कविता / शीर्षक : मुक्तिको गीत

012012020202
लाेकपाटी न्यूज

काठमाडाैँ, ११ फागुन ।
जसरी छाँगाबाट छङ्छङ खस्नुमा
झरनाले जीवनको सौन्दर्यशास्त्र भेट्छ,
त्यसरी काँधमा भिरेको बन्दुकको नालबाट
उनीहरु जीवनकै सबसे प्रीय गीत सुसेल्छन् !

जसरी रावणको पूरा लङ्का ध्वस्त बनाउँन
आगोको एक फिलिङ्गो नै काफी हुन्छ,
त्यसरी नै तिम्रो साम्राज्यमा लालझन्डा गाडेर
साराका सारा गाउँ नचाउन
उनीहरुको एउटा गीत नै काफी हुन्छ

जसरी प्रेसर कुकरमा
हावाको चाप अत्यधिक भएपछि
विद्रोहको सिट्ठी बज्छ,
त्यसरी नै तिम्रो एकाधिकारले
उनिहरुको दिमागमा विद्रोहको हावा भरिन्छ
र क्रान्तिको सिट्ठी बज्छ !
महोदय,
क्रान्तिकारिहरु हावा भरिएको बलजस्तै हुन्छन् !
राता मान्छेहरु रणभुमीको रक्तबिजजस्तै हुन्छन् !

तिमीलाई त मार्न मात्र आउँछ ,….मर्न आउँदैन
उनीहरु त न मार्न डराउँछन्,न मर्न नै…..!

उनीहरु कैल्यै पछि सर्दैनन्
तिम्रो शासन हत्याएर खण्डहरजस्तो देशलाई
थोपा-थोपा रगतले सिँचाई गर्न
अथवा भनौँ ,उनीहरुलाई
सबैभन्दा प्रीय लाग्छ आफ्नो बलिदानको गीत !
उनीहरुले राम्ररी बुझेका हुन्छन्
रणमैदानमा मृत्युको सौन्दर्यशास्त्र !
र त उनीहरु जीवनदेखी मरेर
इतिहासमा युगौँसम्म बाँचीरहन्छन् !

महोदय,
भोको पेटबाट जन्मिदोरहेछ विद्रोहि सपना
अभावको बाँसुरिले सुसेल्दोरहेछ जनताको गीत
दबाबको हार्मोनियमले गाउँदोरहेछ क्रान्तिको सरगम
तिमीले कैल्यै बुझ्दैनौ,
तर उनीहरुले बुझ्छन् र कहिल्यै बिर्सिँदैनन्;
-भोकको सपना !
– अभावको बाँसुरी !
– दबाबको सरगम !
– र क्रान्तिको गीत !!

त्यसैले मलाई
तिम्रो सत्ताको खोक्रो राष्ट्रवादी धुनभन्दा
राता मान्छेहरुले गाउने मुक्तिको गीत मन पर्छ !

© बि.एन ढकाल
अरुण गाउँपालिका ५, भोजपुर ।
हाल : काठमाडौँ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्