हसिँया–हथौडाको झण्डा देखाएर लुट्नेलाई छोड्दैनौं : प्रधानमन्त्री

K.P. Sharma Oli
लाेकपाटी न्यूज

भद्रपुर, २१ फागुन । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले मुलुकमा क्रियाशील सबै कम्युनिष्ट शक्तिलाई एउटै पार्टीमा गोलबद्ध हुन आह्वान गरेका छन्।

इलाम विद्रोहका पाँच शहीदको स्मृतिमा आज झापाको शहीदभूमि सुखानीमा आयोजित श्रद्धाञ्जलि सभामा प्रधानमन्त्रीले सुखानीमा सहादत प्राप्त गरेका शहीदले मुलुकमा फुटेर होइन, जुटेर समाज रुपान्तरणका लागि लाग्ने एकीकृत कम्युनिष्टको सपना देखेको बताए।

उनले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द) बीचको एकीकरण शहीदको सपना साकार पार्ने एउटा महान् प्रक्रिया भएको उल्लेख गर्दै जनताको हितका लागि साँचो अर्थमा क्रियाशील अरू कम्युनिष्ट पार्टीसमेत एकीकरण प्रक्रियामा आउनुपर्ने बताए ।

“नेपालको लोकतान्त्रिक एवं वामपन्थी आन्दोलनको इतिहासमा बेग्लै र असाधारण महत्व भएको फागुन २१ का दिनले टुक्रिएको र छरिएको कम्युनिष्ट आन्दोलनलाई जोडेर मजबुत पार्टी बनाउन प्रेरणा दिएको छ”, प्रधानमन्त्री ओलीले कम्युनिष्ट एकीकरणको आह्वान गर्दै भने, “आउनुहोस्, शहीदका सपना साकार पार्न सबै कम्युनिष्टको अब एउटै पार्टी बनाऔँ, यसमा केपी ओली र प्रचण्डको कुनै सङ्कीर्णता छैन ।”

वि.सं. २०२९ फागुन २१ गते झापा विद्रोहका योद्धाहरु रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुइँकेललाई पञ्चायती शासकले चन्द्रगढी कारागारबाट इलाम जेल सार्ने निहुँमा सुखानीको जङ्गलमा लगेर गोली हानी हत्या गरेको घटनालाई १९९४ सालमा चार शहीदलाई राणा शासकले फाँसीको सजाय दिएको घटनासँग तुलना गर्दै प्रधानमन्त्री ओलीले सुखानीका शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि एवं उनीहरुको परिवारका सदस्यमा समवेदना व्यक्त गरेका छन् ।

सुखानीका शहीदलाई ‘पहिलो गणतन्त्रवादी शहीद’को सङ्ज्ञा दिँदै उनले सुखानीका शहीदले देखेको सपना साकार तुल्याउन वर्तमान सरकार जनमुखी विकासका कार्य गर्दै अघि बढिरहेको बताए। हँसिया हथौडाको झण्डा देखाएर कतिपय लुटपाटमा संलग्न भइरहेको बताउँदै उनले उनीहरु साँचो कम्युनिष्ट हुन नसक्ने र जनतामा चन्दा आतङ्क र हिंसाको त्रास सिर्जना गर्ने जोसुकैलाई नियन्त्रण गरिने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्