‘रवीन्द्रजी, तपाईमा मदन भण्डारीको गुण थियो’

Bhim Gautam
लाेकपाटी न्यूज

भीम गौतम

रवीन्द्र अधिकारीजीसित मेरो पहिलो भेट २०४६ साल आश्विन ३ गते वन विज्ञान अध्ययन संस्थान पोखरामा भएको हो । भर्खरै एसएलसी पास गरेर अध्ययनको शिलशिलामा पोखरा पुगेको मैले पहिलो राजनीतिक अनुभव सिक्ने मौका पाएँ । हुन त दाजु पारस गौतम र अन्य अग्रजहरु राजनीतिमा तत्कालीन अवस्थामा भूमिगत रुपमै भएपनि संगठित हुनुहुँदो रहेछ भन्ने हेक्का मलाई पोखरा पुगेपछि थाहा भयो ।

जानेर नजानेर म तत्कालीन अनेरास्ववियु पाँचौँमा आवद्ध भएँ र २०४६ सालको आन्दोलना होमिएँ । दिनभर कलेजका मण्डले भन्ने साथीहरुसित र रातभर वाम प्रजातान्त्रिक साथीहरुसित पर्चा बाँड्ने काममा व्यस्त भइयो । ४६ सालको आन्दोलनले बहुदलीय व्यवस्था स्थापना गर्‍यो र हामी स्वतन्त्र भयौँ । पछि रवीन्द्रजी र झलक सुवेदी, ‘म दाइ भन्छु’को संगतमा तत्कालीन नेकपा माले क्याम्पस पार्टी सक्रिय दलको सदस्य हुन पुगें । हामी फरेष्ट्रीवालालाई कुनै समस्या परेमा पिएन क्याम्पसको स्ववियुको नम्वर २०५१२ कण्ठस्थ हुन्थ्यो, त्यो यात्रा बीचमा हरायो । म चितवनतिर बि.ए., बि.एड. पढ्न गएँ ।

फेरि २०५३ सालमा हाम्रो भेट त्रिवि किर्तिपुरमा भयो । जतिबेला म अनेरास्ववियु शिक्षाशास्त्र संकायको सचिव थिए । रवीन्द्रजीलाई सभापतिमा जिताइयो । समय क्रममा मैले राजनीति छोडेर अध्ययन अध्यापनलाई निरन्तरता दिएँ । रविन्द्रजी सामाजिक कार्यकर्ता हुँदै अघि बढ्नुभयो । म एम.एड.पछि एम.ए. भाषा विज्ञान (स्वर्णपदक) मा गरेर त्रिविमै कार्यरत रहेँ भने उहाँले माले एमाले नेकपा हुँदै देशको पर्यटनमन्त्री बन्ने अवसर प्राप्त गर्नुभयो ।

म भाषा र भाषा विज्ञानमा आफ्नो अध्ययन अनुसन्धानलाई बढी केन्द्रित भएका कारण अरु कुराहरुमा महत्व दिन छोडेको थिएँ । गत हप्ता मात्र नेपाल प्रज्ञा प्रतिस्ठानको एउटा कार्यक्रम, जुन अन्तर्राष्ट्रिय मातृ भाषा दिवसको उपलक्ष्यमा आयोजित थियो, त्यसमा उहाँलाई भेट्ने अवसर मिल्यो । ‘दाइबाट के छ भीम नयाँ खबर ?’ भन्ने हसिलो आवाजले मलाई फेरि त्यही २०४५ सालको याद आयो । मैले छोटो समयमा उहाँलाई त्यो दिन भाषासँग सम्बन्धित कुरालाई अत्यन्त सजिलो तरीकाले गरेको टिप्पणीमा धन्यवाद दिने अवसर मिल्यो । उहाँले भाषण गरिसकेपछि मेरो गुरु प्रा.डा. नोवल किसोर राईले मलाई सोध्नुभएको थियो, ‘भीम भाइ, तपाईका नेताको विषय के हो ?’ मैले भनें, ‘सर उहाँ त अर्थशास्त्र र व्यवस्थापनको विद्यार्थी हो ।’ पछि नोवल सरले कार्यपत्रको टिप्पणी गर्दा रवीन्द्रजीको तारिफ गर्नुभो, खुशी लाग्यो ।

आज त्यही प्यारो रवीन्द्रको बारेमा २/४ शब्द कोर्न मेरा औंलाहरु कापेका छन् । थोरै भौतिक गैरअध्यात्मिक मजस्तो साधारण व्यक्तिलाई रवीन्द्रजस्तो महान आत्मालाई किन चुडाएर लग्यौ भन्ने अनायास गुञ्जन मेरो आत्माबाट आइरहेको छ । रवीन्द्र तपाई नेपाली राजनीतिक धरातलमा मदन भण्डारीपछिको एउटा अत्यन्तै लोकप्रिय नेता, साथी र सहयोद्धा भएर जानुभो । धेरै कुराहरु छोडेर जानुभो । हामी हजुरको सहज स्वर्गवासको कामना गर्दै बाँकी जीवन सकारात्मक दिशामा व्यतीत गर्ने प्रण गछौँ । अल विदा प्यारो कमरेड, अलविदा !

(लेखक गौतम त्रिभूवन विश्वविद्यालय, किर्तिपुरमा भाषा विषयमा प्राध्यापन गर्छन्।)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्