैरले जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्