क्रिकेट रंगशालाका पक्षमा खुला पत्र

Yadav Subedi
दक्षिण कोरियाको जस्तो सरकारलाई आफ्नो श्रीसम्पत्ति दिएर देश विकासमा लगाउनुपर्यो भने के होला ? कतै हामीले नेपाली नागरिकता नै त त्याग्दैनौं ? सकिन्छ सहयोग गरौं, सकिँदैन यो हुनुपर्नेमा किन यो गरेको, किन स्टेडियम बनाएको, किन अस्पताल–स्कूल नबनाएको जस्ता बेतूक र असान्दर्भिक प्रश्न गर्दै भाँजो हाल्ने काम नगरौं ।
लाेकपाटी न्यूज

यादव सुवेदी

आदरणीय विकासप्रेमी नेपाली दाजुभाइ दिदीबहिनीहरु,
समाजसेवी धुर्मुस–सुन्तलीको परिकल्पनास्वरूप बल्लतल्ल बन्दै गरेको हाम्रो देश नेपालको एकमात्र अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हो । रंगशाला निर्माणमा हामी सबैको सहयोग हुनुपर्ने हो । तर, केही साथीहरु सरकारले बनाउनुपर्छ भन्नुहुन्छ । हो, बनाउनु पर्ने त सरकारले नै हो, तर देश बनाउन अरुसँग सहकार्य गर्न हुँदैन ?

तपाईहरु जनताको पैसाले बनाएको ‘मोडेल स्टेडियम’ भनेर गर्व गर्ने अवसरलाई किन गलत तरीकाले मात्र लिनुहुन्छ ? ५००–१००० सहयोग गरेर देशमा रंगशाला बनाउन यत्रो विवाद झिक्ने नेपालीले दक्षिण कोरियाको जस्तो सरकारलाई आफ्नो श्रीसम्पत्ति दिएर देश विकासमा लगाउनुपर्यो भने के होला ? कतै हामीले नेपाली नागरिकता नै त त्याग्दैनौं ? सकिन्छ सहयोग गरौं, सकिँदैन यो हुनुपर्नेमा किन यो गरेको, किन स्टेडियम बनाएको, किन अस्पताल–स्कूल नबनाएको जस्ता बेतूक र असान्दर्भिक प्रश्न गर्दै भाँजो हाल्ने काम नगरौं ।

बरु, हेर सरकार तैले नबनाएर, तैले जिम्मेवारी नलिएर हामीले सहयोग उठाएर स्टेडियम बनाउनुपर्यो, अस्पताल बनाउनु पर्यो, किड्नी फेलर, हात गुमाएका, अरबमा मृत्युडण्ड पाएकाहरुको उद्दार गर्नुपर्यो । तलाई लाज सरम छ भने भ्रष्टाचार नियन्त्रण गर, सुशासन कायम गर, भ्रष्टाचारीको सम्पत्ति जफत गर, आफ्नो जिम्मेवारी पूरा गर भनेर खबरदारी गरौं । अनि धुर्मुस सुन्तलीको यो अभियानमा मन खोलेर दुनिया दिवाना विवाद नझिकी आफ्नो अतिरिक्त खर्च बचाएर भए पनि सहयोग गरौं ।

राम्रो गर्छु भन्ने मान्छेको मनोबल नगिराऔं । धेरैपटक सुनेको जापानको विकासबारे एउटा प्रसिद्ध कथा छ, ‘एउटी बृद्धा सार्वजनिक बसमा चढेर यात्रा गर्दै थिइन् । उनको नजिकैको सिट च्यातिएको रहेछ । बृद्धा महिलाले झोलाबाट सियो र धागो निकालेर सिट सिउन थालिन् । सबैले मूखामूख गरे, ‘वृद्धा महिलाले भनिन्, देश बनाउन सबैले आफूले सक्ने सहयोग गर्नुपर्छ ।’ सबै नतमस्तक बने । ती महिलाले सोचिन्, ‘यो सरकारको मात्र होइन, मेरो पनि जिम्मेवारी हो ।’ यो हाम्रा लागि एउटा उदाहरण हुन सक्छ ।

गौतम वुद्ध अन्तर्राष्ट्रिय रंगशाला हाम्रो गौरव हो । रंगशाला बन्दा हाम्रै देशको विकास हुन्छ, हामीले नै रोजगारी पाउँछौं, हाम्रै आय बढ्छ । मेरो विचारमा यसले कसैलाई पनि घाटा पुर्‍याँउदैन । बरु, हामीले निर्माण गरेर सरकारलाई चुनौति दिउँ, विश्वलाई नयाँ सन्देश दिउँ। के यसो गर्न सकिँदैन ? खेलबाट पनि देशलाई चिनाउन सकिन्छ भन्ने उदाहरण विश्वमा धेरै छन् ।

