लक्ष्मण घर्तिमगर
बाध्यता या कर्मले, थुप्रै हण्डर–ठक्कर पश्चात जीवनको आधा बसन्तमा बाँकी जिन्दगी सँगै बिताउने भनि अधबैँशे जोवन साटेका दम्पतिजस्तै हो, पूर्वमाओवादी र पूर्वएमालेको समीकरणबाट बनेको नेकपा । ती अधबैँशे दम्पतिले आफ्नै खालका पूर्वाद्र्धका सुखदुख दुवैले स्वीकारेर नगएसम्म जीवनका पाङ्ग्रा केही गरी पनि गुडाउन सक्दैनन् । अन्यथा अन्तरकलह र मुनमुटावको बिजारोपण हुन्छ, उनीहरूको वैवाहिक जीवन असफल हुन्छ । नेकपाको हकमा पनि द्रुस्तै त्यही हो । देखावटी एकता गरेर मात्रै हुँदैन । दुवै पार्टीका छुट्टाछुट्टै जुन इतिहास छ, ती सबै आफ्नै इतिहास सम्झी स्वीकार नगरेसम्म एकताले कुनै हालतमा सार्थकता पाउँदैन ।
तोरी र कोदोको गेडासँगै मिसाइयो भने मात्रात्मक हिसाबले त्यो धेरै देखिन्छ, झण्डै उस्तै–उस्तै पनि देखिन्छ । तर, गुणात्मक रुपमा किमार्थ ती दुईको मिलनविन्दु भेटिँदैन । दुवैले आ–आफ्नै विशेषता देखाइहाल्छन् । र अन्तत त्यो मिसावट निरर्थक बन्छ । विगत ८/१० महिनादेखि पूर्ण रुपमा एकता हुन नसकिरहेको नेकपाको पछिल्लो हविगत र विशेषतामा पनि कहीँ न कहीँ तोरी र कोदोको मिश्रणजस्तो र अधबैँशे जोवन साटेका तर एकअर्काको सुखदुख स्वीकार गर्न नसकेका दम्पतिको सम्बन्धजस्तो देखिन थालेको छ । कतै न कतै आ–आफ्ना खास विशेषता र पारा देखाउन खोज्दैछन् । यसको प्रष्ट दृश्य पूर्वमाओवादीले मनाउँदै आएको महान जनयुद्धको २४ औँ जनयुद्ध दिवस मनाउने क्रम र प्रक्रियामा देखिएको बडो नमिल्दो समय सन्दर्भमा देख्न सकिन्छ, जुन फागुन १ गते देखियो ।
प्रचण्डले केन्द्रीय पार्टी कार्यालय धुम्बाराहीमा जनयुद्ध दिवसको सट्टा नाम परिवर्तन गरेर आयोजना गरीएको “जनआन्दोलन र जनयुद्धका सहिदहरूको स्मृति दिवस” कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बडो मझ्धार र समानुपातिक मन्तव्य राख्दै थिए । दुवै अध्यक्षको सहमतिमा यो कार्यक्रमको आयोजना गरिएको तर अर्का अध्यक्ष केपी शर्मा ओली सरकारको विशेष कामले आउन नसकेको भन्ने उनले जनयुद्धको दिवस फागुन १ लाई मात्रै सम्झेनन्, पूर्वएमालेको झापा विद्रोहको पनि स्मरण गरे, स्वर्गीय नेता मदन भण्डारीलाई पनि सम्झे । र उनले आफ्नै पहलमा मदन भण्डारीको स्मृति दिवसकै दिन पार्टी एकता गर्दा त्यो नै मदन भण्डारीको सच्चा सम्मान हुने सोँचेर जेष्ठ ३ गते नै पार्टी एकता गरिएको पनि बताए ।
प्रचण्डले पूर्वएमालेका लागि मदन भण्डारी स्मृति दिवस विशेष रहेको र पूर्व माओवादीका लागि जनयुद्ध दिवस विशेष रहेको हुँदा यी दुईको एकताबाट बनेको नेपाल कम्युनिस्ट पार्टीले दुवै दिनलाई विशेष सम्झना र सम्मानका साथ मनाउनुपर्छ, भन्दै गर्दा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने त्यो ऐतिहासिक दिनको उत्सवपूर्ण कार्यक्रममा त गएनन् नै । तर, बिडम्बना प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ कार्यक्रममा त्यत्रो लामो हाँस्य व्यङ्ग्यात्मक सम्बोधन गर्ने क्रममा आफ्नो पार्टी कार्यालयमा भइरहेको जनयुद्ध दिवस कार्यक्रमको नाममा एक शब्द पनि खर्चेनन् ।
उनलाई आफ्नै अर्का अध्यक्षको सम्बोधन र आफ्नै पार्टी मुख्यालयमा भइरहेको त्यस कार्यक्रमबारे थाहा नहुने त कुरै भएन । तर, त्यसबारे शब्द खर्चिन नचाहनु भनेको उनले जनयुद्ध दिवसको मतलव नराख्नु हो, माओवादीको इतिहासलाई स्वीकार र सम्मान गर्न नसक्नु हो र समग्रमा हिजोको माओवादी आन्दोलन र त्यो पार्टीको अपमान गर्नु हो । जुन प्रष्ट देखाइसकेका छन् । अर्का वरिष्ठ नेता माधव कुमार नेपालले पनि जनयुद्ध दिवस आफूहरूलाई कुनै सरोकार नरहेको बताइसकेका छन् ।
हुन त यो नै सबैथोक त होइन । सबै बिग्रिहाल्यो भन्ने पनि होइन । तर यसले के शन्देश दिन्छ भने पूर्वएमाले नेतृत्व तर्फबाट एकोहोरो रोटी पकाउने दुस्साहस गरिँदैछ, कहीँ न कहीँ पार्टीमा साँढे प्रवृत्ति देखाउन खोजिएको छ । र यस बेला प्रश्न उठ्छ – के यसरी नै एकअर्काको इतिहासको कदर गर्दै नजाने हो भने, यो दुईवटा पाइलटले नेतृत्व गरेको नेकपा भन्ने पार्टीको जहाज निरन्तर चल्ला ? र, अर्को प्रश्न – महान सहिदहरूको एउटा प्रक्रियागत सम्मानसम्म पनि गर्न नसक्ने नेता र नेतृत्वले के देशलाई समाजवादउन्मुख बनाउलान् ?
नेकपाका सदस्य वैदेशिक रोजगारीका क्रममा जापानमा कार्यरत छन् ।



लाेकपाटी न्यूज

