काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले रेल भन्दा पहिला पानी जहाँज आउने विश्वास व्यक्त गरेका छन् । उनले यहाँको खोलाका चौडाइ र गहिराइका आधारमा जहाज निर्माण गर्न पनि इञ्जिनीयरहरुलाई सुझाव दिएका हुन् ।
ललितपुरको एकान्तकुनामा नेपाल पानीजहाज कार्यालयको उद्घाटनको क्रममा उनले पानी जहाजका लागि केही महिना पर्खन आग्रह गरेका हुन् ।
पानी जहाँजको टिकट कहिले पाइन्छ भन्दै प्रश्न उठाउने बिपक्षीदेखि सुभेच्छुकलाई केहि समय पर्खन आग्रह गरे । उनले भने, ‘अहिले कस्तो जहाज बन्ने गर्छ, त्यो हेरेर होइन नेपालको भूबनोटअनुसार जहाज निर्माण गर्नुपर्छ ।’
उनले विसं २०२७ मा नै पानीजहाजको सम्भावनाका बारेमा अध्ययन भएका स्मरणसमेत गर्दै गत वर्ष भारत भ्रमणको क्रममा पानीजहाज सञ्चालन र काठमाडौँ-रक्सौल रेलको सम्भावनाका विषयमा छलफल भएको जानकारी दिए ।
भारतसँग ‘कनेक्टिभिटी’ (सम्पर्क सञ्जाल) मा नयाँ आयाम थपिएको पनि उनले बताए । अहिलेसम्म सडक र हवाईमार्गबाट मात्रै जोडिएकामा जल यातायात र रेल यातायातबाट पनि हामी जोडिने उनको भनाई छ ।
भौतिक योजना तथा यातायात मन्त्रालयले आयोजना गरेको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले कार्यालयको स्थापनाले पानीजहाजको शुरुआत र विकासका लागि ढोका खोलेको बताए ।
नेपालमा धेरै नदीमा जल यातायातको सम्भावना रहेकाले नेपाल पूर्णरूपमा भूपरिवेष्ठित देश नभएको उनको भनाई छ । उनका अनुसार भारतको गङ्गा नदीमा नेपालकै नदीबाट सुख्खायाममा ७२ प्रतिशत र वर्षायाममा ४० प्रतिशत पानी नेपालबाट नै जान्छ । उनले भने, ‘भारतका ठूला नदी र समुन्द्रको टाउकोमा बसेर हामी भूपरिवेष्ठित भनेर खुम्चनु हुँदैन ।’
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले राष्ट्रिय झण्डा राखेर पानीजहाज चलाउनु नेपालका लागि गर्वको विषय भएको बताए । भूपरिवेष्ठित देशमा पानीजहाज धेरै नेपालीले असम्भव विषय सोच्ने गरेको उल्लेख गर्दै उनले भने, ‘हिजो पानीजहाज सम्भव छ र ? भन्नेहरुले नै हामीलाई घच्घच्याइरहनु भएको थियो ।’



लाेकपाटी न्यूज

