– जानुका पराजुली
राज्यसत्तामाथि विजय हासिल गर्ने ध्येयका साथ नेपालको इतिहासमा पटकपटक राजनीतिक सङ्घर्ष भए । पृथ्वीनारायण शाहको राज्य बिस्तारको अभियान आफै निकै ठूलो फौजी सङ्घर्ष थियो । त्यसयता राजनीतिक असन्तुष्टिका रुपमा सङ्घर्षका अनेकन बाछिटाहरु सतहमा आए । २००७ सालको राजनीतिक सङ्घर्ष स्वतन्त्रता र परिवर्तनको आकाङ्क्षासहित शासकहरुविरुद्ध उठेको सशक्त आन्दोलन थियो । उक्त सङ्घर्षले राज्यको चरित्रमा आमूल परिवर्तन गर्न सकेन । तर, त्रिपक्षीय सम्झौता (राजा, राणा र दिल्ली) भए पनि नेपालमा जहाँनिया राणा शासनको अन्त्य ग-यो । उक्त सङ्घर्षमा गंगालाल, दशरथ, धर्मभक्त र शुक्रराजहरुले जीवनको कुर्वानी गरे ।
२००७ सालको आन्दोलनपछि राष्ट्रियता र जनतन्त्रको सवालमा जनता विभिन्न रुपमा आन्दोलित भए । सम्झौताको बलमा प्राप्त शिशु प्रजातन्त्रको घाँटी निमोठ्न अनेकन प्रपञ्चहरु गरिए । विद्यार्थी र राष्ट्रवादी नागरिकहरु निरन्तर आन्दोलित रहे । चिनियाकाजी श्रेष्ठ, भीमदत्त पन्तजस्ता होनाहार राष्ट्रवादी योद्धाहरुको यसै कालमा हत्या गरियो । २००७–२०१७ सम्मको शिशु प्रजातन्त्र कालमा पनि यो वा त्यो मुद्दा र सङ्घर्षमा योद्धाहरुले बलिदानी गरी नै रहे ।
२०१७ सालको फौजी ‘कू’पछि शिशु राजनीतिक सङ्घर्ष अझ उत्कर्षमा पुग्यो । कांग्रेस, कम्युनिष्ट लगायतका सबै शक्तिहरु राजाको पञ्चायती शासन व्यवस्थाको विरुद्धमा निरन्तर सङ्घर्ष गरे । नेपाली कांग्रेसको नेतृत्वमा भएको बिमान अपहरणदेखि तात्कालीन मालेको झापा विद्रोहसम्म आइपुग्दा सङ्घर्ष बलप्रयोगको दिशामा सोझियो । यस अवधिमा राज्य पक्षबाट सुखानी लगायतका डरलाग्दा हत्याकाण्डहरुको मञ्चन गरियो । २०३६ को जनमत सङ्ग्रह र प्राप्त परिणामबाट पनि प्रजातन्त्रवादीहरु सन्तुष्ट हुन सकेनन्, २०४६ को आन्दोलनसम्म बलिदानीका श्रृङ्खला चली नै रहे ।
२०४६ सालको आन्दोलनले आंशिक प्रजातन्त्र स्थापित ग-यो । तर, पूर्ण प्रजातन्त्र स्थापित गर्न सकेन । आन्दोलन सम्झौतामा टुङ्गियो । राजा, कांग्रेस र कम्युनिष्टहरु बीच त्रिपक्षीय सम्झौताका रुपमा प्रजातन्त्र पूनर्वहाली भयो । जनअपेक्षा चुलिएका थिए, राष्ट्रिय सङ्कटमै थियो, सीमित नागरिक अधिकार पनि कागजमै सीमित थिए, जनतन्त्रको सवाल रछ्यानमै थियो । यी सबै मुद्दाहरुलाई तात्कालीन माओवादीले शुत्रवद्ध गरी राज्यसमक्ष प्रस्तुत ग-यो । माओवादीद्वारा प्रस्तुत ४० बुंदे माग सरकार गम्भिर र जिम्मेवार देखिएन । अन्ततः २०५२ फागुनमा माओवादीले सशस्त्र सङ्घर्षको बाटो लियो ।
