– मनहरि तिमिल्सिना
राष्ट्रिय मुक्ति आन्दोलनका अभियान्ता यासेर आराफात भन्थे, ‘हाम्रो उद्देश्य शून्यमा महल बनाउने होइन, धर्तीमा झुपडी बनाउने खालको हुनुपर्दछ ।’ आराफातको भनाइको तात्पर्य हो, ‘असम्भव कल्पनामा अल्झिएर भौतारिनुभन्दा सम्भव विषय वा कुराबाट नै कामको थालनी गर्नु बुद्धिमानी हुन्छ, त्यसले नै हामीलाई सफलताको चुचुरोमा पुर्याँउछ ।’
कुनै बेला राजनीतिक क्रान्तिका लागि ‘जिन्दावाद र मूर्दावाद’ मा दौडिने नेपाली समाज यतिबेला समृद्धिको नारामा लयवद्ध छ । केही साना राजनीतिक दल र व्यक्तित्वलाई छोडेर सबैको एक मात्र मिसन समृद्धि बन्न पुगेको छ । हाम्रो संविधानको पनि त्यही परिकल्पना छ, ‘समृद्धिको जगमा समाजवाद ।’ तर, हाम्रो समृद्धि र समाजवादको अन्तर्वस्तुबारे पर्याप्त बहस हुन सकेको छैन ।
समृद्धिको एजेण्डामा सिङ्गो देश एकमत छ । तर, यसको मोडालिटी कस्तो हुन्छ ? विकास योजनावद्द हुन्छ वा स्वतस्फूर्त ? यतातिर हामीले गम्भिर बहस थालेका छैनौं, आवश्यक अग्रसरता देखाएका छैनौं । तर, पछिल्लो पाँच वर्षको अवधिमा नीजि क्षेत्रले थालेका प्रयास निकै उत्साहवर्द्धक छ । मूख्यतः पर्यटन, उर्जा र पूर्वाधार विकासमा नीजि क्षेत्रको प्रयास अनुकरणीय देखिन्छ ।
नेपालको अर्थतन्त्र र प्रक्तिव्यक्ति आय वृद्धिका मूख्यतः तीन आयाम छन्, कृषि, पर्यटन र उर्जा । त्यसमध्ये कम लगानीमा अधिकतम मुनाफा लिन सक्ने, अधिकांश मानिसहरु स्वरोजगार बन्नसक्ने, सानो पूँजीबाट पनि अधिकतम् लाभ लिनसक्ने क्षेत्र पर्यटन नै हो । पर्यटन प्रवर्द्धनलाई केन्द्रमा राखेर नीजि क्षेत्रले साझेदारी मोडलमा पोखरा–पञ्चासे केबुलकारको अवधारणा अघि सारेको छ । यो लेख पञ्चासे केबुलकारकै विषयमा केन्द्रित छ ।
पोखरा–पञ्चासे केबुलकार
नीजि क्षेत्रको मूख्य लगानीमा पञ्चासे केबुलकार एण्ड टुर्स लिमिटेडले बृहत्तर पञ्चासे पर्टन पूर्वाधारयुक्त केबुलकार गुरुयोजनाअन्तर्गत ८.५ किलोमिटर लामो केबुलकारको परिकल्पना अघि सारेर प्रारम्भिक काम सुरु गरेको छ । सम्भवतः यो अहिलेसम्मको नेपालकै सबैभन्दा लामो दुरीको केबुलकार हुनेछ । नीजि, सामुदायिक, सहकारी र संस्थागत साझेदारीमा सञ्चालन हुन लागेको यस केबुलकारले बहुपक्षीय सहकार्यमा आफूलाई निर्भर बनाएको छ । जनताको लगानी र साझेदारी सुरुवात गरिएको यस परियोजना आफैंमा बहुआयमिक र चुनौतिपूर्ण पनि छ ।
केबुलकारमा २ स्थानमा स्टेशन राखिने र दोस्रो स्टेशनबाट ‘रोप–वे’ सञ्चालन गरिने निर्माण कम्पनिको गुरुयोजनामा उल्लेख छ । पोखरा–२३ को घाँटीछिनादेखि सिधाने कुभिडेडाँडासम्म पहिलो स्टेशन रहने र दोस्रो स्टेशन पञ्चासेमा राख्ने प्रस्ताव गरिएको छ । २ स्टेशन भएका कारण यात्रुहरुले सिधानेसम्मको टिकट काट्ने पनि सुविधा प्राप्त गर्नेछन् । स्थानीयबासीको मागलाई सम्बोधन गर्न २ स्टेशनको प्रावधानमा गएको कम्पनिले जनाएको छ ।
