काठमाडौं, २८ माघ । नेपाली कांग्रेसले केन्द्र, प्रदेश र स्थानीय तीनै तहका सरकारलाई चेतावनी दिएको छ ।
कांग्रेसले वीरगञ्ज महानगरपालिकामा बीपी उद्यान नबनाइए थेग्नै नसक्ने गरी सडक र सदनबाट विरोध गर्ने चेतावनी दिएको हो ।
प्रदेश नं २ का मुख्यमन्त्रीले गत माघ १६ गते सोही जग्गाको १० विगाहमा शहिद पार्क बनाउने भनी शिलन्यास गरेका थिए । वीपी उद्यान बनाउन भनी करोडौं रुपयाँमा खरिद गरिएको जग्गामा अर्कै पार्क बनाउने षड्यन्त्र भएको भन्दै काँग्रेसले आपत्ति जनाएकोे नेपाल समाचारपत्रले जनाएको हो ।
तत्कालीन श्रम तथा यातायात मन्त्री डा प्रकाशचन्द्र लोहनीले ०६० साल कार्तिक २७ गते नै उक्त जग्गामा बीपी उद्यान बनाउने भनी शिलान्यास गरेका थिए । ०६० पुस २४ गते जारी धनिपुर्जामा ‘मन्त्रीपरिषद्को ०६०।७।२७ को निर्णयबमोजिम उपमहानगरपालिकाले वेचविखन एवं हक हस्तान्तरण गर्न नपाउने गरी, वीपी उद्यानवाहेक अन्य कुनै पनि प्रयोजनमा प्रयोग गर्न नपाउने उल्लेख छ ।
‘प्रदेश सरकारका मुख्यमन्त्रीले शिलान्यास गरेको विषय केन्द्रिय सरकारलाई जानकारी नहुने भन्ने हुँदैन’ काग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘यो जग्गा जे प्रयोजनका लागि खरिद गरिएको त्यहि बन्नुपर्छ ।’
काग्रेस केन्द्रीय समितिले उक्त निर्णय कायम राखी यथाशिघ्र उद्यान बनाउन माग गरेको छ ।
नेपाल यातायात संस्थानको नाममा रहेको १० विगाह जग्गा १० करोड रुपियाँमा खरिद गरी वीपी उद्यान बनाउने योजना बनाइएको थियो । तर यस अभियानमा लागेका तत्कालीन नगरप्रमुख गोपाल गिरीको जग्गा पास भएको एकसाता पछि रहस्यमय ढंगले हत्या भएको थियो ।
तत्कालीन विद्रोही माओवादीले हत्या गरेको भनिए पनि जग्गा पासलगत्तै गिरीको हत्या भएकाले काँग्रेसले अझै गहिरो छानवीन हुनुपर्ने माग उठाउँदै आएको छ । काँग्रेसले तत्काल पुरानो निर्णयबमोजिम निर्माण प्रक्रिया अघि बढाउन तीनै तहका सरकारलाई आग्रह समेत गरेको छ ।



लाेकपाटी न्यूज