राष्ट्रियता, जनतन्त्र र जनजीविकाको मुद्दासहित लाखौं नागरिकहरु आन्दोलित भए, हजारौं हजार युवाहरु जनयुद्धमा सामेल भए, पूरानो सत्ताको अन्त्यका लागि काँधमा बन्दुक बोकेर सङ्घर्षको मोर्चामा डटे । यस अवधिमा दशौं हजार नेपाली जनताले वीरतापूर्वक बलिदानी गरे । महान् जनयुद्धको क्रममा सिन्धुपाल्चोक जिल्लाबाट २०० जनाभन्दा बढी योद्धाहरुको बलिदानी भएको छ । सोमप्रसाद चौलागाईं लगायतका योद्धाहरुले गरेको बलिदानीका कारण आज जिल्लामा वाम आन्दोलन राजनीतिको केन्द्रमा छ ।
त्यही बलिदानीको प्रतिफल आज देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । राज्य समावेशी भएको छ, पिँधमा पारिएका नागरिकहरुले पनि अपनत्व महशुस गर्न थालेका छन् । निमूखा बनाइएका नागरिकहरु नीति निर्माणमा सामेल छन् । असम्भव ठानिएको राजतन्त्रको अन्त्य भएको छ, गणतन्त्रको स्थापना भएको छ । समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षता, सामाजिक न्याय, दर्जनौं मौलिक हकसहितको सङ्घीय संविधान निर्माण भएको छ, यो सामान्य उपलब्धि पक्कै होइन ।
महान् शहिदहरुको वीरतापूर्ण बलिदानीकै जगमा देश समृद्धिको यात्रामा लम्किरहेको छ । आर्थिक समृद्धि, पूर्वाधार विकास र रोजगारी सिर्जनाले मात्र समाजवादको तयारी सम्भव छ । त्यसका लागि नेपाल सरकार ‘समृद्ध नेपाली, सुखी नेपाली’को नारासहित समाजवादको आधार तयार पार्न क्रियाशील छ । सङ्घीय सरकारका साथै प्रादेशिक र स्थानीय सरकारले पनि उल्लेखित कार्यभारलाई आफ्नो अर्जुनदृष्टि बनाएका छन् । एकाध समस्या, चुनौति र बिकृतिका बावजूद पनि आज सिङ्गो राष्ट्र आधुनिक युगमा प्रवेश गर्दैछ, यसको सम्पूर्ण श्रेय महान् शहिदहरु, बेपत्ता योद्धा, तिनका परिवार र परिवर्तनको सङ्घर्षमा योगदान गर्ने आम नेपालीलाई नै जान्छ ।
स्थानीय सरकार जनताका प्रत्येक समस्यासँग प्रत्यक्ष साक्षात्कार गर्ने सरकार वा तह हो । यसै कुरामा दृष्टिगत गरेर हामीले स्थानीय तहमा पूर्वाधार विकास, नागरिक अधिकारको प्रत्याभूति, सामाजिक सुरक्षा, उत्पादन र जीवनस्तरमा परिवर्तन, सुशासन र नागरिकमैत्री प्रशासनको प्रयत्न गरिरहेका छौं । केही सीमा र चुनौतिका बीच हाम्रो प्रयत्न निरन्तर सफलताउन्मूख छ । निकट भविष्यमै हाम्रो प्रयत्न सार्थकतामा बदलिनेछ ।
महान् शहिदहरु इतिहासका मात्र नभएर बर्तमान र भविष्यका पनि प्रेरणाका स्रोत हुन्, आस्थाका पुञ्ज हुन्, खबरदारीका आधारस्तम्भ हुन्, युग बदल्ने अठोटका सारथि हुन् । तर, आज पनि शहिदहरुको यथेष्ट सम्मान हुन सकिरहेको छैन । शहिदहरुका सपना रछ्यानमा मिल्किने हुन् कि भन्ने भयको पूर्णतः अन्त्य भइसकेको छैन । शहिद परिवारको जीवन निर्वाह र भविष्य निर्माणको सवाल हाम्रासामू चुनौतिकै रुपमा उपस्थित छ । यस दिशामा सम्वद्ध सबै जनप्रतिनिधि र राज्य संयन्त्रले गम्भिरतापूर्वक सोच्न र पहल लिन जरुरी छ । यो हामी सबैको अहिलेको महत्वपूर्ण कार्यभार पनि हो ।
(पराजुली चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमूख हुन्।)



लाेकपाटी न्यूज

