काठमाडौं, १३ फागुन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नवनिर्मित प्रहरी कार्यालय भवन सँगसँगै प्रहरीले सेवाग्राहीलाई प्रदान गर्ने सेवा पनि मन, वचन र कर्मले शुद्ध र सुन्दर हुनुपर्ने बताएका छन्।
प्रहरी प्रधान कार्यालय परिसरभित्र नवनिर्मित पश्चिम गेट, आगन्तुक कक्ष, नयाँ प्रशासनिक भवन तथा राष्ट्रिय वाणिज्य बैंकको नवनिर्मित एटिएमको उदघाटन तथा नवनिर्माण हुने अडिटोरियम हलको शिलान्यासका अवसरमा सोमबार आयोजित समारोहलाई सम्बोधन गर्ने क्रममा प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन्।
उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले नवनिर्मित पश्चिम गेट, आगन्तुक कक्ष, नयाँ प्रशासनिक भवन, नवनिर्मित एटिएमको उद्घाटन गरे। साथै उनले नवनिर्माण हुने अडिटोरियम हलको शिलान्यास तथा पूजाअर्चना समेत गरे । सो अवसरमा प्रहरी महानिरीक्षक खनालले नयाँ प्रशासनिक भवन अगाडि नवनिर्मित बगैँचामा वृक्षारोपण गर्नुका साथै नवनिर्मित प्रशासनिक भवनको निरीक्षण समेत गरे।
समारोहमा प्रहरी महानिरीक्षक खनालले नवनिर्मित भवन आधुनिक तथा प्रविधियुक्तका साथै सुरक्षित हुनुपर्ने चर्चा गर्दै प्रहरी प्रधान कार्यालय बाहिर निर्माण हुने भवनहरुलाई समेत प्रेरित गर्नसक्ने हुनुपर्नेमा जोड दिए। नवनिर्मित भवनको भरपुर उपयोग हुनुपर्ने र यसले अपनत्व तथा भाइचारा विकासमा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे।
बहुआयामिक दृष्टिकोणले निर्माण हुन लागेको अडिटोरियम हल तोकिएकै समयमा गुणस्तरीय रुपमा निर्माण सम्पन्न गर्नेतर्फ निर्माण टोलीलाई अझै सजग रहन आग्रह गर्दै प्रहरी महानिरीक्षक खनालले बहुआयामिक हलको अभाव पूर्ति गर्न हलले सहयोग पुर्याउने चर्चा गरे। एटिएम राख्न राष्ट्रिय वाणिज्य वैंकको सहयोगप्रति आभार व्यक्त गर्दै प्रहरीको क्षमता विकास, प्रहरीलाई आधुनिक एवं प्रविधियुक्त बनाउने सन्दर्भमा वैंकको सदैव सहयोग मिल्ने अपेक्षा राखिएको उनले उल्लेख गरे।
समारोहमा धन्यवाद व्यक्त गर्दै प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान तथा कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले भौतिक पूर्वाधारको अभावमा पनि प्रहरी युनिटहरुले सेवा प्रदान गर्दै आएको सन्दर्भमा नवनिर्मित भवनपश्चात थप उर्जा प्राप्त हुनुका साथै प्रहरी सेवामा नविन सोचका साथ उच्चस्तरीय सेवा प्रवाह हुने विश्वास व्यक्त गरे।
प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक इञ्जिनियर लोकेशचन्द्र सिंहले स्वागत मन्तव्य व्यक्त गर्दै नवनिर्मित भवन, पश्चिम गेट एवं आगन्तुक कक्षको निर्माण सम्बन्धी प्रतिवेदन तथा अडिटोरियम हलको बारेमा जानकारी दिए।
प्रहरी प्रधान कार्यालय परिसरलाई आधुनिक एवं व्यवस्थित बनाउनुका साथै सुरक्षित सेवा प्रवाह गर्ने हेतुले थप भौतिक पूर्वाधारहरु निर्माण गरिएको हो। सेवाग्राही तथा आगन्तुकको लागि सुविधा सम्पन्न आगन्तुक कक्ष, पश्चिम गेटमा बैंक एटिएम समेत राखिएको छ।
नवनिर्मित प्रशासनिक भवनमा हाल अपराध अनुसन्धान एवं कार्य विभाग र मानवश्रोत एवं प्रशासन विभागका साथै सूचना प्रविधि निर्देशनालय समेतबाट कार्य सञ्चालन भइरहेको छ। नेपाल सरकारको नियमित बजेट र शान्ति तथा पुननिर्माण मन्त्रालयको सहयोगमा कूल २२ करोड ५४ लाख २१ हजार ३ सय २४ रुपैयाँ ५९ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको सो अवसरमा जानकारी दिइयो।
साथै कुल २३ हजार ७ सय २५ बर्गफिटमा बेसमेन्ट सहित निर्माण हुने २ तले अडिटोरियम हलमा भिभिआइपी लन्जसहितको मुख्य हल, कन्फेरेन्स तथा मिटिङ हल रहने सो समारोहमा जानकारी दिइयो।



लाेकपाटी न्यूज

