भक्तपुर, १४ फागुन । भक्तपुरको सुर्यविनायकलाई पनि पर्यटकीय गन्तव्यका रुपमा विकसित गरिने भएको छ । सूर्यविनायक नगरपालिकाको पर्यटकीय क्षेत्र रानीकोटबाट प्याराग्लाइडिङको परीक्षण उडान सफल भएसँगै व्यावसायिक रूपमा प्याराग्लाइडिङको उडान हुने भएपछि भक्तपुरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको हो ।
आगामी चैत पहिलो साताबाट आन्तरिक र बाह्य पर्यटकलाई लक्ष्य गरी प्याराग्लाइडिङको उडान भर्ने गरी पर्यटन मन्त्रालयसँग स्वीकृति लिई उडान भर्ने तयारी गरेको गुण्डु इन्टरनेसनल प्याराग्लाइडिङका अध्यक्ष निर्भयबाबु प्रसाईंले जानकारी दिएका छन् ।
सूर्यविनायकलाई पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्दै पर्यटक भित्र्याउने लक्ष्यकासाथ प्रतिनिधिसभा सदस्य महेश बस्नेतको पहलमा प्याराग्लाइडिङको उडान सञ्चालन हुने भएको हो ।
यसै सन्दर्भमा अध्यक्ष प्रसार्इंले भने, ‘भक्तपुरमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने लक्ष्यकासाथ प्याराग्लाइडिङ शुरु गर्न सांसद बस्नेतले हामीलाई आग्रह गर्नुभयो, उहाँले रानीकोटबाट उडाएर गुण्डुमा अवतरण गर्ने गरी प्याराग्लाइडिङको उडान भर्न सक्ने सुझाव दिएपछि हामीले लगानी ग¥यौँ, कानूनी प्रक्रिया पूरा गरेर चैत पहिलो सातासम्ममा प्याराग्लाइडिङको उडान शुरु गर्नेछाैँ ।’
प्याराग्लाइडिङ सञ्चालनका लागि करीब रु. तीन करोडको लगानी रहेको छ । गत शनिबार रानीकोटबाट परीक्षणका रुपमा आठ प्याराग्लाइडिङको उडान सफलतापूर्वक गुण्डुमा अवतरण गरिएकाले अब चैतदेखि नै उडान शुरु गर्ने गरी तयारी गरेको उनको भनाइ छ । सूर्यविनायक–८ को पर्यटकीयस्थल रानीकोटबाट उडाएर वडा नं ७ गुण्डु वडाकार्यालय नजिकै अवतरण गर्ने गरी प्याराग्लाइडिङ सञ्चालनको तयारी गरिएको छ । यसका लागि गुण्डुमा १५ रोपनी जग्गा भाडामा लिएको प्रसाईंले बताएका छन् । उनले भने, ‘सात प्याराग्लाइडिङबाट दैनिक ४० उडान भर्ने गरी तयारी गरिएको छ, रानीकोटबाट उडेको प्याराग्लाइडिङ गुण्डुमा अवतरण गराउनेछाैं आकाशमा ३० देखि ५० मिनेटसम्म उड्ने गरी व्यवस्थापन गरेका छाँै, यसको माग बढेमा थप गर्दै लैजाने छाैं ।’
प्याराग्लाइडिङबाट काठमाडौँ उपत्यकाको मनोरम दृश्य, काँठक्षेत्रका मनोरम दृश्य, हिमालका दृश्यावलोकन गर्न सकिन्छ भने पाइलटबाबा आश्रम, डोलेश्वर, अनन्तलिङ्गेश्वर मन्दिर, निर्माण हुँदै गरेको अन्तर्राष्ट्रिय चिडियाखानालगायतलाई नजिकबाट नियाल्न सकिन्छ ।
प्याराग्लाइडिङको सफल उडानसँगै घोडा दौड, साइकलिङमार्फत पर्यटकलाई आकर्षित पार्ने विभिन्न मनोरञ्जनात्मक खेल सञ्चालनमा ल्याउने तयारी छ । सांसद बस्नेतले भक्तपुरमा पर्यटनको विकास गर्न र सरकारले ल्याएको पर्यटन वर्ष २०२० सफल पार्न प्याराग्लाइडिङ सञ्चालनमा ल्याउन आफूले पहल गरेको बताए । उनले सूर्यविनायक नगरपालिका क्षेत्रमा प्रशस्त पर्यटकीय आकर्षणका गन्तव्य रहेकाले ती क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनाउन प्याराग्लाइडिङले महत्वपूर्ण सहयोग पु¥याउने बताए ।
‘रानीकोट र अनन्तलिङ्गेश्वर मन्दिरको डाँडामा भ्यूटावर बन्दैछ, यहाँ घरबासदेखि धार्मिक पर्यटकीय क्षेत्रको रुपमा समेत विकास गर्ने गरी अवधारणा र योजना अगाडि बढाएका छौँ, सूर्यविनायकलाई पर्यटकको आकर्षक गन्तव्यको केन्द्र बनाउँदैछौँ’, उनले भने ।
सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरक्षेत्रलाई पूर्वाधार विकास र पर्यटन विकासको वर्षको रुपमा अगाडि बढाइएको बताएका छन् । उनले नागरिकको आर्थिक अवस्था उकास्ने गरी पर्यटकीय गन्तव्य बनाउन नगरपालिकाले काम थालेको पनि बताए ।



लाेकपाटी न्यूज

