काठमाडौं, २१ फागुन । मंगलबार पूर्वसांसद गणेश पण्डितको निधन भएको छ । ७० वर्षीय पण्डितको उपचारका क्रममा निधन भएको हो ।
हृदयाघात भएपछि उनलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको थियो । उपचारका क्रममै दिउँसो २ बजे पण्डीतको निधन भएको प्रदेश सांसद केशव पाण्डेले जानकारी दिए ।
विसं २०४८ को निर्वाचनमा उनी नुवाकोट २ बाट तत्कालीन नेकपा ‘एमाले’बाट निर्वाचित भएका थिए । विसं २०५६ को निर्वाचनमा उनी नुवाकोटबाट तत्कालीन नेकपा ‘माले’बाट उम्मेदवार बनेका थिए ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको केन्द्रीय उपाध्यक्षसमेत रहेका पण्डित २०४२ सालका बमकाण्डमा गिरफ्तारमा परेका थिए । उनी झण्डै आठ महीना प्रहरी हिरासतमा रहे । तत्कालीन राष्ट्रिय पञ्चायात सदस्यमा समेत उनी नुवाकोटबाट उम्मेवार बनेका थिए । काठमाडौंको वसुन्धरामा बस्दै आएका पण्डितका दुई छोरा, तीन छोरी र श्रीमती छन् । पछिल्लो समय उनी पार्टीमा निष्क्रिय रहेका थिए ।



लाेकपाटी न्यूज