४०.८६ प्रतिशत आन्तरिक लगानी र ५९.१४ प्रतिशत ऋण लगानीको परिकल्पना गरिएको यस परियोजनामा प्रत्येक स्थानीयबासीले शेयरधनीको अवसर पाउनेछन् । ६०० भन्दा बढी लगानीकर्तालाई समावेश गरेर सञ्चालन गर्न लागेको परियोजनामा न्यूनतम् १ लाखदेखि अधिकतम् २५ लाखसम्मको शेयरको व्यवस्था गरिएको छ । बिपन्न नागरिकका लागि पनि शेयरसम्बन्धि व्यवस्था गरिएको परियोजनामा प्रभावित समुदायलाई रोजगारीमा प्राथमिकता दिइएको छ । रोजगारीबाट प्राप्त हुने तलबबाटै शेयर रकम कट्टा गर्न सकिने प्रस्ताव पनि कम्पनिले अघि सारेको छ ।
कुल ११ अर्ब ३८ करोडको लगानीमा सञ्चालन गर्न लागिएको पञ्चासे केबुलकारको पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पूर्वाधार निर्माणका लागि कम्पनिले निश्चित कार्यदल र कार्यतालिका तय गरेको छ । संस्थागत शेयरका साथै पर्वत, कास्की र स्याङ्जाका स्थानीयलाई जम्मा १५ प्रतिशत, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई ५ प्रतिशत, कर्मचारीका लागि ३ प्रतिशत, पत्रकारका लागि २ प्रतिशत, शिक्षकका लागि २ प्रतिशत, नेपाल प्रहरी र नेपाली सेनाका लागि २/२ प्रतिशत, डाक्टर र इञ्जिनियरका लागि २/२ प्रतिशत, मजदुरका लागि १ प्रतिशत, कलाकारका लागि २, सामाजिक संस्थाका लागि ४ र अन्यका लागि ३ प्रतिशत शेयरको प्रस्ताव गरिएको छ ।
संस्थागत लगानीतर्फ कर्पोरेट कर्मचारी, अधिवक्ता, कोर फाउण्डर, एनआरएन र कर्पोरेशन हाउस लगायतलाई पनि शेयरको व्यवस्था गरिएको छ । प्रस्तावित क्षेत्रबाट शेयर लक्षित शेयर प्राप्त हुन नसकेमा अन्य क्षेत्रबाट पनि लिन सकिने प्रावधानलाई कम्पनिले खुल्ला राखेको छ । शेयर किस्ताबन्दीमा तिर्न सकिने व्यवस्था पनि कम्पनिले राखेको छ । यसरी शेयरका दृष्टिले हेर्दा पञ्चासे केबुलकारले ‘बहुजन हितायः’को नारालाई शिरोधार्य गरेको र बिपन्न नागरिकलाई पनि परियोजनामा समावेश गर्न खोजेको देखिन्छ ।
पूर्वाधार विकास र संरचना
हाल पञ्चासे क्षेत्रमा केही पाटीपौवा र क्लबले सञ्चालन गरेका केही क्याफेहरु मात्र सञ्चालनमा छन् । प्राकृतिक दृष्टिले पञ्चासे जति अनुपम छ, पूर्वाधारका दृष्टिले त्यति व्यवस्थित बनिसकेको छैन । कास्की, पर्वत र स्याङ्जा जिल्लाको उद्गमस्थल मानिने पञ्चासे धार्मिक पर्यटनका दृष्टिले पनि ख्यातिप्राप्त छ । योगी नरहरिनाथले धान्याञ्चल लगाएको यस क्षेत्रमा प्रत्येक वर्षको बालाचतुर्दशीमा शतविज छर्न हजारौंको भीड लाग्छ । यस क्षेत्रको पर्यटन विकासका लागि कम्पनिले विभिन्न संरचनाको प्रस्ताव गरेको छ ।
