‘डोजर किनेर ठेक्कापट्टा गर्ने जनप्रतिनिधिलाई कार्वाही हुन्छ’

dojar thekedar
फाइल तस्बिर
लाेकपाटी न्यूज

काठमाडौं। स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु ठेक्कापट्टातिर लागेको जनगुनासो आइरहेका बेला प्रदेश नं.–३ का मुख्यमन्त्री डोरमणि पौडेलले डोजर किनेर ठेकेदारी गर्ने जनप्रतिनिधिलाई कारवाही गर्ने घोषणा बताएका छन्।

विदुर नगरपालिका–५ को वडा कार्यालय भवनको माझीटारमा उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले उक्त प्रतिवद्धता व्यक्त गरेका हुन्। उनले जनप्रतिनिधिले शपथ बिर्सिएर कमाउने उद्देश्यले जनताका काम छाडेर आफैँ डोजर किन्दै ठेकेदारी गर्न थालेको गुनासो आइरहेकाले यस्ता जनप्रतिनिधिलाई कारवाही गरिने बताए।

“जनताको काम गर्न आउनुभएका जनप्रतिनिधिले आफैंले डोजर किन्दै ठेकेदारी गर्नु गलत हो । कोही पहिले नै ठेकेदार रहेछन् भने पनि जनप्रतिनिधि भएपछि पूरानो पेशा छोड्नुपर्छ”, उनले भने, “जनप्रतिनिधि भएर ठेकेदारी गर्न नपाउने भएका कारण आगामी दिनमा पनि यस्तो गर्नेलाई प्रदेश सरकारले अब हटाएर छाड्छ ।”

मुख्यमन्त्री पौडेलले ठेकेदारी गर्ने कार्यमा स्थानीय तहका जनप्रतिनिधिहरु वडाध्यक्ष, उपाध्यक्ष, अध्यक्ष, उपप्रमुख, प्रमुखसमेत क्रियाशील भएको पाइएको बताए। मुख्यामन्त्री पौडेलले जनताका काम गर्न छाडेर विभिन्न बहानामा ठेकेदारी गर्नेलाई प्रदेश सरकारले उन्मुक्ति नदिने बताए।

कार्यक्रममा प्रदेशसभा सदस्य बद्री मैनाली, केशव पाण्डे, हिरानाथ खतिवडा र आशामाया तामाङले सङ्घीयताको आभास दिने आधार कार्यालय वडा कार्यालय भएकाले वडा कार्यालयले दिने सेवा र सुविधाहरु प्रभावकारी भए मात्र सङ्घीयताको वास्तविक अनुहार जनताले देख्न पाउने बताए।

विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जनताको काम छाडेर ठेकेदारी गर्दै हिँड्ने जनप्रतिनिधिलाई आफ्नो कर्तव्यअनुसारको काम गर्न सचेत गराइने र सचेत गराउँदा पनि नटेरेमा कारवाहीको प्रक्रिया थालिने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्