विप्लव माओवादीका ३७५ पक्राउ

Netra-Bikram-ChandBiplav
लाेकपाटी न्यूज

काठमाडौँ, २० फागुन । नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका ३७५ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ। प्रहरीले विभिन्न घटनामा संलग्न रहेको भन्दै गत वैशाखदेखि फागुनसम्म उक्त सङ्ख्यामा पक्राउ गरेको हो।

फागुनमा पक्राउ पर्नेमा ३३ पुरुष र चार महिला छन्। फागुनमा पक्राउ परेकामध्ये धनकुटाबाट दुई, प्युठानबाट एक, झापाबाट दुई, सर्लाहीबाट तीन, पर्साबाट तीन, अछाम, मोरङ, ललितपुर, सुनसरी र तेह्रथुमबाट एक एक, इलामबाट पाँच र सिन्धुपाल्चोकबाट १७ रहेका छन्।

पक्राउ परेकासँग प्रहरीले चन्दा सङ्कलनको लेटरप्याड, सरकार विरुद्धका पर्चा पम्पेट, सैन्य तालिम गराउने दस्तावेजलगायतका सामाग्री बरामद गरेको छ । प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले राज्य विरुद्धका गतिविधि गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए।

“पक्राउ परेकामध्ये केहीलार्य अनुसन्धान गरेर छाडेका छौँ र केहीलाई विभिन्न कसुरअन्तर्गत मुद्दा चलाएका छौँ”, उनले भने। एनसेलमाथि आक्रमणपछि सरकारले विप्लव समूहमाथि निगरानी बढाएको छ।

सोमबार दिउँसो नेकपाका अध्यक्ष प्रचण्डले विप्लव समूहका गतिविधि अतिवादतिर उद्दत भइरहेको बताए। प्रचण्डले विप्लवका गतिविधि राजनीतिक र प्रशासनिक हिसाबले पनि हल गरिने बताएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्