सूर्यप्रकाश सुवेदी ‘पथिक’
गृहमन्त्रीको रुपमा राम बहादुर थापा ‘वादल’को कार्यकाल आजको ठीक एक हप्तापछि अर्थात् फागुन १४ गते पूरा हुँदैछ । एक बर्ष जनता र राष्ट्रप्रति पूरै प्रतिबद्ध रही काम सम्पादन भएका छन् । असल गरौं, खराब एउटा पनि नहोस्, व्यक्तिगत आक्षेप लाग्ने कुनै काम नहोस्, हरदम सचेत बनौं भन्ने मूल मन्त्रका साथ एक वर्ष सान्दार रुपमा बितेका छन् ।
विगतदेखि नै वादलप्रति पूर्वाग्रही, घोर विरोधीले समेत उहाँको इमान्दारिता, देशभक्ति र सक्रियतालाई कहीँ कतै औला ठड्याउन सक्तैनन् । झन् यो एक वर्षका कामले उहाँको यो पाटो अझ सशक्त रुपमा जनताका माझमा प्रकट भएको छ । एक वर्ष के–के भए कामहरु ? के कस्तो रहे उपलब्धि ? कमी र सीमाहरु कसरी प्रकट भए, यसलाई संक्षिप्तमा बुँदागत रुपमा राख्न चाहन्छु ।
युनानका लेखक प्लुटार्कले अलेक्जण्डरको प्रसङ्ग एक ठाउँमा उल्लेख गरेका छन् । कथामा भनिएअनुसार राजा गोर्दिएसको दरवारमा एउटा अत्यन्त ठूलो गुजल्टिएको धागोको डल्लो थियो, जसले एक एक गरी फुकाउन सक्छ, त्यही युनानको सम्राट बन्ने उद्घोष गरियो । बडे–बडे राजाहरु सम्राट बन्ने आशाका साथ आए र असफल भए । उनीहरुले गाँठाहरु फुकाल्ने भन्दा झन् थप्दै लगे । अन्ततः अलेक्जन्दर आए, तब उनले आफ्नो म्यानबाट तरवार निकाले र गुजुल्टिएको डल्लालाई दुई टुक्रा पारी सबै गाँठाहरुको समस्या एकै प्रहारमा हल गरे, राजा गोर्दिएसले उक्त धागो बाँधेकाले यसलाई पश्चिम साहित्यमा ‘गोर्दिएसको गाँठो’को रुपमा चर्चित छ ।
नेपालमा यातायातको क्षेत्रका पनि यस्त गाँठाहरु गुजुल्टिएको थियो । कसैले पनि सिण्डिकेटविरुद्ध मन्त्रालय जान सक्छ र त्यसमाथि विजय प्राप्त गर्न सकिन्छ भन्नेमा विश्वास नै थिएन । यातायातका सिण्डिकेटवालाहरु बडो मजबुतजस्ता देखिन्थे । नेपालमा यसको रुपमा विभिन्न यातायात समितिहरु थिए, जुन जिल्ला प्रशासनमा गैरनाफामूलक संघसंस्थाका रुपमा दर्ता भएर अकुत नाफा कुम्ल्याउँथे, उनीहरुले आफ्नो पहुँच नेपालको राजनीति, कर्मचारी, प्रहरी प्रशासन लगायतका क्षेत्रमा पु¥याएका थिए । अकुत सम्पतिमध्ये निश्चित केही प्रतिशत यस्ता क्षेत्रमा उनीहरुले ‘लगानी’ गर्दथे र लुटको बजार वर्षेनी बढाउँदै लगेका थिए ।
नेपालमा सामन्तवादको समाप्ति पश्चात अबको यात्रा प्रगतिशील पूँजीवादलाई बढावा दिंदै समाजवादको यात्रा तय गर्ने हो । आज यसको सबैभन्दा बाधकको रुपमा दलाल एवं नोकरशाही पुँजीवाद रहेको छ । सिण्डिकेट यसको नेपाली आयाम हो । यातायातको सिण्डिकेट प्रणालीले यातायात सेवालाई प्रतिस्पर्धात्मक ढंगबाट सञ्चालन हुन दिँदैन । यसले सवारी साधनको आपूर्ति घटाउँछ, भाडा अत्याधिक बढ्छ । पर्याप्त सवारी साधनको अभावमा यात्रुले सास्ती पाउँछ । उनीहरुले कुनै नयाँ यातायातको साधन उनीहरूको अनुमति र निश्चित रकम नदिएमा राख्न दिँदैनन् । मन्त्रालयसम्म पनि उनीहरुले आफ्नो सहमति बिना रुट इजाजत दिन नपाउने प्रवन्ध मिलाएका थिए । यस्तो कसैले साहस गरिहाल्यो भने उनीहरुले पालेका गुण्डाहरु लगाएर भौतिक आक्रमणसम्म गर्दथे ।
