विपुल पोख्रेल
आफूसँग भेटघाट गर्न आउने कार्यकर्तालाई ‘पारदर्शी ढंगले आर्थिक व्यवस्थापन गरी परिवारलाई समस्यामा नपारेर मात्र पार्टीलाई समय दिन’ आग्रह गर्ने नेता कमै होलान् । सुशील कोइरालाले थुप्रै आफ्ना कार्यकर्तालाई पटकपटक यसो भनेको मैले सुनेको छु । कार्यकर्ताको आर्थिक व्यवस्थापनका बारेमा चासो राख्नु र पारदर्शी रुपमा त्यसको व्यबस्थापन गरेर परिवारमा संकट आउन नदिने बन्दोबस्तका साथ मात्र पार्टीलाई समय दिन भन्नुको अन्तर्य राजनीति कुनै पनि हालतमा पेशा व्यवसाय हुन सक्दैन भन्ने मान्यताप्रतिको दृढ विश्वास हो । यति मात्र होइन, राजनीतिलाई पेशा वा व्यवसाय बनाउन दिन्न भन्ने बलियो प्रतिवद्धता पनि हो ।
पाकिस्तानमा भएको पछिल्लो निर्वाचनबाट प्रधानमन्त्री बनेका इमरान खानले पदमा नियुक्त हुनासाथ अधिकांश सरकारी सुबिधा त्यागी सादगीपूर्ण जीवन बिताउने घोषणा गरे । यो घोषणासँगै उनको निकै प्रशंसा पनि भयो । यस्तो घोषणा गर्दैगर्दा उनले भने, ‘म नेपालका पहिलेका सरकार प्रमुख सुशील कोइरालाको जीवनशैलीबाट प्रभावित छु ।’ शपथ ग्रहणपछि विश्वका सादगीपूर्ण प्रधानमन्त्रीहरूको नाम लिने क्रममा उनले सुशील कोइरालाको पनि नाम लिए र आफू सुशील कोइरालाबाट अत्यधिक प्रभावित भएको भन्दै उनको पदचापमा हिडेको जिकिर गरे । इमरानले उनले विश्वका अन्य सादगीपूर्ण नेताको नाम लिने क्रममा उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुहिका र मलावीकी पहिलो महिला राष्ट्रपति जोएस बाण्डाको पनि नाम लिएका थिए ।
सुशील कोइरालाको बारेमा एउटा हिन्दी पत्रिकाले लेखेको थियो, ‘मकानमे रहनेवाले नेपालके प्राइमिनिस्टर बने ।’ अर्थात् भाडामा बस्ने व्यक्ति नेपालका प्रधानमन्त्री बने । सुशील कोइराला प्रधानमन्त्री भएपछि एउटा समाचारमा बीबीसीले लेखेको थियो ः ‘प्रधानमन्त्री निवास बालुवाटारमा सर्नुअघि सुशील कोइराला काठमाडौंमा भाडाको घरमा बस्नुहुन्थ्यो । उहाँ पहिले पनि काठमाडौं आउँदा होटेलमा बस्नुको साटो भाञ्जाको घरमा बसेको बताइन्छ ।’ सुशील कोइराला नेपालगञ्जमा रहदाँ भाइको घरमा बस्ने गर्दथे ।
नेपाली समाज अहिले भ्रष्टाचारको दलदलमा छ । आर्थिक मितव्ययी संस्कृति पूर्ण रुपमा स्खलित हुँदै छ । समाजमा कोही पात्र वा व्यक्ति इमान्दार देखिए वा आर्थिक रुपमा निस्कलङ्क देखिए तिनलाई अपवादका रुपमा लिने गरेको पाइन्छ । राजनीतिक नेतृत्वमा बस्नेहरुको जीवनशैली हेर्दा उनीहरुको आम्दानीको स्रोत के होला ? भन्ने प्रश्न स्वभाविक रुपमा उठ्छ । उनीहरुको आम्दानीको स्रोत पारदर्शी रुपमा देखाउन सकिने अवस्था छैन । राजनीतिक नेतृत्वमात्र होइन, कर्मचारी क्षेत्र, प्रहरी, सेनालगायत राज्यकोषबाट सुबिधा लिनेमध्ये धेरैको जीवनशैली पनि प्राप्त सुविधाको तुलनामा धेरै नै बिलासीपूर्ण देखिन्छ ।
