काठमाडौं, १० फागुन । काठमाडौं महानगरपालिकाले बचतकर्ताको रकम फिर्ता नगर्ने १५ सहकारीलाई कारवाही शुरु गरेको छ । महानगरपालिकाले विगत दुई हप्तादेखि सबै सहकारीमा अनुगमन गरी नियम उल्लङ्घन गर्ने र बचतकर्तालाई ठगी गर्ने सहकारीलाई कारवाहीको दायरामा ल्याएको हो ।
अनुगमनका क्रममा अहिलेसम्म १५ सहकारी कार्वाहीमा परेको कामनपाका सहकारी विभाग प्रमुख नवराज ढकालले बताए । ती सहकारीलाई कारवाहीस्वरुप बचतकर्ताको रकम फिर्ता गर्न लिखित सहमति गरी समय तोकिएको छ ।
लिखित सहमति गर्दा पनि रकम फिर्ता नगर्ने सहकारीका विवरणसहित प्रहरीसमक्ष उजुरी गरी थप कारवाहीका लागि प्रक्रिया अघि बढाइएको प्रमुख ढकालले जानकारी गरँउ ।
न्युरोड, पुतलिसडक र बानेश्वर क्षेत्रका कम पूँजी भएका सहकारीले पनि बचतकर्ताको रकम फिर्ता नगरेको पाइएको छ ।
न्युनमत रु १० हजारदेखि रु एक करोडसम्म बचतकर्ताको रकम फिर्ता नगरेको अनुगमनको क्रममा पाइएको पनि विभागले जनाएको छ ।
कामनपामा रहेका धेरै सहकारीले विवरणसमेत नबुझाएकाले अनुगमन गरी कानूनी प्रक्रियामा ल्याउन शुरु गरिएको हो । हाल कामनपाभित्र एक हजार ८५६ सहकारी संस्था छन् ।
पहिलो छ महिनामा सहकारी संस्थालाई वार्षिक साधारणसभा समयमै गर्न र विवरण अद्यावधिक गर्न सूचित गरिएको र विभिन्न सूचनामार्फत सहकारी, कानून, प्रचलित मूल्य–मान्यता र सिद्धान्तलाई कार्यान्वयन गर्न पटक÷पटक सूचनासमेत सार्वजनिक गरे पनि धेरैले अझै विवरणसमेत बुझाएका छैनन् । कामनपाअन्तर्गतका सहकारीमध्ये ४८० सहकारीले मात्र विवरण बुझाएका छन् ।
प्रमुख ढकालकाअनुसार २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेज गरी सम्बन्धित स्थानीय तहले सहकारीलाई नियमन गर्नुपर्ने कानुनी व्यवस्थाअनुरुप कामनपाले आफ्ना क्षेत्रभित्रका सहकारीलाई अनुगमन गरी कानूनी दायरामा ल्याउन थालेको हो ।
अनुगमनका क्रममा सहकारीका पाँच वर्षसम्मका सबै हिसाबकिताब हेरिनाका साथै आवश्यकताअनुसार निर्देशन दिने, सुधार नभए सञ्चालकलाई कारवाही गर्ने र सहकारी खारेजीसम्मको कदम चालिने विभागको योजना छ ।
‘सहकारी संस्था ठगी गर्ने संस्था हो र बचत फिर्ता दिन सक्दैन’ भन्ने जुन छाप परेको छ त्यसलाई चिर्न प्रभावकारी अनुगमन गरिएको हो, उनले भने । अनुगमनकै क्रममा साना सहकारीलाई एकीकृत गरी भएका सहकारी सङ्ख्या घटाएर ७०० बनाउने तयारी पनि कामनपाकोे छ । मापदण्ड बाहिर सञ्चालित साना सहकारी धेरै रहेकाले समस्या भएको र तिनको सही व्यवस्थापन गर्न एकीकृत प्रणालीअनुरुप जान लागिएको हो । एक हजार ८५६ सहकारीलाई घटाएर ७०० बनाउने कामपाको लक्ष्य रहेको जनाइएको छ ।
सहकारी ऐन, २०७४ र कामपाको सहकारी ऐन, २०७४ अनुरुप कानूनीरुपमा नै एकीकृत गर्न सकिने व्यवस्था छ । सहकारीलाई एक बनाउन दुई सहकारी एकअर्कामा एकीकृत हुन तयार रहनुपर्छ ।
कामपाका सहकारीमध्ये सबैभन्दा बढी बचत तथा ऋण सहकारी एक हजार ६४४, बहुद्देश्यीय १५६ र विषयगतअन्तर्गत उपभोक्ता, दुग्ध, कृषि, शिक्षा, सञ्चारलगायत सहकारी छन् । सर्वसाधारण ठगी गरेको भन्दै सहकारी विरुद्ध ६० मुद्दा परेकामा ३५ को फछ्र्योट भइसकेको विभागले जनाएको छ ।
निर्देशन पालना नगरे कामपाको सहकारी ऐनअनुरुप कारवाहीको प्रक्रिया अघि बढाइने प्रमुख ढकालले बताए । हाल कामपामा रहेका सबै सहकारी काठमाडौं महानगरपालिका सहकारी ऐन २०७४ अनुसार सञ्चालन गरिनुपर्नेछ ।
कामपाका सहकारीमा करीब दुई लाख सदस्य छन्, जसमा आठ हजारले रोजगारी पाएका छन् । सबै सहकारीबाट करीब रु सात अर्ब शेयर, करीब रु ५२ अर्ब बचत परिचालन र रु ४१ अर्ब बराबरको ऋण प्रवाह भएको छ ।
सबै सहकारीलाई दैनिकरुपमा अनलाइनमार्फत आफ्नो जानकारी गराउन पनि कामपाले निर्देशन दिएको छ । आफ्नो सहकारी दैनिकरुपमा कति आर्थिक कारोबार गर्दछ, लगानी र सङ्कलन भएको कति भन्ने विषयमा दैनिक जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।



लाेकपाटी न्यूज

