मन्त्री बाँस्कोटाको चेतावनीपछि पौडेलको राजीनामा

nikita-poudel-
लाेकपाटी न्यूज

काठमाडौं, २२ माघ । चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले राजीनामा दिएकी छिन् । एक विज्ञप्ति जारी गर्दै उनले बुधबारबाट लागु हुने गरी बोर्डको अध्यक्षबाट राजीनामा दिएकी हुन् ।

आफ्नो व्यक्तिगत जीवन व्यस्त रहेकाले माघ २३ गतेदेखि लागू हुने गरी सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई राजीनामा पेस गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा उनले नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलो पटक ‘बक्स अफिस’ प्रणाली सुरुवात गरेको र विकास बोर्डकै पहिलो महिला अध्यक्ष हुन पाएकोमा खुसी रहेको बताएकी छिन् ।

उनी २०७४ मङ्सिर २५ गते तत्कालीन मन्त्रिपरिषको निर्णय अनुसार विकास बोर्डको अध्यक्ष नियुक्त भएकी थिइन् ।

गत आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले महत्त्वपूर्ण बैठकमा बोर्डका अध्यक्षको अनुपस्थितमा आक्रोश व्यक्त गरेका थिए । उक्त बैठकमा चलचित्र विकास बोर्डको प्रगति विवरणसम्बन्धी एजेन्डा राखिएको थियो तर अध्यक्ष पौडेल अपस्थित भइनन् ।

बोर्डको अध्यक्ष पौडेललाई बोलाउँदा पनि उनी अनुपस्थित भएपछि मन्त्री बास्कोटाले कारबाही गर्ने चेतावनी समेत दिएका थिए । मन्त्री बास्कोटाले मन्त्रालयका अधिकारीलाई अध्यक्ष पौडेलसँग स्पष्टीकरण सोधेर बर्खास्तसम्म गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्