छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनकाे मृत्यु

death
सांकेतिक तस्वीर
लाेकपाटी न्यूज

काठमाडौं, २१ फागुन । काठमाडाैं, रामेछाप र नवलपरासी (पश्चिम)मा भएका छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–१५ छाउनीस्थित सडकमा बा.८७ प ३५३ नम्बरको स्कुटर मंगलबार बिहान आफै अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किँदा गम्भीर घाइते भएका स्कुटरमा सवार काठमाडौं बस्ने २२ वर्षीय सुजन श्रेष्ठको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका स्कुटरमा सवार काभ्रे घर भएका २१ वर्षीय दिपेन्द्र मग्रातीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै रामेछापको मन्थली नगरपालिका–१ आकाशे पुल नजिक मन्थलीबाट मालुखोलातर्फ जाँदै गरेको बा.१ ज ९९०१ नम्बरको माइक्रोबस सडकबाट अन्दाजी १ सय मिटर तल खसेर सोमबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका माईक्रोबसमा सवार मुस्ताङ थसाङ गाउँपालिका–४ घासा बस्ने अन्दाजी ४६ वर्षीय रामप्रसाद तुलाचनको सामुदायिक अस्पताल मन्थलीमा उपचारको क्रममा मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएकी सोही माईक्रोबसमा सवार मन्थली नगरपालिका–२ बस्ने २५ वर्षीया अन्जना खड्काको सामुदायिक अस्पताल मन्थलीमा उपचार पश्चात थप उपचारको लागि ग्राण्डी अस्पताल काठमाडौं रिफर गरिएको छ ।

माइक्रोबस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका–१६ बकेनवा चोकस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट सोही नगरपालिका बस्ने सन्तोष ठाकुरकी ५ वर्षीया छोरी अमृता ठाकुरको मंगलबार बिहान मृत्यु भएको छ ।

बाटोको छेउमा खेलिरहेकी अमृतालाई उक्त सवारी साधनले ठक्कर दिँदा गम्भीर घाइते भई उपचारको लागि भैरहवा मेडिकल कलेज रुपन्देही लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्