दिनभरि झरीको मौसम, करीब बाह्र बजेतिर लखन चोक थिएँ। कामै डुल्ने, झरी परे पनि घाम लागे पनि। साथी खेमराज बरालसँगै हुनुहुन्थ्यो। उहाँलाई म्याडमको फोन आयो। माननीय रवीन्द्र अधिकारी लगायत पाँच जना सवार भएको भएको हेलिकप्टर ताप्लेजुङमा सम्पर्कविहीन। खेमजीले भन्नुभयो, ‘राम्रो मान्छेको आयु छोटो नै हुँदोरहेछ, हाम्रा मन्त्रीलाई पनि ताप्लेजुङको आकाशले खाने भयो। पहिले पनि त्यही आकाशले हर्क गुरुङ लगायत थुप्रै संरक्षणविदहरुलाई खाएको थियो।’
मनमा धेरै कुरा खेल्न थाल्यो, उकुसमुकुस भएर आयो। खेमजीको कुरा सुनी मात्रै रहें। केही बोलिनँ, बोल्न सक्ने अवस्था पनि थिएन। तत्कालै फेसबुक हेरें। फेसबुकका भित्ताभरि ‘सुनेका कुराहरु झुटा होउन्, सबै जना सकुशल रहेको खबर सुन्न पाइयोस्’ भन्ने वाक्यहरु थिए। सबै जना शुभखबरको प्रतीक्षामा थिए। केही वैचारिक चेत नभएका मण्डलेहरुले नकारात्मक टिप्पणी पनि गरेका थिए।
के गरौं, कसो गरौं भयो। साथी रुपीन्द्र प्रभावीलाई फोन हानें, फोन उठेन। साथी सञ्जीव पौडेललाई फोन हानें, लाग्दै लागेन। अल्पज्ञानीलाई फोन हानें, सारै बेचैन रहेछ, केही बोल्नै सकेन। फोनमै रोलाजस्तो गर्यो। मित्र अर्जुन अधिकारीलाई फोन हानें, मित्र अर्जुन खुलेर बोल्नसक्ने अवस्थामा थिएन। उसले यत्ति मात्रै भन्यो, ‘सुरज हामीले दाइलाई गुमायौँ, अब दाइ हामीमाझ रहनुभएन। घोषणा हुन मात्रै बाँकी छ। केहीबेरमा सबै कुरा थाहा हुन्छ। बेलुका भेटौँला, अहिले मलाई बोल्न पनि मन लागेको छैन।’
फेसबुकका भित्ताहरु हेर्दाहेर्दै थुप्रै अनलाइनहरुले घटनाको पुष्टि गरे। रवीन्द्र दाइ लगायत सबै यात्रुहरुको दुखद निधन भएको समाचार आउन थाले। अब नपत्याई सुखै भएन। जे कुरा सुन्न मन थिएन, त्यही कुरा हावाको गतिमा फैलिइसकेको थियो। साथी रुपीन्द्रको फोन आयो। उसले भन्यो ‘साह्रै ठूलो क्षति भयो, कला साहित्य र संस्कृतिलाई साह्रै माया गर्ने नेता गुमायौं।’ उसको कुरा सुनी मात्रै रहें, फोनमा केही बोल्न सकिनँ। मनभरि विगत नाँच्न थाल्यो। एउटा जनप्रिय नेता गुमाउँदा नरमाइलो लाग्ने नै भयो। व्यक्तिगत रूपमा पनि नजिक भएको नेता गुमाउँदा आँखा आफै भरिएर आउँदो रहेछ।
वरिष्ठ प्रगतिवादी साहित्यकार घनश्याम ढकाललाई सडक दुर्घटनामा गुमाउँदा जुन पीडा महसुस भयो, आज त्यही पीडा बल्झिएर आयो। दिनैभरि झरी पर्यो। रवीन्द्र दाइको हसिलो अनुहार सम्झिएर दिन बिताएँ। चिया गफमा गफिन पनि मन लागेन। रवीन्द्र दाइलाई नकारात्मक टिप्पणी गर्नेहरुसँग पौठाजोरी खेल्न पनि मन लागेन। मानवीय संवेदना त नष्ट भएको रहेछ केही मित्रहरुमा। एक जनाले करीब पाँच बजेतिर फोन हान्यो र भन्यो, ‘तेरो नेतालाई त पाथीभरा माताले खाइन्, तँलाई कस्तो छ, तनावमा छस् होला’ भन्दै फोन राखें भन्यो। कुनै वैचारिक दृष्टिकोण नभएको हुतिहारालाई मैले केही भनिनँ, भन्न आवश्यक पनि थिएन।
