अन्ना हजारेको अनसन : के छन् मूख्य माग ?

Anna hajare
लाेकपाटी न्यूज

भारतमा भ्रष्टाचार विरोधी आन्दोलनका कारण चर्चित नागरिक अगुवा अन्ना हजारेले फेरि अनसन सुरु गरेको जन लोकपाल विधेयक कार्यान्वयनको माग गर्दै हजारे बुधबार आफ्नै गाउँमा अनसन बसेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

केही दिनअघि उनले लोकपाल र लोकायुक्त नियुक्तको माग गरेर मोदीलाई पत्रसमेत लेखेका थिए । केन्द्र सरकारले जनतालाई पटक–पटक धोका दिएकाले आफू अनसन बस्न परेको तर आफ्नो अनसन कुनै पार्टी वा व्यक्तिविरुद्ध नरहेको हजारेको भनाइ छ ।

भारतीय सरकारबाट पेन्सन थाप्ने गरेका पूर्वसैनिक हजारेले १६ अगस्त २०११ मा लोकपाल विधेयक पारित गराउन माग गर्दै आमरण अनसन गरेका थिए ।

लोकपाल विधेयकमा के छ ?

विधेयकमा केन्द्रमा लोकपाल र हरेक राज्यमा लोकयुक्त गठन गर्नुपर्ने व्यवस्था छ । दुवै संस्था उच्च न्यायलय वा निर्वाचन आयोगसरह स्वतन्त्र हुनेछन् ।

कुनै पनि मुद्दा तीन महिनाभित्र पूरा हुनुपर्ने र सुनुवाइ छ महिनाभित्र भइसक्नुपर्ने उल्लेख छ । यस्तै भ्रष्ट ठहर भएका नेता, उच्च अधिकारी वा न्यायाधीशलाई वर्षदिनभित्र जेल पठाइसक्नु पर्नेछ ।

कुनै पनि नागरिकको काम तोकिएको समयमा भएन भने दोषी अधिकारीले जरिवाना तिर्नुपर्नेछ । जरिवाना रकम पीडित नागरिकलाई क्षतिपूर्ति दिइने छ । लोकपालका कुनै पनि कर्मचारी विरुद्ध उजुरी परेको अवस्थामा दुई महिनाभित्र छानविन गरेर बर्खास्त गरिने भारतीय लोकपाल विधेयकमा उल्लेख छ ।

अनसन शुरु गर्दै हजारेले भनेका छन्, ‘कुनै सर्वसाधारणले प्रमाणसहित उजुरी दियो भने लोकपालले प्रधानमन्त्रीलाई पनि छानबिन गर्न सक्दछ, त्यसैगरी लोकायुक्तले मुख्यमन्त्री, अन्य मन्त्री र प्रदेश सभाका सांसदलाई पनि छानविन गर्न सक्छ ।’

आफूमाथि नै छानबिन गर्ने भएकाले उनीहरुले यस्तो व्यवस्था गराउन नचाहेको उनको आरोप छ । अहिले राजनीतिमा लागेका आफ्ना पूर्वसमर्थकले पनि अनसनमा साथ दिन सक्ने बताउँदै उनले भने, ‘हाम्रो मञ्चमा अब कुनै राजनीतिक नेतालाई ठाउँ छैन ।’

उनले थपे, ‘लोकपाललाई निषेध गर्ने गरी तीन दिनभित्रमा उनीहरुले अर्को कानुन पारित गरेका छन्, त्यसमा राष्ट्रपतिले पनि लालमोहर लगाइसक्नु भएको छ । तर पनि लोकपाल नियुक्त गरिएको छैन ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्