विश्वस्तरीय खेलमा नेपालको नाम पुच्छरमा देख्दा हाम्रो पनि मन दुख्छ । सबै कुरामा सरकारको मात्र मूख ताक्ने हो भने देश बन्दैन, देश बनाउने पौरखी हातहरु हामीसँगै छन् । धुर्मुस्–सुन्तलीले ठूलो अठोट लिएका छन् । उनीहरुको अठोटमा चिसो पानी खन्याउनु के बहादुरी हो ? रंगशालालाई सहयोग गर्दा के हामीले घरखेत बेच्नुपर्छ ? अनि रंगशालाको विरोध गरेर तपाईलाई पुण्य पनि त मिल्दैन ।

मन ठूलो बनाएर फाल्तु खर्च बचाएर सहयोग गरौं । सहयोग गर्न नसके विरोध नगरौं । क्रिकेट रंगशालाको विषयलाई लिएर देश विदेशबाट सामाजिक सञ्जालमा आएका टीकाटिप्पणी दुखद् छन् । हामीमा यति धेरै नकारात्मक सोंच आउनु हुँदैन । यो धुमुर्स्–सुन्तलीको मात्रै जिम्मेवारीको कुरा होइन । राम्रो र सकारात्मक काम जसले गर्दा पनि हुन्छ, त्यसका विरोध गर्नुपर्ने कुनै कारण रहँदैन, कामलाई कुनै पनि तर्कले जित्न सकिँदैन ।

सरकारलाई गाली गर्नुअघि, नकरात्मक टिप्पणी गर्नुअघि म आफूले राष्ट्रका लागि कति योगदान गरेको छु भन्ने हेक्का राख्नुपर्छ । आफ्नो आतमूल्याङ्कन नगरी हरेक कुराको विरोध गर्नु राम्रो संस्कृति पनि होइन । यसले तपाईकै सामाजिक छवि कमजोर बनाउँछ, व्यक्तिगत जीवनमा सधैं नकारात्मक चिन्तनले घर गर्दछ । के हामी विरोधका लागि विरोध गरिरहेका त छैनौं ?

देश बनाउने जिम्मा सिंहदरबारमा बस्नेहरुको मात्रै होइन, तपाईं हाम्रो पनि हो । तर, विडम्बना धुर्मुस–सुन्तलीले क्रिकेट रंगशाला रेणु दाहालको महानगरमा बनाउने घोषणासंगै केही मित्रहरूले विरोध गर्न सुरु गरे । हिजो बस्ती निर्माण गर्दा हाइहाई गर्नेहरु नै आज धुर्मुस–सुन्तलीलाई सहयोग गर्नु हुँदैन भन्दै हिडेको भेटिन्छ । सहयोग गर्ने नगर्ने त्यो तपाईंको व्यक्तिगत ईच्छाको कुरा हो, आफू पनि सहयोग नगर्ने अरुलाई पनि गर्न नदिने यो कस्तो बाँदरे मानसिकता हो ?

रंगशाला बनाउने जिम्मा सरकारको हो, सरकारले पनि विभिन्न खेल मैदानहरु बनाउँदै छ । फुटबल, भलिबल लगायतका खेलहरुका लागि खेल मैदान बनाउने क्रम जारी पनि छ । तर, एउटा नागरिकले व्यक्तिगत ईच्छाले म यो देशमा रंगशाला बनाउछु भनेर सरकारसँग समन्वय गर्न आउँछ भने यसमा राज्यले सहयोग गर्नुपर्छ । धुर्मुस–सुन्तलीका सन्दर्भमा पनि सरकारले त्यही निर्णय गरेको हो । तर, धुर्मुस–सुन्तलीले सरकारसँग हात मिलाउनेबित्तिकै विकास विरोधी साथीहरूले नानाथरिका फाल्तु कुराहरु गर्न थालेका छन्, यो दुखद कुरा हो ।

धेरै मान्छेले प्रचण्ड परिवारसँग धुर्मुस्–सुन्तली जोडिएको हुनाले पनि विरोध गरेको देखिन्छ, यो एकदमै सङ्किण, गलत मानसिकता हो । देश बनाउने हो भने छाति फराकिलो बनाउन सक्नुपर्छ । सरकारलाई गाली गरेर आफू अब्बल दर्जाको क्रान्तिकारी टोपलिने मनोवृत्तिलाई अब समाजले मान्दैन । तसर्थ, आउनुस्, हामी सबै मिलेर रंगशाला निर्माणमा सहयोग गरौं ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्