यहाँ वैचारिक दृष्टिकोणमा अब्बल ठहरिनेहरुले अनावश्यक र नकारात्मक कुराहरु सामाजिक सञ्जालमा राख्न भ्याइसकेका थिए। विद्यार्थी आन्दोलनका जुझारु नेता रवीन्द्र दाइको बारेमा पछिल्लो समयमा जे–जस्ता टिप्पणी आए पनि मलाई मेरो बुबाले ‘रवीन्द्र असल विद्यार्थी नेता हो, यदि राजनीति गर्ने हो भने रवीन्द्रले जस्तो गर्नुपर्छ भन्नुहुन्थ्यो।’ मलाई बुबाको यो भनाइले निकै प्रभाव पारेको थियो। रवीन्द्र दाइलाई भेट्ने ईच्छा जागेको थियो। स्याङ्जाबाट जब पोखराको बसाई सुरु भयो, केही राजनीतिक र केही अन्य कार्यक्रममा पनि दाइसँग भेटघाट हुन थाल्यो। उहाँको भाषण सुन्ने अवसर मिल्यो। दोहोरो चिनजान पनि सामान्य तरीकाबाटै भयो।
उहाँको स्मरण शक्ति देखेर म छक्क पर्थें। एक दिन बाटोमा पैदल हिंड्दै थिए, ‘ओ कविजी, कता हो आउनुस्, म छोड्दिन्छु’ भन्ने आवाजले म झस्किएँ। मलाई उहाँले बोलाउनुभएको थियो। म हल्लनचोक जानलाई पैदल हिंड्दै थिएँ। मलाई हल्लनचोक पुर्याएर फर्किनुभएको क्षण कहिल्यै भुल्न सक्दिनँ।
प्रतिनिधि सभाको चुनावमा उहाँ विजयी भएपछि आफ्ना मतदातासँग खुसी साट्न बाजागाजासहित आउनुभयो, सिर्जनाचोकदेखि केहीमाथि मेरो पनि डेरा थियो। म पनि कोठाबाट निस्केर रमाइलो हेरिरहेको थिएँ। सबैलाई नमस्कार गर्दै हामी बसेको ठाउँसम्म आउनुभयो। मलाई अङ्गालो हालेर धाप मार्नुभयो, अनि भन्नुभयो, ‘के छ ? चील उड्यो आकाशमा बालगीत लेख्न नछोड्नु है। मलाई तिम्रा बालगीत खुबै मनपर्छ।’ यत्ति भनेर उहाँ सरासर जानुभयो। मलाई ठूलै पुरस्कार पाएजस्तो लाग्यो। गर्वले छाती ढक्क फुल्यो। मेरा केही बालकविताहरु दाइले खुब मन पराउनुहुन्थ्यो। ‘लेख्नुपर्छ, छोड्नु हुन्न’ भन्नुहुन्थ्यो।
दाइसँग असहमतिका कुरा पनि नभएका होइनन्। संस्कृति मन्त्रालयबाट देशैभरिका कला–साहित्य र संस्कृति सम्बन्धि संस्थाहरुलाई अनुदान रकम छुट्याउँदा आफैंले स्थापना गर्न महत्त्वपूर्ण भूमिका निभाएको संस्था गण्डकी साहित्य सङ्गम पोखरालाई भुसुक्कै भुल्नुभयो। त्यो बेला रिस पनि उठेको थियो। आफ्नै संस्थालाई बिर्सिएको भनेर सामाजिक सञ्जालमा केही आलोचना मैले पनि गरेको थिएँ।
जे–होस्, सिङ्गो राष्ट्र र विशेषगरि गण्डकी प्रदेशले हजुरको योगदानलाई सधैं उच्च मूल्याङ्कन गर्ने नै छ। हामी सबै हजुरकै पदचापमा अघि बढ्नेछौं। धेरै कुरा लेख्न सकिनँ, अलविदा रवीन्द्र दाइ !



लाेकपाटी न्यूज

