मार्क्स–एंगेल्सद्वारा लिखित कम्युनिष्ट घोषणापत्रमा के छ ?

Marx-Angles
लाेकपाटी न्यूज

सन् १८४८ फेब्रुअरी १२ तारिखका दिन वैज्ञानिक साम्यवादका प्रवर्तक कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सद्वारा लिखित कम्युनिस्ट घोषणापत्र लण्डनबाट जारी भएको थियो । यो विश्वविख्यात कम्युनिस्ट घोषणापत्र प्रकाशनसँगै विश्व सर्वहारा वर्गको मुक्तिको सैद्धान्तिक मार्गदर्शक सिद्धान्त बन्यो ।

मार्क्स–एंगेल्सद्वारा विश्वविख्यात कम्युनिस्ट घोषणापत्र लण्डनबाट जारी हुने वित्तिकै त्यसले ठूलो क्रान्ति ल्यायो । विश्व राजनीतिको रङ्गमञ्चमा हलचल पैदा गरिदियो । यस विषयमा स्वयं मार्क्सले भनेका थिए, ‘यूरोपमा एउटा हाउ घुमफिर गरिरहेको छ– साम्यवादको हाउ । यस हाउलाई धपाउन भनेर पोप र जार, मेटर्निख र गीजो, फ्रेञ्च उग्रवादी र जर्मन पुलिस अर्थात् पूरानो यूरोपका सारा सत्ताधारीहरू एक भएका छन् ।’

मार्क्सले भनेका थिए, ‘कुन यस्तो विरोधी पार्टी छ, जसलाई सत्ताधारीहरूले कम्युनिस्ट भनी बद्नाम नगरेको होस् ? कुन यस्तो विरोधी पार्टी छ, जसले आफूभन्दा धेरै प्रगतिशील विरोधी पार्टीहरूलाई र आफ्ना प्रतिक्रियावादी विरोधीहरूलाई समेत कम्युनिस्ट भएको घृणित आरोप नलगाएको होस् ?’

‘तथ्यबाट दुई कुरा प्रष्ट हुन्छ । यूरोपका सारा सत्ताधारीहरूले साम्यवादलाई अब एक शक्ति मानिसकेका छन् । अब कम्युनिस्टहरूले सम्पूर्ण संसारको अगाडि आफ्ना विचारहरू, आफ्ना उद्देश्यहरू, आफ्ना प्रयासहरू खुलस्त बताउनुपरेको छ र साम्यवादको हाउसम्बन्धी दन्त्यकथाको सट्टामा पार्टीको आफ्नो घोषणापत्र प्रस्तुत गर्नुपरेको छ ।’

सन् १८४२ मा जर्मन आप्रवासीहरूले न्यायिक लिगको गठन गरेका थिए । तात्कालिन न्यायिक लिग कम्युनिस्ट लिगमा बदलिएपछि सन् १८४७ को नोभेम्वरमा कम्युनिस्ट लिगको जेनेभामा दोस्रो महाधिवेशन सम्पन्न भयो । त्यस महाधिवेशनले कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सलाई कम्युनिस्ट घोषणापत्रको मस्यौदा लेख्ने जिम्मा सुम्प्यो । एक वर्ष लगाएर मार्क्स–एंगेल्सले कम्युनिस्ट घोषणापत्रको मस्यौदा तयार पारे र सन् १८४८ फेब्रुअरी १२ तारिखका दिन लण्डनबाट प्रकाशित गरे । संसारका सबैजसो भाषामा प्रकाशित भएको कम्युनिस्ट घोषणापत्र वैज्ञानिक साम्यवादको पहिलो र महत्वपूर्ण सैद्धान्तिक दस्तावेज हो ।

कम्युनिस्ट घोषणापत्रमा चार अध्याय रहेका छन्, पहिलो अध्यायमा पूँजीपति र सर्वहारामा समाज विकासको नियमका आधारमा एक प्रकारको उत्पादन पद्धतिको अन्त्य भएर अर्को किसिमको उत्पादन पद्धति हुनु अत्यन्त स्वाभाविक प्रक्रिया हो । हालसम्मको मानव जातिको इतिहास आदिम साम्यवादलाई छाडेर वर्गसङ्घर्षको इतिहास हो । यसैका आधारमा पूँजीवादको पतन भएर समाजवाद या साम्यवादमा पुग्नु अनिवार्य छ भन्ने रहेको छ ।

