काठमाडौं, ६ फागुन । लोकगायक पशुपति शर्माले आफू देशको नागरिक भएका हिसाबले सरकारलाई जनताको तहबाट सचेत गराउन पाइन्छ कि भनेर मात्रै आफूले गीत गाएको बताएका छन् । उनले देश लुट्न कसैले पनि पाउँदैन भन्ने सन्देश दिन आफूले यस्तो गीत गाएको बताएका हुन् ।
उनले नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानीका क्रममा यस्तो बताएका हुन् ।
उनले युवासंघका कार्यकर्ताको फोन आएपछि आफूले युट्युबबाट गीत हटाएको प्रष्ट्याएका छन् ।
कुराकानीका क्रममा उनले भनेका छन्, ‘केही कुरा हटाउँदा कसैको मन छ्याङ्ग हुन्छ भने हटाएर फेरि युट्युबमा राख्छु । यो मेरो सिर्जना मात्रै हो । धेरैबाट जनसमर्थन छ । म कार्यक्रममा हिँड्दा, बुबाआमासँग भेट्दा, हाम्रो देशका गरिब जनता जसले सरकारबाट आशा गरेका छन् । त्यो अनुरुप नभइरहँदा उहाँहरुले भनेका कुरालाई मैले जस्ताको त्यस्तै राखेको मात्र हुँ । ”
उनले पुस्तौँपुस्तादेखि नेपालमा लुट मच्चिएको बताउँदै लुट्न हुँदैन भन्ने आफ्नो व्यङ्ग्य मात्रै भएको बताएका छन् । ‘मैले लुट्न पाइन्छ पनि भनेको छैन । यो गीतको सुरुमै भनेको छु । पञ्चायत सुनेँ, बहुदल र गणतन्त्र भोगेँ तर देश र जनताको निस्वार्थ सेवा गर्ने न कुनै नेता भेटेँ न अरु कोही भनेको छु । मैले नेतालाई मात्रै होइन । अरु कोही पनि भनेको छु । जो सुकै होस् देश लुट्न पाइँदैन।’ उनले थप भनेका छन् ।
उनले आफूले राष्ट्रपति र प्रधानमन्त्रीलाई मात्र प्रहार नगरी राज्य व्यवस्थालाई गरेको बताए । उनले भने ‘मैले प्रधानमन्त्रीलाई कुनै प्रहार गरेको छैन । मेरो एउटा टुक्का छ । गीतमा यमराजको शासन भनेको छु । मैले अहिले यमराजको शासन भनेको होइन । हजुरबुबाको पालादेखि अहिलेसम्म आउँदा पनि स्वर्गजस्तो नेपालमा इन्द्रको शासन भएन भनेको छु । अहिलेमात्रै भनेको होइन । स्वर्गको देशमा इन्द्रको शासन किन हुन सकेन भन्ने गीतमार्फत भनेको हुँ । गणतन्त्र आइसकेपछि राष्ट्रपति पनि हामी सबैको अभिभावक हो । अभिभावक र बच्चाको सम्बन्ध पनि त्यस्तै हुनुपर्छ । गल्ती भएको रहेछ भने गल्ती भयो भन्न सक्नुपर्छ ।’
उनले राज्य व्यवस्था नै गलत दिशातर्फ गएको अनुभूति भएपछि जनताले सचेत गराउन पाइएला कि भनेर गीतमार्फत भनेको बताउँदै आफूले कुनै पाप नगरेको बताएका छन् । ‘गीतमा भएका भन्दा कडा कुरा संसदमा गरेको सुनेको छु,’ उनले भनेका छन्, ‘गीत बाहिर आएपछि फोन आयो । युवासंघ नेपालका साथीहरुले फोन गर्नुभएको थियो । यमराजको शासन भन्ने कुरामा नेकपाको झण्डा आयो भनेर आपत्ति जनाउनुभयो । कार्यकर्ता कुकुरजस्तै भुक्छन् भन्नेमा आपत्ति रहेछ । राष्ट्रपतिलाई किन आक्षेप लगाएको भन्नुभयो । आत्मसम्मानमा चोट पुग्छ भने किन राख्नु भनेर हटाएको हुँ । तर, भाव सबैको मनमा रहेछ ।’
उनले कांग्रेस सरकारमा हुँदा ‘अमेरिका यहीँ, जापान पनि यहीँ’ भन्ने गीत गाउनु संयोग मात्रै भएको समेत बताए । ‘कांग्रेस सरकारमा भएका बेला ‘जापान पनि यहीँ अमेरिका यहीँ ‘ भनेर गीत गाउनु संयोग मात्रै हो,’ उनले भनेका छन्, ‘कुनै चुनाबी सभामा गीत गाएको छैन । चुनावताका देश र जनताले जित्नुपर्छ भनेर सिर्जना गरेको थिएँ । विवाद आएपछि मैले युट्युबबाट हटाएको हुँ । एकदुईवटा शब्द फेरेर पठाउने तयारी गरेको छु ।’
उनले थप भनेका छन्,’अहिले यो गीत मेरो च्यानलमा छैन । युवासङ्घका कार्यकर्ताको फोन आएपछि गीत हटाएको हुँ । केही शब्द परिमार्जन गरेर यमराजको फुटेज, राष्ट्रपतिको शब्दमा केही हेरफेर गरेर युट्युबमा राख्नेछु । जनतामाझ बताइदिनुस् भैरहेको के हो ? भनेर पनि राख्न सक्छु ।’



लाेकपाटी न्यूज

