भेनेजुएलाका राष्ट्रपतिले भने : ‘समयअघि नै निर्वाचन गरौं’

Nicolas Maduro
लाेकपाटी न्यूज

काराकास, २० माघ । भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोले देशको राजनीतिक सङ्कट समाधानको प्रयासस्वरुप समय अगावै निर्वाचनको प्रस्ताव गरेका छन् ।

यहाँका विपक्षी आन्दोलनकारीहरुले राष्ट्रपति निकोलस मादुरोका विरुद्धमा शनिबार बृहत प्रदर्शन गरेका थिए र उनीहरुले आन्दोलनलाई थप चर्काउने चेतावनी राष्ट्रपति मादुरोलाई दिएका थिए । उक्त विरोध प्रदर्शनका क्रममा विपक्षीहरुले पनि यहाँ निर्वाचनको माग गरेका थिए ।

उनीहरुले राष्ट्रपति मदुरोलाई तत्कालै निष्पक्ष निर्वाचन गर्न माग गरेका थिए । उनीहरुले गरेको सो निर्वाचनको मागपछि शनिबार नै राष्ट्रपति मादुरोले पनि समय अगावै निर्वाचन गर्न सकिने प्रस्ताव गरेका छन् ।

राष्ट्रपति मादुरोले यहाँको राजनीतिक समस्याको समाधानका लागि निर्वाचन एक उत्तम उपाय हुनसक्ने बताएको समाचारमा जनाइएको छ । उता आफैले अन्तरिम राष्ट्रपति घोषणा गरेका र अमेरिकाको समर्थन पाएका विपक्षी नेता हुँवा गुएइदो समर्थकहरुले शुक्रबार व्यापक रुपमा प्रदर्शन गरेका थिए ।

त्यसपछि शनिबार राष्ट्रपति मादुरोले सो निर्वाचनको प्रस्ताव गरेको समाचारमा जनाइएको छ । यूरोपेली सङ्घमा आवद्ध प्रमुख देशहरुले पनि नयाँ निर्वाचनको वातावरण बनाउन सकेमा वर्तमान समस्याको समाधान निस्किन सक्ने प्रस्ताव गरेका छन् ।

विपक्षी नेता गुएइदोका समर्थक विदेशीहरुले पनि मादुरोलाई जतिसक्दो चाँडो निर्वाचन घोषणाका लागि गत हप्ता एक हप्ताको समय दिएका थिए । यस परिस्थितिमा राष्ट्रपति मोदुरोले निवाचन गर्न सकिने प्रस्ताव गरेबाट यहाँको राजनीतिक सङ्कटको समाधान पनि निस्किन सक्ने अनुमान गरिएको छ ।

यहाँको नेशनल एसेम्ब्लीको निर्वाचन सन् २०१७ मा भएको थियो । सो निर्वाचन भेनेजुएलामा संविधान निर्माणका लागि भन्दै भएको हो । यो संविधान सभाको निर्वाचन थियो र यसले संविधान निर्माण गर्ने भनिएको थियो ।

अब नियमित रुपमा भएमा आगामी निर्वाचन् सन् २०२० मा हुनुपर्ने हो । तर, पनि सन् २०१७ को संविधान सभाको निर्वाचनको परिणाम विपक्षीहरुले स्वीकार नगरेका र अर्को निर्वाचनको माग गरेकोले त्यस अगावै निर्वाचन गर्न सकिने राष्ट्रपति मादुरोले बताएका हुन् ।

विपक्षीहरुले तत्काल निर्वाचनको वातावरण नबनाएमा मादुरोलाई सहयोग गर्न नसक्ने चेतावनी दिएपछि उनको यो प्रस्ताव आएको अनुमान गरिएको छ । भेनेजुएलामा पछिल्लो समयमा राजनीतिक सङ्कट बढ्दो छ ।