प्रा.डा. शोभाकान्त लामिछाने/पार्थिव शरीरमा श्रद्धाका साथ अन्तिम पुष्पाञ्जलि अर्पणपशचात सम्झनाको गोरेटोबाट युवा नेता रवीन्द्र अधिकारीलाई यसरी स्मरण गरिरहेको छु।
नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसँग मेरो सुरुवाती चिनजान २०३७ सालमा भएको हो, जतिबेला म कक्षा ९ मा अध्ययन गर्दा उनी कक्षा ६ मा पढ्दथे। कास्कीको दक्षिण–पूर्वतर्फ अवस्थित तात्कालिन अवस्थामा चर्चित विद्याज्योतिको पहिचान बनाएको, श्री शान्ति उदय मावि, बरपाण्डेथुमबाट भएको हो। हामी दुईको विद्यालय आउने जाने पदमार्गको केही बाटो एउटै पर्दथ्यो, जसमा गुरु–चेलाहरुको प्रायः सँगै आवातजावत हुन्थ्यो।
आउने जाने क्रममा हामी सिनियर साथीहरु, गुरुहरुसँग विषयगत वा समसामयिक राजनीतिका बारेमा छलफल गरिरहँदा छोटो कदका एक भाइ फूर्तिसाथ फुत्त अघि आई निकै उत्सुकतापूर्वक कुराहरु सुन्ने र तत्सम्बन्धि आप्mना जिज्ञासा राख्थे। जिज्ञासा राख्न नहिच्किचाउने स्वभावका उनी थिए भाइ रवीन्द्र अधिकारी। यही स्वाभावका कारण विद्यालयमा भइरहने पूर्व र पश्चिमबीचको टकरावलाई आधार बनाई उनीमा वाम राजनीतितर्फ आर्कषणको बिजारोपण र अंकुरण हामी लगायतका साथिहरुले गर्यौं।
तात्कालीन समयमा सेरोफेरोका पाँच, सात विद्यालयबाट आएका मेधावी विद्यार्थीहरुको खुवी प्रर्दशन गर्ने प्रतिस्पर्धाको स्थल थियो शान्ति उदय मा.वि.। यसर्थ, त्यहाँको कक्षाको फष्ट हुनु एउटा गर्व गर्नलायक विषय मात्र नभई भावी सम्भावना बोकेको उदयमान आशालाग्दो विद्यार्थीका रुपमा लिइन्थ्यो। यसै क्रममा विद्यालयको खाली समय वा आपसी भेटमा कुराकानीका विषयवस्तुमध्ये उनको एक जिज्ञासा हुने गर्दथ्यो, ‘कसरी फष्ट हुन सकिन्छ दाइ ? तरीका सिकाई दिनुस् न।’ उनको त्यो बाल मष्तिस्कको आवेग उही ‘ट्युनिङ‘ र ‘इन्टेनसिटी’ मेरो सम्झनामा अझै ताजा नै छ।
विद्यालय जीवनका यस्ता घटनाक्रमबाट सुरु भएको हाम्रो मित्रता जीवनका घुम्तीसँगै विभिन्न फरकफरक हैसियतमा श्रृङ्खलाबद्ध रुपमा मौलाउँदै गयो। पछिल्लो हाम्रो भेट २०७५ सालको फाल्गुण १२ गते शिक्षा दिवसको संयोगमा श्री भविष्य निर्माण मा.वि. कृस्तीको ६६ औं वार्षिकोत्सव तथा अविभावक दिवस समारोह भयो। जीवनको यही भेट नै अन्तिम होला भन्ने मेरो कल्पनासम्म थिएन। यस बीचमा म उनलाई यसरी सम्झिरहेको छु।
सरल र सरस स्वाभावका पर्याय रवीन्द्रमा वाम इतर र भितर सबैका सुख दःुखका कुरा अभिमानरहित ढंगले धैर्यतासाथ सुन्नसक्ने र सहयोग गर्न तयार रहने भएकाले सबैको आँखाका नानी बन्न सके।
सुरुवाती विद्यार्थी जीवनकालदेखि नै ‘विकासका लागि राजनीति’ भन्ने मान्यतालाई आत्मसात गर्दै सपना देख्ने युवाहरु सिर्जनात्मक कामद्धारा चुनौतिको सामना गर्न तयार हुनुपर्ने सन्देश प्रवाहीकरणमा उनी यसरी अग्रणी बन्दै आए कि उनी आफूले आफ्नै कार्यशैलीमा परिणाममूखी परीक्षण गर्दै एकपछि अर्को क्रमवद्ध सफलता हासिल गर्दै अगाडि बढिरहे, जसले उनलाई आशलाग्दो जुझारु युवा नेताका रुपमा स्थापित गर्यो।
बक्राकार जीवनको गोरेटोमा कार्यसम्पादन गर्ने सिलसिलामा हिलो छ्यापाछ्यापको आरोप प्रत्यारोपको पछि उनी लागेनन्। रवीन्द्र अबिचलित ढंगले कटिवद्ध भई कामबाटै हरेक प्रश्नको उत्तर दिने अभ्यासमा जुटिरहे, जसले उनलाई एउटा परिपक्व युवा नेताको दर्जामा उभ्याउन सक्यो।
संविधान सभा निर्वाचनमा पार्टीबाट उम्मेदवारको टिकट पाइसकेपछि रवीन्द्रले आफ्नो चुनावी प्रचारको सुरुवात त्यस भेगमा नेकपाका संस्थापक एवं अग्रज स्व. कमरेड उमाकान्त लामिछानेको हातबाट टीका र आशिर्वाद लिएर गरेका थिए। चुनावी अभियानलाई विजयमा रुपान्तरित गराउन सक्नुबाट उनको आदरणीय एवं अग्रज व्यक्तिप्रतिको सम्मानभाव एवं सभ्य राजनीतिक संस्कारको पुष्टि हुन्थ्यो। उनको अनुकरणीय अभ्यास, राजनीतिकर्मीका लागि पे्ररणदायी बनिरह्यो।
यसरी, मातृभमिको सेवामा एक पृथक तर प्रशंसनीय पहिचान बनाउन सफल भएका हाम्रा भाइ, विद्यालयमा कक्षा फष्टको सपनाबाट माथि उठ्दै अग्रगामी समाज रुपान्तरणमा यात्रामा देशमै उत्कृष्ट बन्न सके। तर, उनकाे परिपक्वता, दूरदृष्टि र विकासप्रतिको प्यास लामो समय टिक्न सकेन, अल्पायूमै निधन भयो। भाइ रवीन्द्र, अन्तिम श्रद्धाञ्जली एवं अलविदा।



लाेकपाटी न्यूज

