पश्चिम नवलपरासी । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा विभिन्न कार्यक्रमहरु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
लैंगिक हिंसा सम्वन्धी सचेतना कार्यक्रम ४ वटा, कानूनी सचेतना कार्यक्रम १ वटा, किशोरी आत्मरक्षा कार्यक्रम २ वटा, सरसफाई कार्यक्रमहरु जिल्लामा १६ ठाउँमा भएको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पश्चिम नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।
त्यस्तै एकीकृत घुम्ती स्वास्थ्य सम्वन्धि कार्यक्रम १ वटा, सडक सुरक्षा कार्यक्रम ६ वटा गरिएको छ । विद्यालय सम्पर्क समिति ८ वटा गठन गरिएको छ भने प्रहरी कार्यालयमा विद्यार्थीको अवलेकन भ्रमण एक पटक गराइएको र विद्यालय सम्पर्क कार्यक्रमहरु लागूऔषध, सडक सुरक्षा, साइवर क्राइम लगायत २७ वटा कार्यक्रम गरिएको उपरीक्षक भट्टले बताए ।
त्यस्तै समाजमा घट्ने अपराध न्यूनीकरण सम्वन्धि कार्यक्रमहरु बालविवाह, दाइजो, बोक्सी प्रथाजस्ता सामाजिक अपराध न्यूनिकरण सम्वन्धि कार्यक्रमहरु भएका छन् । पछिल्लो समयमा बढ्दै गइरहेको सडक दुर्घटना न्यूनिकरण गर्नका लागि इलाका प्रहरी कार्यालय सुनवलले एकहप्ते सवारी दुर्घटना न्यूनिकरण सम्वन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको भट्टले बताए ।
त्यस्तै लागूऔषध सम्वन्धि सडक नाटक एकपटक, सवारी चालकहरुको स्वास्थ्य परीक्षण तीनपटक गरिएको छ भने २५ जना फरार अभियुक्त पक्राउ तथा फैसला कार्यान्वयन सम्वन्धि काम सम्पन्न भएको छ । त्यस्तै लागूऔषध दुब्र्यशनीविरुद्ध सङ्गत नामक सडक नाटक प्रर्दशन गरिएको र कार्यालय परिसरमा एल.इ.डि जडान गरी समुदाय प्रहरी साझेदारी कार्यक्रम र चेतनामूलक सन्देश प्रशारण भइरहेको उपरीक्षक भट्टले जानकारी दिए ।
विशेषगरि नवलपरासीको दक्षिणी भागमा लागूपदार्थ सेवन र ओसारपसार गर्ने समस्या विकराल रहेको भन्दै आफूहरुले सञ्चालन गरेको लागूऔषध विरुद्धका कार्यक्रम समुदाय र विद्यालयहरुबाट बढी माग भएको भट्टको भनाइ छ । त्यस्तै घरेलु हिंसा, बाल विवाह, बहुविवाह सम्वन्धि चेतनामूलक कार्यक्रम पनि प्रभावकारी रहेको भट्टले बताए ।



लाेकपाटी न्यूज

