काठमाडौं, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले लामो समयको राजनीतिक सङ्क्रमण र अन्योलतालाई चिर्दै गठन भएको स्थिर सरकारले मुलुकमा सामाजिक, आर्थिक रुपान्तरणको ढोका खोलेको बताएकी छन् । राष्ट्रपति भण्डारीले राष्ट्रलाई समुन्नत बनाउने यस महत्वपूर्ण अवसरको पूर्ण सदुपयोग गर्न सबै राजनीतिक दल, प्रवुद्ध वर्ग र आम समुदायको एकता, सक्रिय सहयोग र सहकार्यको आवश्यकता रहेको औँल्याएकी छन् ।
निर्वाचन आयोगद्वारा ‘तेस्रो निर्वाचन दिवस–२०७५’को अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले राजनीतिक सङ्क्रमणको अन्त्य, संविधानको घोषणा र तीनै तहको निर्वाचन सम्पन्न गरी देशलाई निश्चित दिशा प्रदान गर्न राजनीतिक दल, नागरिक समाज र सबै नेपालीको उत्साहपूर्वक सहभागिता स्मरणीय रहेको उल्लेख गरिन् ।
मुलुकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको माध्यमद्वारा सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको लक्ष्य लिएको बताउँदै उनले ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय संकल्प, मुलुकको आर्थिक सामाजिक समृद्धिको संवैधानिक मार्गचित्र अनुकूल भएकाले सबै राजनीतिक दल र सम्बद्ध पक्षलाई एकबद्ध भएर अघि बढ्न आग्रह गरिन् ।
लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगेर्ना तथा सुदृढीकरणमा निर्वाचन आयोगले गरेको योगदानको प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले बदलिँदो अवस्थानुसार आयोगको काम कारवाही अझै प्रभावकारी ढङ्गले सम्पादन हुँदै जाने विश्वास व्यक्त गरिन् । आवधिक निर्वाचन लोकतन्त्रको आधारशीला रहेको भन्दै उनले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउनु अनिवार्य सर्त हुने विचार व्यक्त गरिन् ।
उनले तीनै तहको निर्वाचनमा नेपाली जनताले उत्साहपूर्ण रुपमा सहभागी जनाई लोकतन्त्रको सुदृढीकरणमा ठोस योगदान गरेको स्मरण गर्दै स्वःस्फूर्त जनसहभागिताबाट लोकतान्त्रिक पद्धतिलाई संस्थागत गर्ने गहन जिम्मेवारी पूरा भएकोमा खुशी व्यक्त गरेकी छन् ।
निर्वाचनलाई अझै स्वच्छ, स्वतन्त्र र मर्यादित रुपमा सम्पन्न गरेर लोकतन्त्रलाई थप सुदृढ बनाउँदै लैजान आवश्यक कानून निर्माण र नवीन प्रविधिको प्रयोग गरी निर्वाचन व्यवस्थापनमा अझ बढी कुशलता अभिवृद्धितर्फ आयोग अघि बढ्ने राष्ट्रपति भण्डारीको विश्वास छ । उनले निर्वाचन प्रक्रियालाई सरल र मतदातामैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा प्रमूख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले वि.सं. २०१५ साल फागुन ७ गते आमनिर्वाचन आरम्भ भएको दिनको सम्झनामा निर्वाचन दिवस मनाउन थालिएको जानकारी दिँदै आयोगको कार्य सम्पादनका लागि १० ऐन, ८ नियमावली तथा नीति निर्देशिका र आचारसंहिता रहेको बताए । नेपालको संविधानको सफल कार्यान्यवनका लागि तीन चरणको निर्वाचनपछि ऐतिहासिक सफलता मिलेको बताउँदै उनले नेपाली जनतालाई समृद्ध बनाउन मुलुक अग्रसर रहेकोमा खुशी व्यक्त गरे ।
उनले विदेशमा रहेका नेपालीको मताधिकारको सुनिश्चितताका लागि सम्भाव्यता अध्ययनको काम अगाडि बढाएको जानकारी दिँदैे मतदाता नामावली सहज रुपमा दर्ता गर्नसक्ने गरी आवश्यक सुधारमा लागेको र केही समयभित्रै मतदाता दर्ता विशेष अभियान सञ्चालन गर्ने बताए । विभिन्न तहमा ९४१ पद रिक्त रहेकाले उपनिर्वाचनको माध्यामद्वारा पदपूर्ति गर्नुपर्ने अवस्था रहेको यादवले जानकारी दिएका छन् ।
कार्यक्रममा निर्वाचन आयुक्त इला शर्माले प्रजातन्त्र दिवसका अवसरमा निर्वाचन दिवस मनाउन पाउँदा यसको महत्व अझ बढेको उल्लेख गर्दै निर्वाचन स्वतन्त्र र मर्यादित बनाउन आयोगले रणनीतिक योजना निर्माण गरी सुधारका काम गरिरहेको जानकारी दिइन् ।
कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गृहमन्त्री रामबहादुर थापा, पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायत उच्च पदस्थ कर्मचारी, सुरक्षा प्रमूख, विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति तथा कूटनीतिक नियोगका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।



लाेकपाटी न्यूज

