ललितपुर । नेपाल भ्रमणमा रहेका बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकष्टरले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आज बिहान भेटवार्ता गरेका छन् ।
अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको भेटमा नेपाल र संयुक्त अधिराज्यबीचका आपसी सम्बन्ध र समृद्ध नेपाल निर्माणमा बेलायती लगानीका बारेमा छलफल भएको थियो । अध्यक्ष प्रचण्डले गोर्खा सैनिकले उठाएका माग र तिनको समाधानका बारेमा राज्यमन्त्री ल्याङकेष्टरसँग जिज्ञासा राखेका थिए ।
त्यसैगरी अध्यक्ष प्रचण्डले नेपाली शान्ति प्रक्रियामा बेलायती सरकारले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । अध्यक्ष प्रचण्डले आफूहरुको समग्र ध्यान देशको आर्थिक विकासमा केन्द्रित भएको हुँदा वैदेशिक लगानीकर्तालाई आकर्षित गर्न वर्तमान स्थायी सरकार लागि परेको पनि बताए ।
चार दिवसीय नेपाल भ्रमणमा रहेका राज्यमन्त्री ल्याङकष्टरले नेपालको आर्थिक समृद्धिमा बेलायत सरकार हातेमालो गर्न तयार रहेको बताए । उनले गोर्खा सैनिकले उठाएका समस्या नेपालको मात्र नभएर बेलायतको पनि भएको बताए । उनले नेपालको शान्ति प्रक्रिया विश्वका लागि एक उदाहरण भएको बताए ।



लाेकपाटी न्यूज

