काठमाडौं, १३ फागुन । नेपालमा पहिलोपटक अश्वमेध महायज्ञको आयोजना हुने भएको छ । आगामी फागुन १९ गतेदेखि २२ गतेसम्म सो महायज्ञको आयोजना हुने भएको हो । साँस्कृतिक तथा व्यापारिक महानगर वीरगन्जको आर्दशनगर रंगशालामा उक्त महायज्ञ हुने भएको छ ।
सोमबार अश्वमेध गायत्री महायज्ञ मूल आयोजक समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो । अखिल विश्व गायत्री परिवारको अयोजना तथा वीरगन्ज महानगरपालिकाको सहयोग र समन्वय साथै विभिन्न धार्मिक, आध्यात्मिक, सामाजिक संघ÷संस्थाहरुको सहभागितामा सनातन विधिविज्ञानसहित २५१ कुण्डीय भव्य यज्ञशाला स्थापना गरी यो महायज्ञ सम्पन्न हुने आयोजकले विश्वास दिलाएको छ ।
सो महायज्ञको उद्धघाट्न सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ भने महायज्ञको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २२ गते दिउँसो १२ बजे सोही स्थानमा गर्ने कार्यक्रम रहेको छ ।
आयोजककाअनुसार फागुन १९ गते विहान ८ बजेदेखि ११ बजे कलश र विभिन्न झाँकीसहितको कलशयात्रा हुनेछ । त्यस्तै विश्व गायत्री परिवारका प्रमुखद्धय डा. प्रणव पण्ड्या र शैलवाला पण्ड्यले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।
त्यस्तै, आयोजककाअनुसार फागुन २१ गते बिहान अश्वमेध यज्ञ एवं १२ संस्कारको कार्यक्रम राखिएको छ । सोही दिन साँझ एक लाख बत्तिको भव्य दीप महायज्ञको कार्यक्रम राखिएको छ । फागुन २२ गते विहान ८ बजेदेखि यज्ञ संस्कार एवम् अश्वमेध महापूर्णाहुति दिने कार्यक्रम रहकोे छ ।
मूल आयोजक समितिका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले यो यज्ञ आयोजना गर्नुको मुख्य उद्देश्य नै राष्ट्रलाई सक्षम, सामथ्र्यवान् एवं समृद्ध बनाउने र प्रर्वद्धन गर्ने रहेको बताए । उनले भने, ‘मान्छे शक्तिशाली बन्नको लागि पहिले आफ्नो क्षमता थाहा पाउनुपर्छ, आफ्नो क्षमता थाहा नभए केही पनि गर्न सकिँदैन् । नेपाल तपोभुमी हो, देव भुमी हो । ऋषिमुनिहरुको भूमि हो । यो कुरा हामीले पढेका छौं । अब यसलाई पुरा विश्वमा चिनाउनको लागि महायज्ञ फलदायी हुनेछ । यो साँच्चै देशको नाम चिनाउने कार्यक्रम हो।’
उनले नेपालीहरुले नेपाललाई अमेरिकाजस्तो बनाउने कुरा गरेपनि अमेरिकाको पैसामा ‘ईन गड, वी ट्रष्ट’ भनेर लेखिएको कुरामा पनि नेपालीहरुले ध्यान दिनुपर्ने बताए । उनले उक्त महायज्ञमा पुरै देशवासीहरुको सहभागिता हुनुपर्नेमा जोड दिए ।
उनले भने, ‘सहभागिताको अर्थ हामीले अर्थ दान गरेर पनि गर्न सक्छौं, श्रम दान गरेर पनि सहभागिता जनाउन सक्छौं । अर्को भनेको वाकदान पनि गर्न सक्छौं ।’ यो महायज्ञले विशेष शक्ति प्रदान गर्ने पनि उनले जिकिर गरे । उनले भने, ‘जुन ठाउँमा महायज्ञ भएको छ, त्यहाँ विशेष प्रभाव पर्छ नै, अरु ठाउँमा पनि यसको प्रभाव पर्छ ।’
महायज्ञका कारण नेपालमा आन्तरिक तथा बाह्य पर्यटकहरु नेपालमा धेरैभन्दा धेरै आउने पनि आफूहरुले विश्वास लिएको महतोको भनाई छ । उनले भने, ‘यो महायज्ञले नेपालमा पर्यटन विकासमा ठूलो फड्को मार्नेछ ।’ महायज्ञमा ५ लाखभन्दा बढिको सहभागिता रहने उनले जनाए ।
महतोले महायज्ञमा कति लागत लाग्ने ? भन्ने विषयमा आफूहरुले कुनै हिसाबकिताब नगरेको स्पष्ट पारे । उनले भने, ‘कति खर्च लाग्छ ? भन्ने कुरा हामीले हिसाब गरेका छैनौं ।’ उक्त कार्यक्रम कुनै धर्म विशेषलाई लक्षित नभएको उनले जिकिर गरे । उनले भने, ‘यो महायज्ञमा सबै धर्ममा विश्वास गर्नेहरुको सहभागिता हुन्छ । कुनै धर्मविशेषको यो कार्यक्रम होइन ।’
महायज्ञमा ६० हजारले बसेर हवन गर्ने र ‘फस्ट कम, फस्ट सिट’ गर्नेपनि उनले जनाए । उनले भने, ‘हाम्रो लागि सबै श्रद्धालुहरु उत्तिकै महत्वपूर्ण हुनुहुन्छ ।’ उनले आफूले यसअघि पनि काठमाडौंमा तिरुपति बालाजीको कार्यक्रम सम्पन्न गरिसकेको सुनाउँदै यो महायज्ञ पनि सफल रुपमा सम्पन्न हुन्छ भन्नेमा विश्वस्त रहेको सुनाए ।
अश्वमेध महाप्रयोगबाट प्रस्फुटन हुने यज्ञ उर्जाबाट समस्त देशबासीमा सद्गुण, सद्भाव, सद्विचार, सत्कार्य र समताभावको प्रेरणा मिल्नेपनि आयोजकले विश्वास लिएको छ । नेपाल र भारतलगायत विभिन्न ४० देशबाट महायज्ञमा श्रद्धालुहरुको उपस्थिति हुने उक्त महायज्ञ प्रचार प्रसार समितिका सह–संयोजक डा. राजु अधिकारीले जानकारी दिए ।
मूल समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘महायज्ञको सम्पूर्ण तयारीको संयोजन अखिल विश्व गायत्री परिवार नेपालले गरिरहेको छ । समस्त देशवासीमा साहस एवम् बल वृद्धि गर्नु र राष्ट्रलाई नै समर्थ बनाउनु अश्वमेधको मूल उद्देश्य हो ।’



लाेकपाटी न्यूज

