मानिस विचित्रको प्राणी हुँदो रहेछ। जे नगर्नु भन्यो त्यही गर्नुपर्ने, जे नमान्नु भन्यो त्यसैलाई मान्ने। गौतम बुद्धले मूर्ति पूजाको विरोध गरे, संसारमा उनकै धेरै र ठूला मूर्ति पाइन्छन्। शास्त्रबाट होइन, ज्ञान आफैभित्रबाट पाइन्छ भने तर आज सबै बौद्धमार्गी उनका विचारलाई सुत्रका रुपमा बुझ्दछन्। बुद्धले जीवन जिउने कला सिकाए। तर, मानिस त्यसलाई धर्मको रुपमा बुझ्दछ। बुद्ध दर्शन कुनै धर्म होइन। तर, पनि यसलाई धर्म बनाइयो। बुद्धले जीवनका सम्बन्धमा गरेको व्याख्या आज पनि त्यतिकै सान्दर्भिक छ। बुद्ध अघिका चार्वाक, महावीरलाई पनि मानिसले धार्मिक गुरुको रुपमा बुझ्दै आएका छन्।
चार्वाक, महावीर, बुद्ध, पतञ्जली लगायतका भारत वर्षमा जन्मिएका महापुरुष आज कुनै एक सम्प्रदायका मात्र बनेका छन्। त्यसमा पनि उनीहरुको भौतिकवादी दृष्टिकोणका आधारमा होइन, धार्मिक पुरुषका रुपमा व्याख्या गरिएको छ। भारतमा हुर्किएका यी दार्शनिक दृष्टिकोण संसारमा पहिलो भौतिकवादी दृष्टिकोण भए पनि बुद्धबाहेक अरुको प्रभाव कमजोर छ। भौतिकवादी दृष्टिकोणको केन्द्र युरोपलाई मात्र स्वीकार्ने हामीमा अज्ञानता कायम छ।
बुद्धले जीवनका सम्बन्धमा जसरी व्याख्या गरेका छन्, त्यसैगरी माक्र्सले जगतको वैज्ञानिक व्याख्या गरेका छन्। बुद्ध र मार्क्स दुवै भौतिकवादी दृष्टिको भएका दार्शनिक हुन्। बुद्धले जीवन बदलेर जगत बदल्ने विचार प्रकट गरेका छन्। मार्क्सले समाज रुपान्तरणको कुरा गरेका छन्। बुद्धले साँढे २५ सय वर्षअघि भने, ‘जेमा गति छ, त्यसको अस्तित्व छ, जेमा गति छैन, त्यसको अस्तित्व छैन।’ मार्क्सले पदार्थ गतिशील छ मात्र भनेनन्, गतिको नियमबाहेक जगतका सबै चीज गतिशील छन् भनेर परिभाषित गरे।
मार्क्सले समाज विकासको अन्तिम चरण वैज्ञानिक साम्यवाद भनेका छन्। जहाँ मानिसको चेतनाको स्तर अति उन्नत हुन्छ। मार्क्सले भनेको वैज्ञानिक साम्यवाद बुद्धको निर्वाण प्राप्त व्यक्तिहरुको समाजमा धेरै हदसम्म समानता पाउन सकिन्छ। तर, बुद्ध र मार्क्सबीचको भेद भनेको अन्तिम लक्ष्यमा पुग्ने बाटो हो। बुद्धले शान्तिपूर्ण रुपमा मानिसलाई रुपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् भने मार्क्सले क्रान्तिका माध्यमबाट अन्तिम लक्ष्यमा पुग्न सकिने बताएका छन्।
