हेटौंडा, १८ फागुन । नेपालमा आठ लाख हेक्टर कृषियोग्य जमीन सिँचाइबाट वञ्चित रहेको पाइएको छ । नेपालको २२ लाख ६५ हजार ४७९ हेक्टर जमीन सिँचाइयोग्य भए पनि हालसम्म १४ लाख ५४ हजार ६१७ हेक्टर जमीन सिँचाइ भइरहेको सरकारी तथ्याङ्कले देखाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा तयार पारिएको सिँचाई गुरुयोजना, २०७५ मा सिँचाइ समस्याबारे उल्लेख गरिएको छ ।
सिँचाइविज्ञ शिवकुमार शर्माद्वारा तयार पारिएको उक्त गुरुयोजनामा प्रस्तुत तथ्याङ्कमा भूमिगत जलस्रोतबाट चार लाख ९३ हजार ८४१, विभिन्न कुवा, नहर नदीका स्रोतबाट ९ लाख ६० हजार ७७६ हेक्टर जमीनमा सिँचाइ हुने गरेको उल्लेख छ । सिँचाई समस्या समाधानका लागि उक्त गुरुयोजनामा जलधारको वर्गीकरणसमेत गरिएको छ । वर्गीकरणमा कर्णाली, नारायणी र कोशी क्षेत्रलाई सिँचाइको जलाधारको रुपमा समेटिएको छ ।
उक्त गुरुयोजनामा सिँचाइ विकासको अवधारणालाई समेत समेटिएको छ । उक्त अवधारणामा विद्यमान सिँचाइ प्रणालीको सबलीकरण, आधुनिकीकरण एवं व्यवस्थापन सुधार र सिञ्चित क्षेत्रको विस्तार उपलब्ध प्रविधिको अत्याधिक प्रयोग गरिनुपर्ने बताइएको छ ।
गुरुयोजनाअनुसार हाल नेपालमा पाँचवटा निर्माणाधीन बृहत् योजना छन् । महाकाली सिँचाइ योजना तेस्रो चरण, रानी जमरा गुलरिया सिँचाइ योजना, बबई सिँचाइ योजना, सिक्टा सिँचाइ योजना तथा वड्कापथ सिँचाइ योजनालाई बृहत् योजनाका रुपमा समावेश गरिएको छ । सो गुरुयोजनाका बारेमा प्रदेशस्तरमा पनि छलफल एवं परामर्शको कार्य गरिएको छ ।



लाेकपाटी न्यूज

