जनकपुर, १८ माघ । प्रदेश नम्बर दुईकी सांसद करिमा बेगमले विवाहसम्बन्धी कानून गलत भएको बताएकी छन् ।
बिहीबारको प्रदेश सभा बैठकमा बोल्दै सांसद् बेगमले २० वर्ष पुगेपछि मात्रै छोरीको विवाह गर्नुपर्ने कानून ल्याएर सरकारले गल्ती गरेको बताएकी हुन् ।
छोरीहरुको विवाह १६ वर्षको उमेरमै गर्नुपर्ने उनको धारणा छ । उनले छोरीहरुको विवाहका लागि परिवारले बीस वर्षसम्म कुर्दा उनीहरु बिग्रन सक्ने बताउँदै भनिन्, ‘छोरीहरूको बिहेको लागि २० वर्षसम्म प्रतीक्षा गरियो भने बिग्रने डर भएकोले १६ वर्षभित्रै बिहे गर्नु उपयुक्त हुनेछ ।’
सांसद बेगमले छाेरीकाे विवाह २० वर्षपछि मात्रै गर्न पाउने कानूनी व्यवस्थाले गर्दा भागी विवाह गर्नेको सङ्ख्या बढ्दै गएको बताइन् । उनले आमाबुवाको इज्जत जोगाउन पनि छोरीहरुको विवाह कमै उमेरमा गर्नुपर्ने जिकिर गरिन् ।
बैठकमा उनले प्रदेश २ ले छोरीहरूको सामूहिक विवाहको आयोजना गर्नुपर्ने सुझावसमेत दिइन् । उनका अनुसार छोरीहरुको सामूहिक विवाहले गरिब परिवारलाई राहत मिल्नेछ ।
नेपालको पारिवारीक कानूनले विवाह गर्न पाउने उमेर हद २० वर्ष तोकेको छ ।



लाेकपाटी न्यूज

