उत्पादनमूलक सहकारीमा जोड गरौं : मन्त्री अर्याल

PADMA_ARYAL
लाेकपाटी न्यूज

काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न आवश्यक भएको बताएकी छिन् ।

राष्ट्रिय सहकारी बैंकको १५ औं वार्षिक साधारणसभाका अवसरमा बोल्दै मन्त्री अर्यालले सहकारी कृषिमा आत्मनिर्भर हुनसके अर्थतन्त्र मजबुत हुने बताइन् । उनले सहकारीलाई उत्पादनसँग जोडेर समृद्धिको कार्यभार पूरा गर्नुपर्नेमा जोड दिइन् ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले आयात प्रतिष्थापन गर्न, निर्यात बढाउन र गरिबी हटाउन सहकारीले योगदान बढाउनुपर्ने बताए । अन्तर्राष्ट्रिय सहकारी महासंघको ग्लोबल सदस्य ओमदेवी मल्लले सहकारीले प्रविधि आत्मसात गर्नुपर्ने बताइन् ।

केन्द्रीय सहकारी संघका अध्यक्ष राजेन्द्र पाण्डेले सहकारीले स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने बताए । बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेल, लेखा संयोजक कुलचन्द्र अधिकारी र निवर्तमान प्रबन्ध सञ्चालक केबी उप्रेतीले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

आइतबारसम्म हुने कार्यक्रमले बैंकको नयाँ नेतृत्व चयन गर्ने छ । नयाँ नेतृत्वका लागि अध्यक्षमा केबी उप्रेती एक्ला उम्मेदवार छन् ।