गृह मन्त्रालयमा कमरेड बादल आइसकेपछि मन्त्रालयमा आउने हरेक एजेण्डालाई जनपक्षीय र क्रान्तिकारी समाधान के कसरी गर्न सकिन्छ त्यो तत्काल गरिहाल्ने एक प्रकारको जुनुन थियो । यही मेसोमा यातायात सिण्डिकेटको दादागिरी र जनताले भोगेको सास्तीबारे छलफल चल्यो र गृह मन्त्रालयले गर्नसक्ने योगदानबारे छलफल भयो । भौतिक मन्त्रालयसँग सहकार्य गरेर यसको दीर्घकालीन समाधान निकाल्ने योजना बन्यो । पहिलो कदम गृह मन्त्रालयले चाल्यो ।
अबदेखि यातायात व्यवसायी सम्बद्ध संस्थाहरुलाई जिल्ला प्रशासन कार्यालयले संस्था दर्ता ऐन २०३४ बमोजिम गैरनाफामूलक संस्थाको रुपमा दर्ता नवीकरण नगर्ने र उनीहरु आफ्नो व्यवसाय सञ्चालन गर्न अनिवार्य कम्पनी ऐनअनुसार दर्ता हुनुपर्ने सर्कुलर सबै सिडियो कार्यालमा पठायो । यसले यातायातको क्षेत्रमा एकप्रकारको भूकम्प नै ल्याइदियो । क्रिया प्रतिक्रिया चर्को आयो । सेवाग्राही खुशी भए भने सिण्डिकेटवाला र उनका मतियार, आसेपासे चर्को विरोधमा देखा परे ।
दिनहुँ अनेक नाममा र रुपमा सिण्डिकेट वालाले गृहलाई घेरा हाल्ने कोशिस गरे । बादल र गृह मन्त्रालय आफ्नो निर्णयमा टसमस नभएपछि आन्दोलनको धम्की दिए । यातायात नचलाउने र चक्काजाम बन्दजस्ता कार्यक्रमको घोषणा गर्न पुगे । जनताको बिरुद्ध आएका यस्ता अनैतिक दवावलाई नसहने बरु कडाईपूर्वक जाने निधो भयो । यातायात सिण्डिकेटवालाको सम्पत्ति रोक्का गर्ने र उनीहरुले यातायात रोकेर आन्दोलन गरेमा कडा कदम चाल्ने तय भयो ।
यही मेसोमा कथित आन्दोलनकै दिनमा देशभरिबाट सिण्डिकेट समर्थक गिरफ्तार भए । भोलिपल्ट बाँकी बचेका केही सिण्डिकेटका समर्थक अगुवा पनि नियन्त्रणमा आए । राज्य कडाइपूर्वक पेश आएपछि र सार्वजनिक रुपमा सिण्डिकेटको पक्षमा कोही नबोल्ने भएपछि धमाधम राज्यसँग उनीहरु सिण्डिकेटको पक्षमा नलाग्ने र राज्यलाई सहयोग गर्ने लिखित प्रतिबद्धता जनाइ छुटे । पहिलो चरणमा सिण्डिकेटविरुद्ध राज्य, गृहले शानदार विजय प्राप्त गर्याे ।
अब यातायातलाई प्रतिस्पर्धात्मक र स्वच्छताका साथ व्यवस्थित गर्ने चुनौती छ । यो काम मुख्य रुपमा यातायात व्यवस्था विभाग र भौतिक मन्त्रालयको हो । उसले कम्पनी ऐनअनुसार दर्ता सम्पन्न गर्ने रुट परमिट दिने राज्यमा आएको यातायात समितिको रकमको उचित व्यवस्थापन गर्ने आदि काम छ । भौतिक मन्त्रालय र यातायात व्यवस्था बिभागले यो काम निश्चित समयसीमा राखेर पूरा गर्दै गइरहेको छ । अब नेपालमा यातायातको सिण्डिकेट अन्त्य भएको छ । अहिले केही अवशेष निश्चित रुपमा छन् । तर, केही समयमै यो पूर्ण अन्त्य हुन्छ र यातायात पूर्ण प्रतिस्पर्धी र जनपक्षीय बन्दछ ।
क्रमशः समयबद्ध साप्ताहिकबाट



लाेकपाटी न्यूज