बुद्ध र मार्क्स समानता र असमानतापछि चर्चा गरौं। आज भने भौतिकवादी दृष्टिकोण बुद्ध दर्शनलाई जसरी धर्मको रुपमा बुझिँदैछ। मार्क्सवादलाई पनि त्यही रुपमा बुझिँदै गएको छ। कतिपय कम्युनिष्ट पार्टी वा तिनका नेतालाई गतिको मार्क्सवादी नियम स्वीकार्न चाहँदैनन्। उनीहरु मार्क्सवादलाई सुत्रको रुपमा व्याख्या गर्दै आएका छन्। भौतिकवादी बन्ने नाममा पश्चिमा जगतमा विकास भएका विज्ञान, विचार, सिद्धान्त, संस्कृति सबैलाई नक्कल गर्दै आएका छन्। युरोप अमेरिकामा विकास भएका सबै कुरा सत्य हुन्, पूर्वमा विकास भएका सबै विचार, सिद्धान्त गलत हुन्। विज्ञानले सत्य भनेको तथ्य सधै सत्य नहुन सक्दछ।
मार्क्सवादी नियमअनुसार सिद्धान्त पनि गतिशील हुन्छ। तर, हामी कहाँ भौतिकवादी दृष्टिकोण भएको कम्युनिष्ट होइन, कम्युनिष्ट पार्टीमा खरो ढंगले लागे भयो। विचार सिद्धान्त नबुझे पनि हुन्छ। आज मार्क्सवादी वा कम्युनिष्ट हुनलाई मार्क्सवाद नपढे वा नबुझे पनि हुने भएको छ। जसरी हिन्दू हुनलाई हिन्दू धर्मका आचरण नभए पनि हुन्छ। हिन्दू हुनलाई वेद, मुसलमान हुनलाई कुरान, क्रिश्चियन हुनलाई बाइवल नपढे पनि हिन्दू, मुसलमान, क्रिश्चियन हुन सकिन्छ। त्यसैगरी कम्युनिष्ट हुनलाई मार्क्सको पुँजी पढिरहनु वा बुझिरहनु पर्दैन। पूँजी आधुनिक वेदको रुपमा विकास हुँदै गएको छ।
भौतिकवादको नाममा मूर्ति पूजाको तीब्र आलोचना गरिन्छ। मार्क्सले भने, ‘धर्म अफिमको नशा हो।’ संसारभरका कम्युनिष्टले यसैलाई दोहोर्याउँदै धर्म र मूर्ति पूजाको विरोध गरेका छन्। मार्क्सले धर्मलाई अफिमको नशा भनेर गलत गरेका छैनन्। तर, त्यसको व्याख्या गर्ने कम्युनिष्टले मार्क्सवादलाई धर्मका सुत्रझैं पकडेका छन्। हाम्रा कम्युनिष्ट नेताले शिव, कृष्ण, विष्णु, ईन्द्रका मूर्ति पूजा गर्न छाडे। तर, मार्क्स, लेनिन, स्टालिन, माओ लगायतका मूर्तिको पूजा गरिन्छ। यो एउटालाई छाड्ने अर्कोलाई पकड्ने काम भयो।
मन परेकालाई पकड्ने मन नपरेकालाई छाड्ने वा विरोध गर्ने शैली के मार्क्सवादसंगत होला ? हामी कहाँ आधुनिक बन्ने नाममा पसिनाले निथ्रुक्कै भिजे पनि घाँटीमा टाई लगाएर आधुनिक र विद्धान बनेको भ्रम पाल्ने पनि धेरै छन्। यूरोपको जाडो ठाउँबाट चिसोबाट जोगिन घाँटीमा बाँधिने चीज आजको टाई हो। जाडो ठाउँ वा जाडो समयमा टाई लगाउनु सान्दर्भिक होला। आधुनिक बन्ने नाममा टाई लगाएर चन्दनको विरोध गर्नुको कुनै तुक छैन।
चन्दन लगाउने प्रचलन दक्षिण भारतमा विकास भएको मानिन्छ। गर्मी समयमा मष्तिस्कलाई ठण्डा र तेजिलो बनाउन चन्दनको प्रयोग गर्ने परम्परा विकास भएको हो। चन्दन वासनेदार पनि भएकाले यसको प्रयोग वैज्ञानिक मान्न सकिन्छ। तर, आज आफूलाई धार्मिक देखाउन चन्दन लगाउने गरिन्छ। अर्कातर्फ चन्दन लगाउने रुढिवादी विचारको ठहरिने, ऊ चन्दने हुने अवस्था छ। दक्षिणा भारतमा अहिले पनि निधारभरि चन्दन लगाउने परम्परा छ। तर धर्मका नाममा ठाडा, तेर्सा धर्के चन्दनको टीका लगाउने चलन बढेको छ। निधारमा लगाएको चन्दनको टिकाका आधारमा कुन धर्म सम्प्रदायको हो भन्ने छुट्याउन सकिने अवस्था छ।
