बालकको मृत्युपछि स्थानीयद्वारा अस्पताल तोडफोड

लाेकपाटी न्यूज

झापा, २१ माघ । अस्पतालको लापरबाहीले दुई वर्षीय बालकको मृत्यु भएको भन्दै मृतकका आफन्त र स्थानीयवासीले बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलमा तोडफोड गरेका छन्।

प्रहरी कार्यालय झापाका अनुसार उनीहरुले आइतबार राति करिब १० बजे अस्पताल तोडफोड गरेका हुन् । भीडले अस्पताल तोडफोड गर्न थालेपछि बिरामी र कुरुवाहरु भागाभाग भएको थिए ।

आक्रोशित समूह अस्पताल तोडफोडमा उत्रिएपछि नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरी लाठी चार्ज गरेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी भीमप्रसाद ढकालले बताए ।

मेचीनगर नगरपालिका–४ चारआलीका २ वर्ष ५ महिनाका जेनित राजवंशीको उपचारका क्रममा मृत्यु भएको थियो । उनको मृत्युपछि आक्रोसित आफन्त र गाउँलेले अस्पताल तोडफोड गरेका हुन् ।

झाडापखला लागेका जेनितलाई उपचारका लागि साँझ ७ वजे अस्पताल ल्याइएको थियो । आकस्मिक कक्षमा राखिएको जेनितलाई नर्सले इन्जेक्शन दिएको केही समयपछि मृत्यु भएको आफन्तको दाबी छ ।

घटनाले उग्ररुप लिएपछि जनप्रतिनिधिले मृतकका आफन्त र गाउँवासीलाई सम्झाएर वार्ताको वातावरण निर्माण गरेका थिए । इलाका प्रहरी कार्यालय बिर्तामोडमा मृतकका परिवार, जनप्रतिनिधि र अस्पताल प्रसाशनबीच छलफलको तयारी भइरहेको प्रहरी कार्यालय झापा डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्