दोस्रो अध्यायमा सर्वहारा र कम्युनिस्ट आजको युगमा सबैभन्दा प्रगतिशील उत्पादन शक्ति मजदुर वर्ग हो । कम्युनिस्ट तिनै सर्वहारा मजदुर वर्गको सबैभन्दा सङ्घर्षशील समुदाय हो । यसको सांगठनिक शक्तिले उनीहरूको युगान्तकारी परिवर्तनमा सबैभन्दा महत्वपूर्ण नेतृत्व प्रदान गर्न सक्छ । कम्युनिस्टहरूको तत्कालीन लक्ष्य पूँजीपति वर्गको सत्ता पल्टाएर सर्वहारा वर्गको राजनीतिक सत्ता कायम गर्नुपर्छ भन्ने विचार रहेको छ ।

तेस्रो अध्यायमा समाजवाद र कम्युनिस्ट साहित्यमा केन्द्रित समाजवादको नाममा देखापरेको विभिन्न किसिमका काल्पनिक तथा टुटपूँजीया विचारधाराहरूको खण्डन गरिएको छ । चौथो अध्यायमा विभिन्न विरोधी पार्टीहरू र कम्युनिस्टहरूको स्थितिबारे कार्यनीतिक समीक्षा गरिएको छ । कम्युनिस्टहरू एक दलमा मात्र विश्वास गर्छन् भन्ने कम्युनिस्ट विरोधीहरूले लगाउने लान्छनाको खण्डन भएको छ । कम्युनिस्ट पार्टी आफ्नो स्थिति मजबुत गर्न नसकेको ठाउँमा राष्ट्रवादी प्रगतिशील शक्तिहरूसँग सम्बन्ध मजबुत गर्न नसकेको ठाउँमा राष्ट्रवादी प्रगतिशील शक्तिहरूसँग सम्बन्ध कायम गर्न सक्छ । तर, आफ्नो स्थिति बलियो भएको ठाउँमा समाजको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने वर्णन गरिएको छ ।

अन्त्यमा ‘सर्वहारा वर्गसँग गुमाउनका लागि हत्कडीबाहेक केही छैन, जित्नका लागि सारा संसार छ ।’ ‘दुनियाँका मजदूरहरू एक हौं’ भन्ने आह्वान गरिएको छ । र, दुनियाँका मजदुरहरू एक होऔं भन्ने नाराका साथ समाप्त भएको छ । घोषणापत्रले पूँजीपति वर्गका विरुद्ध जीवन मरणको लडाइँ लड्न सर्वहारा वर्ग र मजदुरहरुलाई अपीलसमेत गरिएको छ ।

घोषणा पत्रमाथि लेनिनले टिप्पणी गर्दै लेखेका छन्, ‘यो सानो पुस्तिका सम्पूर्ण ग्रन्थहरूको बराबर छ, त्यसको आत्माले सभ्य संसारका समस्त संगठित र सङ्घर्षशील सर्वहाराहरूलाई प्रेरणा दिइरहेको छ र उनीहरूको पथप्रदर्शन गरिरहेको छ ।’ यो कुरा प्रस्ट छ कि कम्युनिस्ट घोषणापत्र मार्क्स–एंगेल्सद्वारा अनुसन्धान गरिएको द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादको संश्लेषणात्मक दस्तावेज हो ।

मार्क्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । मार्क्सवाद पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको वैज्ञानिक तथा क्रान्तिकारी विचार हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसङ्घर्ष तथा इतिहासमा बलप्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद मार्क्सवादका आधारभूत मान्यता हुन् । माक्र्सवादबारे लेनिन् भन्छन् ‘मार्क्सवाद भनेको मार्क्सका विचार र उनका शिक्षाको व्यवस्थित श्रृङ्खला हो । मार्क्सवादको निर्माण दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका तीन संघटक तत्वहरूको संश्लेषणबाट भएको छ ।’

मार्क्सवादी दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । यो दर्शनको सिद्धान्त भौतिकवाद हो । प्रत्येक दर्शनमा वर्गीय पक्षधरता हुन्छ । मार्क्सवादी दर्शन पनि एउटा वर्ग दर्शन हो, सर्वहारा वर्गको दर्शन हो । तर, त्यो अन्य दर्शनहरूझै अल्पसंख्यक, शोषकहरूको दर्शन नभएर बहुसंख्यक, सर्वहाराहरूको दर्शन हो । त्यही मार्क्सवादी दर्शनलाई आधार मानेर नेपाल लगायत विश्वभरका कम्युनिष्टहरुले आफ्नो वर्गीय राजनीति गरिरहेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्