जनताको जलविद्युत आयोजनामा कुन–कुन योजना परे ?

BudhiGandaki
प्रतीकात्मक तस्बिर
लाेकपाटी न्यूज

काठमाडौं, २ फागुन । समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक तुल्याउनको लागि सरकारले बिहीबार ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रम गरेको छ ।

काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजित ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रमलाई प्रधानमन्त्री के पी शर्मा ओलीले सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले मुलुक समृद्धिको दिशामा अघि बढेको बताउँदै अब समृद्ध नेपाल सुखी नेपाली नारा सार्थक हुने स्पष्ट पारेका छन् ।

कार्यक्रममा बोल्दै ऊर्जामन्त्री वर्षामान पुनले नेपालको सबैभन्दा धेरै उपलब्ध प्राकृतिक स्रोत पानीको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुरुप जनताको सहभागितामा सही ढङ्गबाट प्रयोग गरी समृद्धिको सपना साकार पार्न सो कार्यक्रम संचालनमा ल्याइएको बताएका छन् ।

यो कार्यक्रलाई जनताको पकेट पकेटमा रहेको सानो सानो लगानीलाई संलग्न गराइ हरेक जनतालाई शेयरधनी बनाएर जनसहभागीतामार्फत कार्यक्रम अघि बढाइने जानकारी पाइएको छ ।

अहिलेसम्म सर्वसाधारण जनता र सरकारी निकायको संयुक्त लगानीमा निर्माण गर्न १९ वटा प्रस्तावित योजनाहरु रहेको जानकारी पाइएको छ । जसअन्तर्गत किमाथांका अरुण, अपर अरुण, इखुवा, अरुण ४, घुन्सुवा खोला र सिम्बुवा खोला गरी प्रदेश नं. १ मा ६ वटा, तामाकोशी ५ र त्रिशुली ३ बि गरी प्रदेश नं. ३ मा २ वटा, बुढिगण्डकी ग्वारखोला, बुढिगण्डकी प्रोक १ र २ र बुढिगण्डकी (क) गरी प्रदेश नं. ४ मा ४ वटा, प्रदेश नं. ५ मा भेरी बबई डाइभर्सन १ वटा, फुकोट कर्णाली, जगदुल्ला १ र २ गरी प्रदेश नं. ६ मा ३ वटा र चैनपुर सेती, सेती नदी ३ र अपर सेती गरी प्रदेश नं. ७ मा ३ वटा योजनाहरु रहेका छन् ।

यी प्रस्तावित योजनाहरुको प्रबद्र्धक संस्थामा विद्युत उत्पादन कम्पनी लि., नेपाल विद्युत प्राधिकरण, रेमिट हाइड्रो लि., चिलिमे हाइड्रोपावर कम्पनी लि., विद्युत विकास विभाग र त्रिशुली ३ बि कम्पनी लि. गरी ६ वटा संस्था तथा कम्पनी रहेका छन् ।

जनताको सहभागीता रहने यी १९ वटा योजनाबाट ३ हजार मेघावाट विद्युत निकाल्न सकिने र त्यसका लागि ७ खर्ब लागत लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्