बिभिन्न अध्ययन अनुसन्धानले नेपाललाई भ्रष्टाचार हुने देशहरुको सूचिमा उल्लेख गरेका समाचारहरु आइरहन्छन् । यी रिपोर्टहरुसँगै नागरिकको भोगाइले पनि भ्रष्टाचार मौलाएको देखाउँछ । केही दिन अगाडि ‘जी टु जी’ सम्झौता अनुसार कामदारका रुपमा कोरिया जाँदै गरेका एकजना भाइले भिसा लागेको पासपोर्ट पाउनका लागि सरकारी कार्यालयका कर्मचारीलाई २० हजार बुझाएको र पछि ५० हजार दिनुपर्ने भनेको कथा सुनाउँदै थिए । कामदारका रुपमा ऋण काडेर विदेश जानेहरुसँग समेत निर्दयी भएर घुस लिनेहरुको संख्या ठूलै छ । ‘स्वरोजगार शुरु गरुँ’ भनेर ऋण माग्नेहरुसँग पनि घुस लिने गरेका उदाहरण छन् । भ्रष्टाचारविरोधी योजना परियोजना सम्पन्न हुँदासमेत थुप्रै नक्कली बिलहरु बनेका घटना दैनिक जीवनमा देख्न पाइन्छ । यस्ता धेरै भोगाइहरु छन्, नागरिकका माझ, जसले मुलुकमा भ्रष्टाचारको संस्कृति व्यापक रुपमा प्रभावशाली हुँदै गरेको पुष्टि गर्दछ ।

यिनै माझमा थिए सुशील कोइराला । तर, पनि यस्ता बिकृत संस्कृतिको छिटा आफूमा पर्न नदिएर र आफ्ना नजिककाहरुलाई पनि त्यसो नगर्ने उत्प्रेरित गरेर उनले आफूलाई उभ्याउन सके । उनी प्रधानमन्त्री भएका बेला प्रधानमन्त्री कार्यालयको खर्च विवरण वेभ साइटमा राख्न लगाएर सुशासनको अध्यायको प्रारम्भ गरे । त्यसको निरन्तरता मात्र होइन, त्यो अध्यायलाई संस्कृतिका रुपमा अगाडि बढाउन प्रधानमन्त्रीको पदमा जो–सुकै बसे पनि लाग्नु पर्ने हो । तर, त्यस्तो अनुभुति गर्न पाइरहेका छैनौं ।
समकालिन राजनीतिको नेतृत्व पंक्तिमा यस्तै सादगी जीवनशैली देखियोस् भन्ने आम अपेक्षा छ । सुशील जस्तै जनताप्रति प्रतिबद्ध रही निर्णय गर्ने नेता देखिउन् भन्ने अपेक्षा छ । संविधानसभावाट संविधान बन्न सक्नुका पछाडि उनको जनताप्रतिको बलियो विश्वास र प्रतिवद्धता नै हो । उनले शालीन ढंगले विदेशी र स्वदेशी चलखेललाई बेवास्ता गर्दै संविधान घोषणा गर्ने परिवेश निर्माण गरे । त्यतिमात्रै गरेनन्, संविधानप्रति सबैको अपनत्व बढाउन तत्कालै संविधान संशोधनको प्रस्ताव संसदमा लगे । नेपाली राजनीतिमा तत्काल समस्याको सम्वोधनको पहल भएको घटनाको सूचिमा त्यो संविधान संशोधनको प्रस्ताव पर्दछ भन्न सकिन्छ ।
सादगीपूर्ण जीवनका पक्षपाती, जनता नै सम्पूर्ण शक्तिको स्रोत हुन् भन्ने मान्यतामा दृढ र कुनै पनि अवस्थामा राजनीतिलाई पेशा वा व्यवसायका रुपमा ग्रहण गर्न तयार नभएका नेता सुशील कोइरालाको जीवनशैली समकालिन राजनीतिक नेतृत्वले अनुशरण गर्ने हो भने नेपाल पनि सुशासनको मार्गमा हिड्ने अवसर पाउँथ्यो होला । सुशीलजस्तै जीवनशैली बिताउछु भन्ने पाकिस्तानका प्रधानमन्त्री इमरान खानजस्तै आँट हाम्रा नेताहरुले पनि देखाउन सके सुशीलप्रति सच्चा सम्मान हुनेछ ।



लाेकपाटी न्यूज

