काठमाडौं १९ फागुन । भोलि सोमबार लाग्ने शिवरात्रि मेलामा पशुपतिनाथका दर्शनार्थीलाई सहज बनाउन विभिन्न धार्मिक सामाजिक संस्था तथा सेवा प्रदायक सरकारी एवं गैरसरकारी निकायबाट पाँच हजार स्वयंसेवक परिचालन हुने भएका छन् ।
दर्शनमा आउने जानेलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीले विभिन्न रुटको व्यवस्थापन गरेको जानकारी दिएको छ ।
ट्राफिक प्रहरीका अनुसार पार्किङ तथा ट्राफिक व्यवस्थापनका लागि तिलगङ्गातर्फ एक, पशुपति क्षेत्र विकास कोषको कार्यलयमा एक, महानगरीय प्रहरी वृत्त र ट्राफिक प्रहरी प्रभाग, गौशाला एक, सिफल एक र गुहेश्वरी पारि एक गरी पाँच स्थानमा पार्किङको व्यवस्था मिलाइएको महानगरीय ट्राफिक महाशाखा, रामशाहपथले जनाएको छ ।
त्यस्तै एअरपोर्ट, गौशाला, चाबहिल चक्रपथमा दर्शनार्थीको चापलाई ध्यानमा राखी एकातर्फी सवारी गुड्न दिने व्यवस्थासमेत मिलाइएको छ ।
पशुपतिनाथ दर्शनका लागि जाने भक्तजनका लागि चारवटै ढोका खोलिने भएको छ । कोषकाअनुसार मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणमूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट दुई लाम, जयबागेश्वरी–इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट पश्चिम ढोकाबाट एक लाम, बत्तीसपुतली, गौशाला तथा एअरपोर्ट गौशाला भएर पिङ्गलास्थान–सुमार्गी भवन अगाडि–चार शिवालय पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट दुई लाम गरी बाहिरी रुपमा तीन स्थानबाट दर्शन गर्नेका लाम रहनेछन् ।
त्यस्तै तिलगङ्गा राममन्दिरतर्फ समेत आवश्यकतानुसार एक लाम राख्न सकिने जनाइएको छ । नित्य दर्शनार्थीका लागि बिहान ७ बजेभित्र भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
नेपाल प्रहरीको अगुवाइमा सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका समेत सुरक्षाकर्मी शिवरात्रि मेला अवधिभर परिचालन गरिने भएको छ । भक्तजनलाई हुन सक्ने आकस्मिक स्वास्थ्य सेवाका लागि पशुपतिनाथको मन्दिर नजीक हुने गरी मुख्य क्षेत्रमा चिकित्सक, परिचारिका, औषधि र शय्यासहितको नेपाली सेनाको मूल स्वास्थ्य शिविर सञ्चालन गरिने छ । एम्बुलेन्स कुनै बेला पनि रहने गरी स्वास्थ्यसँग सम्बन्धित करीब ५० संस्थाले सेवा प्रदान गर्नेछन् ।
पार्किङ व्यवस्थापन
ट्राफिक प्रहरीका अनुसार तिलगंगामा दर्शनार्थी, तीर्थयात्री र विदेशी पर्यटकले पार्किङ गर्ने व्यवस्था मिलाइएको छ । त्यस्तै देवुद्धास्थित कोषको कार्यालयमा कोषका सवारी साधन तथा सेवाप्रदायक संस्थानका साधनलाई पार्किङको व्यवस्था मिलाइएको छ । त्यस्तै सिफल चौरमा स्थानीय दर्शनार्थीका सवारी साधन पार्किङ गर्न सकिने छ । त्यसै गरि गुहेश्वरी पारी बागमती कोरिडोर र जोरपाटी कोरिडोरबाट चाबहिल हँुदै आउने सवारी साधन पार्किङ गर्न सकिने छ ।
सवारी मार्ग
सिफल चौरमा पार्किङ गर्न सानो गौचरण, कालोपुल हुदै जानु पर्ने छ भने तिलगंगामा पार्किङ गर्न तिनकुने, सिनामंगल हुदै तिलगंगा जानु पर्ने ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
सार्वजनिक बस तथा माइक्रोबस स्
पुरानो बस पार्क, भद्रकाली, सिंहदरबार, माइतीघर, नयाँ बानेश्वर, तिनकुने, सिनामंगल हुदै तिलगंगा सम्म पुग्ने र सोहि मार्ग भएर फर्किनु पर्ने छ । त्यस्तै कालोपुल कपन चल्ने सवारी साधनहरु खानि बिभाग, लाजिम्पाट हँुदै महाराजगन्जको बाटो चल्ने भएका छन् ।
त्यस्तै पुरानो बसपार्क, भद्रकाली, नागस्थान, भोटाहिटी, जमल, केशर महल, खानि बिभाग, लाजिम्पाट, नारायणगोपाल चोक, चाबहिल, बौद्ध, जोरपाटी, साँखुसम्म पुग्ने र सोहि मार्ग हुदै जमल पुगे पश्चात महेन्द्र सालिक तीनधारा पाढ़शाला हुदै पुरानो बसपार्क जानु पर्ने ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
सवारी प्रवेश निषेध
चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर–मैतीदेवी मोडबाट रातोपुल हुदै गौशालातर्फ, द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जयबागेश्वरीतर्फ, लामा पोखरी कुटुवाहालबाट मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुण्डतथा मित्रपार्कतर्फ, तिलगंगाबाट गौशालातर्फ, मालबाहक सवारी साधनहरु तीनकुनेबाट सिनामंगल, तिलगंगातर्फ, जोरपाटी नारायणटारबाट करिडोर बाटो हुदै आउने मालबाहक सवारी साधनहरु गौरीघाट तर्फ प्रवेश गर्न नपाउने ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै ट्राफिक प्रहरीले मालबाहक सवारी साधनहरु उल्लेखित प्रवेश निषेध गरिएका रुट अगाडी शिवरात्रि मेला अवधिभर प्रवेश गर्न नपाउने जानकारी दिएको छ ।
दर्शन मार्ग
मित्रपार्क तथा गौरीघाटबाट उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट एक÷एक गरी दुई, जयवागेश्वरी–इट्टापाखा–भुवनेश्वरी अघिको सानो फलामे ढोका हुँदै पश्चिम प्रवेशद्वारबाट एक, बत्तीसपुतली, गौशाला तथा विमानस्थल गौशाला भएर पिङ्गलास्थान–सुमार्गी भवन–चारशिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट एक(एक गरी दुई लाइनको व्यवस्था गरिएको छ ।
भक्तजनको भीड बढी भएमा तिलगङ्गा–राममन्दिरतिरबाट समेत एक लाइनको व्यवस्था गरिने छ । पशुपतिनाथका नियमित दर्शनार्थीले बिहान सात बजेअघि नै भुवनेश्वरी अघिको सानो फलामे ढोकाबाट प्रवेश गरी दर्शन गरिसक्नु पर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।



लाेकपाटी न्यूज

