नेकपाको सचिवालय बैठक सकियो

Nepal-Communist-Party
लाेकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक सकिएको छ। पर्यटनमन्त्री रवीन्द्र अधिकारीको दुर्घटनामा भएपछि नेकपाको आकस्मिक बैठक बसेको थियो।

बैठकले मन्त्री अधिकारी लगायत दिवंगत सबैमा श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवार र शुभेच्छुकहरुमा गहिरो समवेदना व्यक्त गरेको छ। बैठकले अधिकारी लगायतको निधनले सिङ्गो देश र पार्टीलाई अपुरणीय क्षति पुगेको निष्कर्ष निकालेको छ।

बैठकले मृतकका परिवारको आर्थिक अवस्थासमेतलाई विचार गरेर उपयुक्त निर्णय लिन नेपाल सरकारलाई सुझाव दिएको छ। मृतकहरुप्रति श्रद्धाञ्जली र अन्तेष्टिको तालिका बनाउने भनिए पनि सचिवालय बैठकले त्यसबारे भने कुनै निर्णय गरेन।

‘मौसम अहिले पनि खराब छ, उहाँहरुको शव काठमाडौं कतिबेला आइपुग्छ भन्ने ठेगान छैन’ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीसँग भने, ‘शव आएपछि पोष्टमार्टम हुन्छ, श्रद्धाञ्जलीका लागि टुंडिखेलमा राखिन्छ। तर, आज नै हामीले तालिका बनाउन सकेनौं।’

बैठकले मन्त्री अधिकारीको शव अन्तेष्टिका लागि पोखरा लगिने र अरु मृतकहरुको शव आ–आफ्नै ढंगले अन्तेष्टि गर्ने गरी परिवारको जिम्मा लगाउन उपयुक्त हुने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्