पश्चिम नवलपरासी, १३ फागुन । ऐतिहासिक मदारबाबा मेला शुरु भएको छ । महाशिवरात्री अर्थात फागुन २० गतेसम्म सञ्चालन हुने उक्त कुम्भ मेलामा भक्तजनको घुँईंचो लागेको छ । यस वर्ष कदश लाख भक्तजनले मेलको भ्रमण तथा अवलोकन गर्ने अनुमान गरिएको छ ।
मदारबाबा स्थान मुस्लिम समुदायको नेपालकै ठूलो र ऐतिहासिक स्थल हो । विशेषगरी मुस्लिम समुदायको धार्मिक स्थल भएपनि त्यहाँ हिन्दु, बौद्ध धर्मावलम्बीको पनि आगमन हुने गरेको छ । यो स्थान पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ महलबारीमा अवस्थित छ । प्रवेशद्धार त्यहाँ भएपनि मुख्य समाधिस्थल भने महलबारीबाट उत्तर नौ किलोमिटर मदारीडाँडामा पैदलयात्रा मार्फत पुग्न सकिन्छ ।
जिल्ला सदरमुकाम परासीबाट २७ किलोमिटर पुर्व तथा पुर्वपश्चिम राजमार्गको बर्दघाटदेखि २१ किलोमिटर पूर्वमा रहेको मदारथानमा हिन्दुहरुको पर्व शिवरात्री शुरु हुनुभन्दा एक हप्ता अघि देखि ठूलो मेला लाग्ने गर्दछ ।
यस वर्ष मदार शाह बाबाको ६०२ औँ वार्षिकी हो । त्यस स्थानमा नेपाल र भारतका गरी वार्षिक ५÷६ लाख भक्तजन आउने गर्दछन् । तर यस वर्ष करिब दश लाख भक्तजनले मेलाको अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ ।
मदारबाबाले थुप्रै मुलुकसहित नेपालको नवलपरासी र बुटवलस्थित फुलबारीपार्क क्षेत्रमा समेत तपस्या गरेको इतिहास पाइन्छ । यहाँ भाकल गर्नाले सन्तान नहुनेले सन्तान प्राप्त गर्छन् भन्ने जनविश्वास समेत रहेको छ ।
मदारथान(मदारबाबाको समाधिस्थल) पुग्न सुस्ता–२ महलवारीबाट करिब ३ देखि ४ घन्टाको पहाड चढेर जानुपर्दछ ।
मदारबाबाको पूरा नाम हजरत बदिउदिन कुतुबुल मदार शाह रहमतुल्ला अलैहे हो ।
मदारबाबाले उक्त स्थानमा दुई पटकसम्म ४०÷४० दिन तपस्या गर्नु भएको थियो । त्यहाँ पुग्ने दर्शनार्थीहरू रातभर जाग्राम बस्ने गर्छन् ।



लाेकपाटी न्यूज