परियोजनाको पूर्वाधारमा आधुनिक प्रविधिमा आधारित मोनोकेबल डिटाचेवल केबुलकार ८.५ किमी लामो हुनेछ । केबुलकारबाट कास्कीको पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, पर्वतको कुश्मा नगरपालिका र मोदी गाउँपालिका र स्याङ्जाको आँधीखोली गाउँपालिकाका स्थानीय जनता प्रत्यक्ष रुपमा लाभान्वित हुने कम्पनिको दावी छ । २८५० मिटर उचाइँमा रहेको पञ्चासे क्षेत्रमा पर्यटन आवागमनमा केबुलकार कोशेढुङ्गा सावित हुने नै छ ।
पञ्चासे केबुलकार एण्ड टुर्स लिमिटेडले पञ्चासेको मूख्य स्टेशननजिक आध्यात्मिक, धार्मिक र सांस्कृतिक भाव झल्किने संगीतमय पानीको फोहरा बनाई पर्यटकलाई पहिलो स्वागत गर्नेछ । त्यसपछि स्थानीय समुदायको सीपद्वारा निर्माण गरिएका ऐतिहासिक कलाकृतिका सामग्री राखिनेछ, जुन सामग्री पर्यटकका लागि मायाको चिनोका रुपमा प्रदान गरिनेछ । त्यसै क्षेत्रमा वातावरणमैत्री प्लाजाको पनि परिकल्पना गरिएको छ ।
पञ्चासेमा ३० वटा कलात्मक होटल र ७ वटा कलात्मक रिसोर्ट निर्माण हुनेछन् । पर्यटकका लागि २५० ‘होम–स्टे’को प्रस्ताव गरिएको छ, जसमा पर्यटकले खानपिन, भेषभुषा र संस्कृतिमा नेपाली मौलिकता भेट्नेछन् । पञ्चासेमा युवायुवतीको आकर्षक बढाउन प्रेम पार्क, राजनीतिक आन्दोलन र इतिहासको ज्ञान दिन शहिद पार्कको पनि प्रस्ताव गरिएको छ । पञ्चासेमा पुग्ने मान्छेहरुले नेपालको इतिहासबारे समेत जानकारी राख्नेछन् ।
श्रवणकुमारले आफ्ना अन्धा मातापिताको सेवा गरेको किंवदन्ती नेपाली समाजमा प्रख्यात छ, जुन किंवदन्तीको आधार क्षेत्र पञ्चासे नै हो । कम्पनिले श्रवणकुमारको इतिहास झल्कने सामग्री र बृद्धाहरुका लागि पार्क र योगा कक्षको पनि निर्माण गर्नेछ । कम्पनिले भञ्ज्याङदेखि आर्थरसम्म साइकल मार्गको निर्माण गर्नेछ, जहाँ ‘हिल साइकिलिङ’का लागि पर्यटक तान्न सकिनेछ ।
साहसिक पर्यटनका लागि जीप फ्लायर, प्रकृतिमैत्री फुड एण्ड लिक्वीड कोर्ट, बालबच्चाका लागि फनपार्क, विभिन्न ख्यातिप्राप्त व्यक्तिहरुको शालिक रहेको संग्रहालय लगायतका संरचना पनि पञ्चासे क्षेत्रमा रहनेछन् । कम्पनिले जडीबुटी अनुसन्धान तथा प्रशोधन केन्द्र, पञ्चासे क्षेत्रमा पाइने सबै प्रजातिका फूलहरुको पुष्प उद्यान, मिनरल वाटर उत्पादन, वाटर पार्क, पञ्चासेदेखि राम्जा–चित्रे ‘रोप–वे’को अवधारणा पनि अघि सारेको छ ।
पञ्चासे केबुलकारले पर्यटनका लागि सम्भावित सम्पूर्ण अवसर र संरचनाहरुको निर्माण गर्ने लक्ष्य आफैंमा महत्वकांक्षी देखिन्छ । गुरुयोजना हेर्दा पाँच वर्ष यतिबिघ्न संरचना बन्लान् त ? भन्ने प्रश्न गर्न सकिन्छ । तर, तत्परता र ईच्छाशक्तिले हर असम्भव कुरालाई सम्भव तुल्याइदिन्छ । कुनै प्रतिकूल परिस्थितिको सामना गर्नु नपरे निर्धारित मितिमै परियोजनाको निर्माण कार्य सम्भव हुन सक्छ ।
के छन् चुनौति ?
