जाजरकोट, २८ माघ । खलङ्गा –पाँचकाटीया सडकमार्ग खुलेको १२ वर्ष बितिसक्दा पनि सडक बन्न सकेको छैन् ।
सडक विभाग, भेरी नगरपालिकालगायत निकायले सडकको मर्मत सुधारमा बेवास्ता गर्दा खलङ्गा –पाँचकाटीया २३ किलोमिटर सडब हालसम्म बन्न नसकेको हो । सम्बन्धित निकायले खलङ्गा –पाँचकाटीया सडकमा यातायात सञ्चालन गर्न ध्यान नदिएकोले यात्रुलाई सास्ती भएको हो ।
कुशे गाउँपालिका र बारेकोट गाउँपालिकाका बासिन्दालाई आवतजावतमा सास्ती भइ रहेको छ । हिउँदमा धुलाम्मे तथा बर्खा लागे हिलाम्मे हुने सडकका कारण जनताले सास्ती खेप्नुपरेको छ । सडकमा मोटरसाइकलसमेत पार गर्न मुस्किल हुने गरेको कृषि प्राविधिक यज्ञबहादुर रोकायले बताए ।
करोडौँ खर्च गरेर निर्माण गरेको उक्त सडकमा ६ महीना पनि यातायात सञ्चालन हुँदैन । सडकको ट्र्याक खुलेकै वर्षौ बित्यो, तर स्थानीयवासीले यातायातको सुविधा पाउन सकेका छैनन् । सडक यातायात सञ्चालन नहुँदा दुर्गम गाउँमा खाद्यान्नका साथै दैनिक उपभोग्य वस्तुको ढुवानीमा समस्या भएको भेरी नगरपालिका–२ बाहुनथान स्थानीय व्यापारी टिकाराम खड्काले बताए ।
डिभिजन सडक कार्यालय चौरजहारीले सडकको स्तरोन्नतितर्फ बेवास्ता गर्दा वर्षेनी स्थानीयवासीले सास्ती खेप्नुपरेको उनको भनाई छ ।
दर्जनौँ स्थानमा घुम्ती तथा ग्रेडिङ नमिल्दा सडकमा यातायात सञ्चालन हुन नसकेको हो । पर्यटन र कृषि उत्पादनका हिसाबले महत्वपूर्ण मानिने यो सडकको छिटो स्तरोन्नति र निर्माण सम्पन्न हुनुपर्ने स्थानीयवासीको माग छ ।



लाेकपाटी न्यूज