चन्दन लगाएर जसरी धार्मिक व्यक्ति बन्न सकिँदैन, त्यसैगरी टाई लगाएर पनि आधुनिक बन्न सकिँदैन। त्यस्तै सच्चा हिन्दू हुने भने वेदको मर्म बुझ्नुपर्दछ। त्यस्तै मार्क्सवादी हुन कम्युनिष्ट पार्टीमा लागेर मात्र हुँदैन, मार्क्सवाद बुझ्न र पढ्न जरुरी हुन्छ। सत्य कुराको बोध हुन नसक्दा अन्धविश्वास उत्पन्न हुने हो । टाई लगाएर आधुनिक वा शिक्षित बने भन्ठान्नु र चन्दन लगाएर धार्मिक हुन्छु भन्नुमा कुनै भेद छैन। टाई लगाउने आधुनिक अन्धविश्वासी हुन भने चन्दन लगाउने पूराना अन्धविश्वासी हुन्। भौतिकवादी दृष्टिकोण नराख्नेले टाई र चन्दनको अर्थ नबुझ्नु स्वभाविक हुन सक्दछ।
मार्क्सवादी दृष्टिकोणका आधारमा पूर्वमा विकास भएको भौतिकवादी दृष्टिकोणलाई स्वीकार्न नेपाल र भारतका कम्युनिष्ट पार्टी र तिनका कार्यकर्तालाई निकै कठिन हुन्छ। नेपालमा त सबै पश्चिमा मुलुकमा विकास भएको विचार, सिद्धान्तदेखि भौतिक वस्तु राम्रो भन्ने स्कुलिङ हुँदै आएको छ। कम्युनिष्ट स्कूलिङ यसमा सबैभन्दा अघि छ। अझ क्रान्तिकारीले त पूरानो सबैलाई अस्वीकार गर्नुपर्ने अर्थमा बुझिदै आएको छ। नेपालका कम्युनिष्ट पार्टी अलग–अलग मान्यतामा स्थापित र सञ्चालित भए पनि सबैले भौतिकवादी दृष्टिकोण अपनाउने बताउँछन्। मार्क्सवादलाई बुझ्ने कुरामा आ–आफ्नै तरिका भएपनि द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणलाई सिद्धान्तत स्वीकार्ने कुरामा कसैको बिमति छैन।
भौतिकवाद भनेको जगतलाई ठीक ठीक ढंगले बुझ्नु हो। जगतलाई ठीक ढंगले बुझ्ने र व्याख्या गर्न नसक्ने मार्क्सवादी हुन सक्दैन। नेपाल र भारतका कम्युनिष्ट पार्टीले पूर्वमा विकास भएको भौतिकवाद, त्यसले आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक रुपमा पर्ने प्रभावका बारेमा विश्लेषण गर्नुपर्दछ। पश्चिमा समाजभन्दा पूर्वीय समाजको मानवीय विकास प्रक्रिया केही अन्तर छ। यसलाई ठीक ढंगले बुझ्न हाम्रो समाजका बिभिन्न आयामलाई बुझ्नुपर्दछ। यो नै सच्चा भौतिकवादी दृष्टिकोण हुन सक्दछ। अन्यथा आज जसरी बौद्ध दर्शनलाई धर्म रुपमा मात्र बुझिँदैछ, मार्क्सवादलाई पनि धर्मको रुपमा नबुझएला भन्न सकिँदैन।



लाेकपाटी न्यूज