पञ्चासे केबुलकार नीजि क्षेत्रको अग्रसरता र मूख्य लगानीमा अघि सारिएको नीजि, सार्वजनिक र सहकारी क्षेत्रको साझेदारीमा सञ्चालन हुन लागेको परियोजना हो । हामी समाजवादको वकालत गरिरहेका छौं । तर, हाम्रो सोच्ने तरीका र चिन्तन पूँजीवादी चेतनामा अझै पुग्न सकेको छैन । ‘सामूहिक लगानीबाट सामूहिक प्रतिफल’ होइन, ‘सामूहिक लगानीमा व्यक्तिगत प्रतिफल’ खोज्ने मानसिकता नै परियोजनाका लागि मूख्य बाधक हो । ६०० भन्दा बढी लगानीकर्तालाई परियोजनाको एउटै लयमा हिंडाउने कुरा चानचुने पक्कै छैन । तर, त्यसको व्यवस्थापनका लागि विभिन्न नीतिगत व्यवस्था गर्न सकिन्छ ।
परियोजनाले ६० प्रतिशतको हाराहारीमा ऋण लगानी परिचालन गर्ने लक्ष्य राखेको छ । तर, त्यसका लागि विश्वासको वातावरण मूख्य कुरा हो । त्यसैगरि स्थानीय तहबाट आउनसक्ने व्यवधानको व्यवस्थापन पनि महत्वपूर्ण पक्ष हो । शेयर पूँजी संकलन र परिचालन पनि यसका लागि अघिल्तिर उभिएको चुनौति हो । तर, यी सबै चुनौति ईच्छाशक्ति र सङ्कल्पसामू बलशाली हुन सक्दैनन् ।
प्रभावित र स्थानीय समुदायको भूमिका के ?
कुनै पनि प्रोजेक्ट सञ्चालन हुने कुरा सुनेपछि हामी स्थानीय सल्बलाउँछौं । हामी आफ्नो खेतबारी बाँझो राख्छौं, त्यहाँ पाती उम्रिएको हुन्छ, हामी उपयोगी पनि देख्दैनौं । तर, जब कुनै प्रोजेक्टले हाम्रो जग्गा लिन खोज्छ, तब हामी १ लाख रोपनी पर्ने जमिनलाई १० लाख भन्छौं । नमाने प्रोजेक्ट चाहिँदैन भन्छौं र भगाउँछौं । अनि, फेरि बारीमा दुबो उमारेर खाडी हानिन्छौं, यो नियतिबाट हामी माथि उठिसकेका छैनौं ।
नीजि लगानी होस् वा सामुदायिक वा सरकारी, कुनै पनि प्रोजेक्ट ग्रामीण क्षेत्रमा प्रवेश गर्नु भनेको विकास गाउँ छिर्नु हो, रोजगारी गाउँ पस्नु हो, प्रविधि र पूर्वाधारको विकासका लागि सहयोग पुग्नु हो । तर, हामीले यसरी सोचिरहेका छैनौं । बाँझो रहेको खोरियामा पनि विकास हुने भनेपछि हामी भाउ बढाउँछौं, बखेडा झिक्छौं, सकेसम्मको व्यवधान निकाल्छौं । तर, त्यसले हाम्रो आफ्नो र सन्ततिको भविष्य यथास्थितिमै राखेको यथार्थ हामी भुल्छौं । हामी स्थानीयले सोच्नु र सच्चाउनुपर्ने मूख्य कुरा यही हो ।
दोस्रो कुरा, कुनै पनि परियोजनाबाट लगानीकर्ताले मात्र होइन, स्थानीयले पनि पर्याप्त लाभ लिन सक्छन् भन्ने हेक्का राख्दै ‘विन–विन सिचुएसन’का लागि सहकार्य र साझेदारी हाम्रो प्राथमिकतामा पर्नुपर्दछ । कुनै पनि लगानीकर्ताले हाम्रो भूगोल वा बस्ती छनोट गरेकोमा दुखी होइन, उत्साहित र बिकल्प देख्ने चेतना हामीमा चाहिन्छ । त्यसले विकासका बहुआयाम देख्ने र आफ्नो जीवनपद्दतिमा अंगाल्ने बाटो खुल्दछ ।
यी २ कुरामा हामीले सकारात्मक सोंच राख्न सक्दा सबै समस्या र चुनौतिलाई सहकार्यकै माध्यमबाट हल गर्न सकिन्छ । पञ्चासे केबुलकार पनि हाम्रो पर्यटन प्रवर्द्धनमा त्यस्तै अवसरका रुपमा उपस्थित भएको छ । यसलाई व्यक्तिगत लाभ–हानीको चश्माले होइन, हाम्रा सन्ततिको भविष्य र हाम्रो प्रतिव्यक्ति आय बृद्धि गर्ने एक आयामका रुपमा लिउँ र परियोजना सफलताका लागि रचनात्मक र सकरात्मक सहकार्य गरौं ।



लाेकपाटी न्यूज

