विकासको विरोध गरेर कसैको भलो हुँदैन : रेनु दाहाल

renu dahal
लाेकपाटी न्यूज

चितवन । सोमबारदेखि भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा प्रदेश स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको एक कार्यक्रमका बीच भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गरिन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले खेलकुदको विकासले मात्रै देश समृद्ध हुने बताइन् । “खेलकुदको माध्यमबाट नेपाल चिनाउन सकिन्छ । यो हाम्रो लागि सुनौलो अवसर हो । खेलले मानिसलाई शारीरिक र मानसिक रुपमा स्वस्थ राख्न मद्दत पुग्छ ।”

प्रमुख दाहालले भरतपुर महानगरपालिका १५ मा निर्माण हुने अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबारे विभिन्न नकारात्मक टिप्पणी हुनु दुःखद भएको बताइन् । धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको क्रिकेट रंगशालामा सबैले सहकार्य गर्नुपर्ने उल्लेख गरिन् । खेलकुदको विकासका लागि भरतपुर महानगरपालिका नीतिगत र व्यवहारिक रुपमा यसको कामलाई अगाडि बढाइरहेको जानकारी दिइन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषदका केन्द्रीय सदस्य तथा प्रदेश ३ का संयोजक सुदिल शाहीले यस्ता प्रतियोगिताले खेलकुद विकासमा टेवा पुग्ने बताए । रत्नननगर नगरपालिकाका प्रमुख नारायण वनले खेलकुदको मध्यमबाट शारीरिक र मस्तिष्कलाई ताजगी प्रदान गरी सकारात्मक बाटो लाग्न सकिने बताए ।

प्रदेश ५ मा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश नम्बर ३ को छनौट भरतपुरमा हुन लागेको हो । प्रतियोगितामा प्रदेश नम्बर ३ का १३ जिल्लाबाट तीन हजार ९२ प्रतियोगिहरुको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगालाल लामाले जानकारी दिए ।

उनका अनुसार चितवनमा एथलेक्टिस र उसु खेलको छनौट हुनेछ भने अन्य खेलहरु प्रदेश नम्बर ३ का विभिन्न जिल्लामा आयोजना हुने लामाले बताए । छनौट प्रतियोगिता अन्तर्गत नुवाकोटमा पुरुष फुटबल, सिन्धुपाल्चोकमा महिला फुटबल र काठमाडौंमा भारोत्तोलन, क्रिकेट, बास्केटबल, टेबलटेनिस, लङटेनिस लगायतका खेल हुने लामाले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्